माओवादीबाटै उपेक्षामा परेको ‘होलेरी’

तत्कालीन माओवादीले सुरू गरेको १० वर्षे ‘जनयुद्ध’को उद्गमस्थल हो, रोल्पाको होलेरी।

२०५२ फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरी माओवादीले ‘जनयुद्ध’ सुरू गरेको थियो। यहिँ होलेरीबाट सुरू भई देशमा १० वर्षसम्म चलेको ‘जनयुद्ध’बाट नै माओवादी पार्टी उदय भएको हो।

त्यही रापतापमा माओवादीले २०६५ यता देशको शासन सत्तामा पटक–पटक हालीमुहाली गर्न पाइरहेको छ। त्यसाे त कहिले आफैँले नेतृत्व गरेर होस् वा कहिले गठबन्धन गरेर। अहिले त झन आधार इलाकामा पर्ने प्रदेश सरकारको नेतृत्व पनि माओवादीले नै गरिहरको छ। तर विडम्वना नै भन्नुपर्छ, त्यही माओवादीलाई उदय गराउने उद्गमस्थल होलेरी भने सधैँ उपेक्षामा परिरह्यो।

‘जनयुद्ध’ कालमा माओवादीकै कारण कुनैपनि विकास निर्माणका काम हुन नसकेको हाेलेरीमा पछिल्लो समय पनि माओवादीकै कारण विकासभन्दा विनाश भएको रून्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनको भनाइ छ।

‘पहिलो कुरा रोल्पाको दक्षिणी भेगमा केन्द्रसम्म पहुँच राख्ने माओवादीका नेता भएनन्’, अध्यक्ष पुनले भने,  ‘त्यही भएर पनि होलेरी क्षेत्र उपेक्षामा पर्यो।’

दोस्रो कुरा माओवादी नेताकै कारण हाेलेरी क्षेत्रको विभिन्न खानीहरू अवैध उत्खननको सिकार बनेको पुनको आरोप छ। ‘विकास निर्माणको काम त केही पनि देखिँदैनन्’, पुनले भने, ‘बरू यहाँका खानी जति सबै उनीहरूकै पहलमा दर्ता भएका छन् रे।’

माडीचौरमा विकास, होलेरीमा विनाश

‘जनयुद्ध’को उद्गमस्थल हाेलेरीमा न राम्रो खानेपानीको सुविधा छ, न स्वास्थ्य, शिक्षा र सडकको व्यवस्था छ। युद्ध स्मारकसमेत स्थानीय सरकारले बनाएको छ भने शंकर पोखरेल मुख्यमन्त्री हुँदा परेको पहाडी हिल स्टेशन बनाउने प्रदेश सरकारको योजना बाहेक होलेरीमा प्रदेश र केन्द्र सरकारको अन्य कुनै योजना नभएको रून्टिगढी गाउँपालिकाका जनप्रतिनिधिहरूको भनाइ छ। तर माओवादी नेता वर्षमान पुन र ओनसरी घर्तीको गाउँ माडीचौरमा भने धान्नै नसकिने विकासे योजनाहरू रहेका छन्।

एकीकृत बस्ती विकास, कृषि क्याम्पस, जलविद्युत सम्भाव्यताको सम्पर्क कार्यालय, खेलकूद मैदान, खेलकूद मैदानलाई आधा ढाक्नेगरी माडीखोलामा पुल, लिबाङ–माडीचौर हुँदै दार्बाेट जोड्ने सडक, यी त ठूला योजना मात्र हुन्। सानातिना योजना त के कति आउँछन्–जान्छन् माडीचौरका जनतालाई समेत थाहा छैन।

स्थानीय सरकारमा कांग्रेस आउँदा झन उपेक्षा

१० वटा स्थानीय सरकार रहेको रोल्पामा ७ वटामा मात्र माओवादीको सरकार रहेको छ। जसमध्ये दक्षिणी भेगमा पर्ने रून्टिगढी र गंगादेवमा कांग्रेसको सरकार रहेकाले पनि यस क्षेत्रमा माओवादी नेताहरूले केन्द्रबाट बजेट हाल्न नचाहने गरेको स्थानीय सरकारका प्रमुखहरूको गुनासो छ।

शहीद मार्गबाहेक अन्य कुनै ठूला योजना केन्द्रबाट यस क्षेत्रमा नपरेको एमाले राेल्पाका अध्यक्ष बालालाम बुढाले बताए। ‘यही क्षेत्रको योगदानबाट नेता बनेपछि यहाँ ठूला–ठूला योजना आउनुपर्ने हो’, बुढाले भने, ‘तर राजनीतिक पूर्वाग्रहका कारण हामीले नियमित आउने योजना समेत नपाइरहेको अवस्था छ, यो दुखद विषय हो।’

वर्षमान उर्जामन्त्री हुँदा त्रिवेणीमा परेन विस्तारको योजना

वर्षमान पुन उर्जा मन्त्री हुँदा उज्यालो रोल्पा अभियानको सुरूवात नै गरेर जिल्लाभर विद्युत विस्तारको योजना बनाए। तर त्रिवेणी गाउँपालिकामा बजेट नपरेपछि त्रिवेणीले छुट्टै त्रिवेणी उज्यालो कार्यक्रम सञ्चालन गर्नु परेको थियो।

हाल जिल्लाभर नै उज्यालो रोल्पा अन्तर्गतको काम भइरहेको भएपनि त्रिवेणी गाउँपालिकाले भने स्थानीय सरकारकै बजेटबाट त्रिवेणी उज्लायो कार्यक्रम सञ्चालन गरिहेको त्रिवेणी गाउँपालिकाका पूर्वअध्यक्ष शान्तकुमार वलीले जानकारी दिए।

‘वर्षमान पुन उर्जामन्त्री हुँदा नै हामीले त्रिवेणी बाहेकको उज्यालो रोल्पा भन्नुस् भनेका थियौं’ वलीले भने, ‘उहाँहरू सरकारमा हुँदा हामी सधैँ उपेक्षामा नै पर्ने गरेका छौं।’

प्रकाशित मिति: : 2023-02-13 10:44:00

प्रतिकृया दिनुहोस्