गौरादह नगरपालिकाः फलोअप

गौरादह नगरपालिकाले इन्धनमा ५४ लाख रुपैँया छुटाउँदा, शिक्षामा भने न्यून बजेट

चालु खर्चका दर्जन बढी शीर्षकमा अचाक्ली बजेट बिनियोजन गरेको झापाको गौरादह नगरपालिकाले आर्थिक बर्ष ०७९र८० को लागि इन्धनमा ५४ लाख ६० हजार बिनियोजन गरेको छ।

इन्धनको तुलनामा शिक्षा शाखालाई बिनियोजन गरेको बजेट भने न्युन देखिएको छ। नगरपालिकाले इन्धन पदाधिकारी शीर्षकमा २० लाख, इन्धन कार्यलय प्रयोजन शीर्षकमा ३० लाख, इन्धन अन्य प्रयोजन शीर्षकमा एक लाख त्यसैगरी वडा तर्फ इन्धन कार्यलय प्रयोजनमा २ लाख ७० हजार र इन्धन अन्य प्रयोजन शीर्षकमा ९० हजार गरी कुल ५४ लाख ६० हजार बिनियोजन गरेको हो । 

झापाका अन्य नगरपालिकाको तुलनामा आन्तरिक आय सबैभन्दा घटी २ करोड ६२ लाख मात्र अनुमान गरिएको गौरादह नगरपालिकाको इन्धन शीर्षकको बजेट आर्थिक मितव्ययीता बिपरित अधिक रहेको विश्लेषण छ। 

विद्यालयका बाल शिक्षक, लेखा कर्मचारी तथा सहयोगी कर्मचारीका शीर्षको तलब बापतको बजेट समेत शिक्षा शाखाको कार्यक्रममा देखाइएको छ। तलब बाहेक शिक्षा शाखाको कार्यक्रमको लागि भनेर ४१ लाख ७३ हजार रुपैयाँ मात्र छुट्याएको पाइएको छ। 

बाल शिक्षक, लेखा कर्मचारी तथा सहयोगी कर्मचारीको तलब बापतको बजेट संकेत नं.२११११ ‘पारिश्रमिक कर्मचारी’ भन्ने शीर्षकमा नराखेर शिक्षा शाखाको कार्यक्रममा राखिएको छ।

अन्य कुनै पनि बिषयगत शाखाका कारारका कर्मचारीको तलब शाखाको कार्यक्रममा देखाइएको छैन तर शिक्षा शाखाको मात्र तलब बापतको बजेट जबरजस्त कार्यक्रममा राखेर बिनियोजन प्रतिशत बढी देखाउन खोजेको श्रोतले बताएको छ। 

शिक्षा शाखाको स्विकृत बजेट कार्यक्रममा १ करोड ३० लाख बजेट बिनियोजन गरेको भएता पनि बाल शिक्षक, लेखा कर्मचारी तथा सहयोगी कर्मचारीको तलब बापतको शीर्षकमा ८८ लख २७ हजार बजेट बिनियोजन छ। 

तलब बाहेकको ४१ लाख ७३ हजार न्युन बजेटको आधारमा शिक्षा शाखाले बनाएको शिक्षाका कार्यक्रमहरु गौरादहको शिक्षा क्षेत्रको द्रुत विकासका लागि अपर्याप्त छन्। 

चालु खर्च अन्तर्गतको संकेत नं.२२३१३ को पुस्तक तथा सामग्री खरिद शीर्षकमा पनि अत्यन्तै न्युन ३ लाख मात्र बजेट बिनियोजन गरिएको छ। गौरादह नपामा सामुदायिक तथा संस्थातग गरेर ९ वटा विद्यालयमा कक्षा ११र१२ पढाइ हुन्छ। त्यसैगरी एउटा आङ्गिक, एउटा सामुदायिक तथा दुईवटा नीजि क्याम्पसहरु सञ्चालित छन्। 

पाठ्यक्रम फरिने बित्तिकै विद्यालय तथा कलेजहरुले पुस्तकालयका पाठ्यपुस्तकहरु नयाँ खरिद गर्नुपर्छ। त्यसैगरी सन्दर्भ सामग्रीहरु पनि नयाँ नयाँ खरिद गरिरहनु पर्ने हुन्छ। नगरपालिकाले पुस्तक खरिदमा संघीय सशर्तको बजेट बाहेक फजुल खर्च अन्यत्र छुट्याउदा पुस्तक खरीद शीर्षक छुटाउन नमिल्ने भएको कारण धाराटार्न मात्र न्यून बजेट बिनियोजन गरेको देखिन्छ।

प्रकाशित मिति: : 2022-09-27 20:02:00

प्रतिकृया दिनुहोस्