कहाँ छन् बलिउड अभिनेता राजकिरण ?

बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरनबानियाँ’लगायत सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राजकिरण वर्षौदेखि गुमनाम छन्। राजकिरण ८० को दशकका प्रायः हरेक फिल्मको हिस्सा हुन्थे। एक समय सूर्यको किरण जस्तंै चम्किएका उनको जिन्दगीमा कहिलेबाट अध्यारोले छोया कसैलाई थाहा छैन।

राजकिरण जबसम्म फिल्ममा थिए, उनलाई सबैले स्वागत गर्थे। तर, जब उनले फिल्मबाट सम्बन्ध तोडे, त्यही बेला फिल्म उद्योगका मानिसले राजलाई आफ्नो जीवनबाटै निकाले। राजलाई जुन समयमा आफ्नो परिवारको बढी आवश्यकता थियो, त्यो समयमा उनीसँग कोही थिएनन्। अर्थात उनको परिवारले नै उनलाई छोडिसकेका थिए।

राजले आफ्नो करियरमा एक सयभन्दा बढी फिल्ममा काम गरे। उनले सहायक र मुख्य अभिनेताका रुपमा ती फिल्ममा आफ्नो कौशल देखाए। उनी निकटका अनुसार अहिले उनी ‘पागल’ भइसकेका छन्। उनको पुरा नाम राजकिरण मेहतानी हो। भारतमा उनको फ्यानले उनलाई कैयौं वर्षदेखि ‘बेपत्ता’का रुपमा सम्झिएका छन्। किनकी उनको बारेमा धेरै जानकारी कोहीसँग पनि छैन।

राजकिरणलाई आफ्नो करियरको उतारचढावको बेला ‘डिप्रेसन’ भएको थियो। यही समयमा उनको परिवारले उनलाई वास्ता गरेनन्। त्यही समयदेखि उनले आफ्नो मानसिक सन्तुलन गुमाए। वर्षौअघि दीप्ति नवलले उनलाई अमेरिकामा ट्याक्सी चलाउँदै गरेको अवस्थामा भेटेका थिए। सन् २०११ मा ऋषि कपुरले राजकिरण अमेरिकाको पागलखाना रहेको पत्ता लगाएका थिए।

राजकिरणकी पत्नीले पनि पति कैयौं वर्षदेखि गुमनाम रहेकाले उनको खोजी भइरहेको बताएकी थिइन्। राजकिरण पछिल्लोपटक शेखर सुमनको सिरियल ‘रिपोर्टर १९९४’मा देखिएका थिए।

कतिपयले फिल्म नपाएको कारण उनी डिप्रेसनमा गएको बताइरहेका छन् भने कतिपयले उनको परिवारले राजकिरणको सबै सम्पत्ति हडपेको दाबी गरिरहेका छन्। तर सत्य के हो अझै खुल्न सकेको छैन।

प्रकाशित मिति: : 2022-02-05 15:03:00

प्रतिकृया दिनुहोस्