'नदी सप्तक' कविता शृङ्खला- १८

कवि सरुभक्तका चार मुक्तक

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।

त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।

यस अन्तर्गत अठाराैँ श्रृंखलामा कवि सरुभक्तकाे चार मुक्तकः

कालीगण्डकी:

(१)
अप्रतीम उर्जाहरूको तीर्थधाम हो कालीगण्डकी
सुरक्षित पर्यावरणको बन्द खाम हो कालीगण्डकी
तिमी त्यसलाई अपहरणको भद्दा प्रयास नगर
एउटा अक्षत सुन्दरताको नाम हो कालीगण्डकी ।

(२)
आत्मिक सिर्जनाहरूको सृष्टिधाम हो कालीगण्डकी
सद्धर्म आस्था र विश्वासको बन्दखाम हो कालीगण्डकी
युगौंदेखिको प्रवाहलाई तिमी गन्तव्यमा बग्न देऊ
एउटा प्राकृत इतिहासको नाम हो कालीगण्डकी ।

(३)
हिमालभन्दा पनि जेठो शाश्वत धाम हो कालीगण्डकी
जीवन फुल्ने मातृत्वको बन्द खाम हो कालीगण्डकी
शालिग्रामलाई तिमी मात्र पत्थर सम्झ वा भगवान्
एउटा विराट सभ्यताको नाम हो कालीगण्डकी ।

(४)
सन्ततिका लागि भविष्य धाम हो कालीगण्डकी
सजलतामा प्रेरणाको बन्द खाम हो कालीगण्डकी
तिमी त्यसलाई बेनाम अस्तित्वको खहरे नसम्झ
एउटा उज्ज्वल भविष्यको नाम हो कालीगण्डकी ।

यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः

प्रकाशित मिति: : 2021-10-09 14:08:00

प्रतिकृया दिनुहोस्