मन्त्री आले पशुपति क्षेत्रमा, बेथिति गर्नेलाई लखेट्ने चेतावनी [भिडियाे]

शनि शाक्य

काठमाडौं

बतास समूह र पशुपति क्षेत्र विकास कोषबीचको सम्झौतालाई रद्द गरी चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नजर अझै पनि पशुपति क्षेत्रमै छ।

मापदण्ड मिचेर सेटिङ गरी पशुपतिको धर्मशालामा आलीसान होटल बनाएको भन्दै मन्त्री आलेको ठाडो निर्देशनमा पशुपति क्षेत्र विकास कोष र बतास समूहबीचको सम्झौता रद्द भएको थियो।

त्यो खबर सेलाउन नपाउँदै पशुपति क्षेत्रलाई आफ्नो कमाउधन्दा बनाएकाहरुको फेरि फेर कामेको छ। आइतबार एकाबिहानै पशुपतिनाथ क्षेत्रको अवलोकन गर्न पुगेका मन्त्री आलेले दर्जनौं बेथिति देखेर फर्केका छन्।

सत्तामा पुगेकाहरुको भर्ती केन्द्रदेखि टोलेमुन्द्रेहरुको दबदबा रहेको पशुपति क्षेत्रको बेथिति देखेर मन्त्री आले चकित परे।

मन्त्रालयका सचिवसहितको टोलीले पशुपति क्षेत्रमा रहेको पार्किङ, क्यान्टिन, धर्मशाला, पाटी/पौवा, गुह्येश्वरी क्षेत्रमा रहेका टहरा अनि पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटार बालुवाखानीको समेत अवलोकन गरेको थियो।

कोषको स्वामित्वमा रहेको बालुवाखानी वर्षौंदेखि ‘टालेमुन्द्रे’ र ‘गुण्डा’हरुको कब्जामा छ। त्यो देखेर मन्त्रीसहितको टोली चकित परेको थियो।

त्यसैगरी गुह्येश्वरीमा रहेका टहराले भाडा तिरेको देखिएन। पार्किङमा भएको बेथिति अनि सडकै कब्जागरी राखिने पसलसमेत मन्त्री आलेको नजरमा परे।

त्यतिमात्र हाेइन, पशुपति क्षेत्रमा अस्तव्यस्त फोहोर, अनि खानेपानीदेखि पशुपति दर्शन गर्न पुगेका भक्तजनका सामान्य आवश्यकतासमेत पूरा नभएको भन्दै त्यसलाई पूरा गराउन मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशनसमेत दिए।

सत्तामा पुगेकाहरुको मनोमानी र टोलेमुन्द्रेहरुको कमाइखाने भाडो भएको भन्दै त्यसलाई हटाउन प्रयास थाल्ने मन्त्री आलेको भनाई छ।

त्यसैगरी गुह्येश्वरीमा रहेका टहरा हटाउने, बालुवाखानी खाली गर्नेदेखि पार्किङलाई व्यवस्थित गर्दै विभिन्न व्यक्तिको कब्जामा रहेको पशुपति क्षेत्रलाई कब्जामुक्त गर्ने र त्यस्ता खाने व्यत्तिलाई पशुपतिबाटै लखेट्ने मन्त्री आलेको प्रतिक्रिया छ।

प्रकाशित मिति: : 2022-01-30 19:46:00

प्रतिकृया दिनुहोस्