स्थानीय सेराेफेराे

'जनताको आवश्यकता नै हाम्रो पहिलो प्राथमिकता हो' (अन्तर्वार्ता)

ऐतिहासिक महत्व बोकेको गाउँपालिका हो, रोल्पाको रुन्टीगढी। यस गाउँपालिकाभित्र पर्यटन विकासका प्रशस्त सम्भावनाहरु छन्। तर सरोकारवालाहरुको ध्यान नपुग्दा यस क्षेत्र ओझेलमा पर्दै आएको थियो। स्थानीय सरकार बनेपछि भने पछिल्ला वर्षहरुमा हाेलेरी क्षेत्रको विकासले गति लिन थालेको छ। गाउँपालिकाका जनप्रतिनिधिहरु यस क्षेत्रको विकासका लागि सक्रिय रुपमा लागिरहेका छन्।

कोरोना महामारीले यस क्षेत्रलाई पनि सामान्य प्रभाव पार्यो। तर समयमै गाउँपालिकाले आइसोलेसन, क्वारेन्टाइन, अक्सिजन सिलिण्डर र आवश्यक स्वास्थ्य सामाग्रीहरु व्यवस्थापन गर्यो। जसका कारण महामारी नियन्त्रणमा आउदैछ। रुन्टीगढीमा कोराना महामारीको अवस्था र संकटको समयमा गति लिइरहेको विकासको अवस्थालगायत विभिन्न विषयमा गाउँपालिकाका अध्यक्ष बालाराम बुढालाई बिएल नेपाली सेवाले केही प्रश्नहरु सोधेको छ। प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः 

तपाईको गाउँपालिकामा कोरोना महामारीको अवस्था कस्तो छ ? 

हाम्रो गाउँपालिकामा पनि कोरोना महामारीले नछोडेको होइन। विश्वमै कोरोना भाइरसको महामारी व्यापक भइरहेको समयमा रुन्टीगढी गाउँपालिका मात्रै अछुतो रहने कुरा भएन। यस कोरोना महामारीले हाम्रो गाउँपालिकाका स्थानीय ३ जनाको मृत्यु भयो भने करिब ८५ जना कोरोना संक्रमित भएका छन्। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि के-कस्ता कामहरु गर्नु भएको छ ?

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि हामीले गत वर्ष जिल्लामै पहिलो पटक हेल्पडेस्क स्थापना गरेका थियौ। हेल्प डेस्क स्थापना गरेपछि जिल्लाबाहिर तथा रोजगारीको शिलसीलामा विभिन्न देशबाट आएका स्थानीय नागरिकहरुलाई १४ दिनसम्म बस्नको लागि क्वारेन्टिनको व्यवस्था गरेका थियौ। जिल्ला बाहिरबाट आएको कुनै पनि व्यक्तिलाई कोरोना संक्रमित देखिएमा राख्नको लागि ५ वेडको आइसोलेसन कक्षसमेत तयार गरेका थियौँ। अहिले पनि हेल्प डेस्कको स्थापना गरी अक्सिजन सिलिन्डरसहितको २५ वेडको आइसोलेसन कक्ष तयार गरी संक्रमितहरुलाई ल्याएर उपचारसमेत गर्ने व्यवस्था गरिरहेका छौँ।

गत वर्ष गरिब तथा विपन्न परिवारलाई राहतसमेत वितरण गरिएको थियो। अहिले पनि कोरोना परिक्षणलाई रुन्टीगढी गाउँपालिकाको बस्तीस्तरमै गएर परिक्षणलाई व्यापक बनाएका छौँ। रुन्टिगढीको होलेरी बजारमा प्रत्येक शनिबार कोरोना परिक्षण गरिरहेका छौँ।

कोरोना महामारीबाट रोजगारी गुमाएका गरिब तथा विपन्न परिवारको लागि के गरिरहनु भएको छ ?

हामी जनताको समस्याप्रति सधैँ उत्तरदायीत्व छौँ। गत वर्ष गरिब तथा विपन्न जनताको लागि राहत वितरण गर्‍यौं। त्यसैगरी लकडाउनको समयमा हामीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारबापतको रकमले रन्टीगढी गाउँपालिकाका करिब २ सय ३२ जना स्थानीय नागरिकहरुलाई प्रत्यक्ष रोजगारीमा संलग्न गराएका थियौँ। गत वर्ष कोरोना महामारीको समयमा खाद्यानको लागि रोजगार कार्यक्रम सञ्चालन गरेका थियौँ। त्यहाँ पनि सयौँ नागरिकहरुलाई प्रत्यक्ष लाभान्वित भएका छन्। हामीले यस्तै कामहरु गरिहेका छौँ। समय सापेक्ष यस्ता खालका कार्यक्रमहरु जनताको आवश्यकता अनुसार ल्याउने गर्दछौँ।

स्थानीय तहको निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता कति पुरा भए ?

हामी निर्वाचित भएको ४ वर्ष पुरा भइसकेको छ। मलाई लाग्छ, यो अवधिमा जनता समक्ष गरेका धेरै प्रतिबद्धताहरु पुरा गरेका छौँ। गाउँपालिकामा हामीले करिब ९० प्रतिशत क्षेत्र सडक विस्तार गरिसकेका छौँ। आर्थिक, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रमा हामीले  धेरै कामहरु सम्पन्न गरिसकेका छौँ। केही कामहरु बाँकी छन्, ती कामहरु पनि अबको बाँकी अवधिमा पुरा हुन्छन्।

तपाईको गाउँपालिका भित्र खानेपानीको समस्या छ, भन्ने सुनिन्छ। समास्या समाधानका लागि के गरिरहनु भएको छ ?

गाउँपालिकाको सबै क्षेत्रमा पानीको समस्या छैन। खानेपानीका लागि अहिले प्रायः सबै वडामा एक घर एर धाराको व्यवस्था गरेका छौँ। यद्यपि गाउँपालिकाको १/२ स्थानमा त्यो समस्या छ। हामी त्यस ठाउँमा पनि खानेपानीको समस्यालाई समाधान गर्नको लागि पहल जारी राखेका छौँ। जनताको आवश्यकता नै हाम्रो पहिलो प्राथमिकता हो।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा के-के काम भएका छन् ? चुनौती कस्तो छ ?

यस क्षेत्रमा पनि हामीले विभिन्न कार्यक्रमहरु गरेका छौँ। भौतिक संरचना निर्माणका, शिक्षालाई प्रविधिमैत्री बनाउने, शिक्षामा सहज वातावरण निर्माण गर्नको लागि कामहरु निरन्तर जारी छ। यद्यपि, काम गर्दै जाँदा केही चुनौतीहरु हुन्छ। हाम्रो पालिका भोगौलिक विकटताका कारण केही समस्याहरु छन्। प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको अभावले कहिकतै समस्या देखिन्छ। ती समस्याहरुको समाधानका लागि विभिन्न विकल्पहरु अपनाएर काम गरिरहेका छौँ।

युवाहरुको लागि स्वरोजगारमूलक योजना के-के ल्याउनुभएको छ ?

कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवारलाई हामीले गत वर्ष खाद्यान्नको लागि रोजगार नामक कार्यक्रम ल्याएका थियौँ। यो वर्ष पनि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत २३२ जनाको लागि रोजगारी सिर्जना ग¥यौँ। यस्तै रोजगारीका लागि विभिन्न देशमा जाने समस्यालाई मध्यनजर गर्दै कृषि क्षेत्रमा अनुदानका कार्यक्रम, विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरेका छौँ। यस कार्यक्रमबाट स्थानीय नागरिकहरुले रोजगार प्राप्त गरी आत्मनिर्भर बन्न सक्छन् भन्ने अपेक्षा लिएका छौँ।

पर्यटनको  क्षेत्रमा के-के काम गर्नुभयो ? आगामी योजना के-के छन् ?

पर्यटनका क्षेत्रमा पनि हामीले थुप्रै कार्यक्रमहरु गरेका छौँ। गढीलेकलाई संरक्षण तथा प्रर्वधन गर्नका लागि बाटो निर्माण, मुरुल्ले लेकमा मन्दिर निर्माणका लागि आवश्यक सहयोग, शिवपार्वती गुफामा बाटो निर्माण तथा संरक्षण गरेका छौँ।

त्यस्तै रक गार्डेन निर्माणको प्रयास, गाउँपालिकाभित्र गुराँस गार्डेनको स्थापना गरेका छौँ। स्र्वगद्धारी महाप्रभुको जन्मस्थल रुन्टीलाई प्रर्वधन तथा संरक्षण गर्नुका साथै बाटो मर्मत राष्ट्रिय अक्षर महोत्वसव, होलेरी मिडिया सम्मेलन लगायतका विभिन्न कार्यक्रमहरु गरी पर्यटन प्रवर्धनको प्रचार-प्रसार गरेका छौँ।

गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ ?

गाउँपालिकामा शुसासनको अवस्था सन्तोषजनक नै छ। जहाँसम्म अनियमता बढेको भन्दै आलोचनाका कुराहरु छन्, यी कुराहरु राजनीतिक प्रतिशोधका कारण पनि हुन सक्छ। तर  अनियमितता बढेको होइन। बरु कोरोना संक्रमणले विक्षिप्त पारेको यो समयमा आलोचनाभन्दा पनि सकारात्मक कार्यप्रति हातेमाले गर्न आग्रह गर्दछु।

नयाँ  आर्थिक  वर्ष  पनि  सुरु  हुँदैछ,  कस्तो  बजेट  ल्याउने  तयारीमा हुनुहुन्छ ?

अहिले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट निर्माणमा जुटेका छौँ। विगतका वर्षमा जस्तै आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पर्यटन, उत्पादनमुखी र व्यवसायमुखीका क्षेत्रलाई समेट्दै बजेट निर्माण गरिरहेका छौँ। समग्र क्षेत्रको विकासलाई सँगसँगै लैजाने गाउँपालिकाको नीति छ।


प्रकाशित मिति: : 2021-06-20 20:14:00

प्रतिकृया दिनुहोस्