नक्कली भुटानी शरणार्थी प्रकरण

आफैं हाजिर हुने साेचेकाे थिएँ प्रहरीसँग जम्काभेट भयाे– टाेपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना आराेपित पक्राउ परेका छन्।

प्रहरीले ठगी, संगठनिक ठगी र राज्यविरुद्धकाे अपराध ठहर गरेकाे याे प्रकरणमा हालसम्म ३१ जना व्यक्ति संलग्न रहेकाे खुलेकाे छ। जसमध्ये, १७ जनालाई पक्राउ गरिसकेकाे छ भने बाँकी १४ जना अझै फरार छ।

पक्राउ परेकामध्ये नेकपा (एमाले)का निलम्बित सचिव एवम् पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टाेपबहादुर रायमाझी सबैभन्दा उपल्लाे ओहाेदाका व्यक्ति हुन्। उनी चारपटक सांसद, पाँचपटक मन्त्री र एमाले र माओवादीकाे सचिवसम्म भएका व्यक्ति हुन्। उनलाई पक्राउ गर्न प्रहरीलाई पनि उनकाे पद जतिकै ठूलाे संघर्ष गर्नुपरेकाे थियाे। पक्राउ पुर्जी जारी भएपछि केही अभियुक्त पक्राउ पर्दा त केही आफैं प्रहरीमा उपस्थित भए। तर, टाेपबहादुर प्रहरीलाई घुमाउनुसम्म घुमाए। उनी गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि किन भागे अहिलेसम्म रहस्यकाे विषय नै भनेकाे छ।

पक्राउ पुर्जी जारी भएपछि ११ दिनसम्म भागेका टाेपबहादुरले यही अभियाेगमा आफ्ना छाेरा सन्दीप रायमाझी पक्राउ परेपछि मन बिग्रिएर भाैतारिएकाे र बिरामी भएर आराम गरेकाे बताउँदै आएका छन्। भने, आममानिसले भने टाेपबहादुरलाइ एमाले अध्यक्ष केपी शर्मा ओेलीले लुकाएकाे आराेप लगाएका छन्।

तर, टाेपबहादुरले फेरि अर्काे कुरा बताएका छन्। टाेपबहादुरले जिल्ला अदालत काठमाडाैँमा बयान दिने क्रममा आफू आफैं प्रहरीमा हाजिर हुने तयारीमा रहेका बेला प्रहरीसँग जम्काभेट भएकाे भन्ने हास्यस्पद जवाफ दिएकाे छ। अचम्मकाे कुरा त के भने गत वैशाख ३० गते बूढानीलकण्ठस्थित साथीकाे घरबाट पक्राउ पर्दा टाेपबहादुर रक्सीले मात्तिएका थिए। त्यही क्रममा उनलाइ प्रहरीले पक्राउ गरेर खाेरमा हालेकाे थियाे। तर, टाेपबहादुरले त्यसलाइ प्रहरीसँगकाे जम्काभेट भनेर व्याख्य गरेका छन्।

उनले काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्याैपानेसँगकाे बयानका क्रममा भनेका छन्,‘उक्त दिन काठमाडौं जान नपाएपछि उपचारको कारण केही समय विलम्ब हुन गयो । तर म फेरि काठमाडौं हाजिर हुन भनी आइपुगेँ र सुरक्षाकर्मीसँग काठमाडौंमा जम्काभेट भई मलाई सम्बन्धित प्रहरी कार्यालयमा पुर्‍याउने काम भयो।’ टाेपबहादुरले त्यसअघि बिरामी भएकाे कारण प्रहरीमा हाजिर हुन नसकेकाे उल्लेख गरेका छन्।

वैशाख २० गते पक्राउ पुर्जी जारी हुँदा टाेपबहादुर गृह जिल्ला अर्घाखाँचीमा एक विद्यालयकाे हिरक महाेत्सवमा सभामुख देवराज घिमिरेसँगै सहभागी थिए। कार्यक्रममा विशेष अतिथि रहेका उनी पक्राउ पुर्जी जारी भएपछि काठमाडाैँ पुगेर प्रहरीलाइ अनुसन्धानमा सहयाेग गर्ने बताएका थिए। तर, उनी साेही दिन भैरहवबाट गायब भए। उनी भाग्दाकाे समय उनका छाेरा सन्दीपलाइ प्रहरीले समातेकाे थियाे। रायमाझीले छाेराे पक्राउ भएपछि आफू पनि पक्राउ पर्ने डरले भागेकाे बताएका छन्। 

‘म बुटवल हुँदै एयरपोर्ट जाने सोचें। त्यसपछि म बुटवल नपुग्दै बुटवल र पाल्पाको सिमाना सिद्धबाबामा सन्दिप रायमाझी गिरफ्तार भएको जानकारी भयो अनि मेरो लागि पनि भैरहवा एयरपोर्टमा गिरफ्तार गर्ने तयार भएको जानकारी पाएँ। म आफैँ हाजिर हुने भनी टिकट काटेर बसेको मान्छे त्यस प्रकारको जानकारी पाएपछि भैरहवाबाट काठमाडौँ जाने समय ढिला भयाे,’ उनले बयानमा भनेका छन्। ११ दिनसम्म भाग्दै भाग्दै बूढानीलकण्ठ पुगेका टाेबहादुरले आफ्नाे माेबाइल भने आफन्तसँग भारत पठाएकाे प्रहरीले बताएकाे छ।

उनीमाथि अनुसन्धान जारी छ। काठमाडाैँ प्रहरीले नेपालीलाइ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी नेपाली युवासँग ठगी गर्ने गरी बनाइयाे याे याेजनाकाे प्रमुख नै टाेपबहादुर रहेकाे ठहरसहितकाे प्रतिवेदन जिल्ला अदालत काठमाडाैँमा बुझाएकाे थियाे। त्यसमाथि अदालतले उनीसँग बयान लिइसकाे छ।

अदालतकाे बयानमा पनि टाेपबहादुरले प्रहरीमा जसरी हाेइन्, छैन, चिन्दैन, जान्दैन मात्रै भनेका छन्। उनले याे प्रकरणमा आफू संलग्न नरहेकाे र आफ्नाे राजनीति धमिलाउन अरुले आफूमाथि आराेप लगाएकाे दाबी गरेका छन्। ‘निजलाई अमेरिका पठाइदिने भन्ने जाहेरी व्यहोरा झुटा हो। निजले किन यस प्रकृतिको जाहेरी दिए स्पष्ट भन्न सकिँदैन। मेरो राजनीतिक छवी धमिलो बनाउने उद्देश्य स्वरुप कसैको उक्सावटमा निजले यस्तो जाहेरी दिएको हुनुपर्छ,’ टाेपबहादुरले जाहेरकर्ता प्रेम पन्थीबारे जवाफ दिँदै भनेका छन्।

त्यस्तै रायमाझीलाइ आफूलाइ मामा बताउँदै बयान दिने सानु भण्डारी आफ्नाे भाञ्जा नभएकाे र कुनै लेनदेन पनि नगरेकाे उल्लेख गरेका छन्। ‘सानु भण्डारी भन्ने व्यक्ति नाताले मेरो भान्जा होइनन् र म निजको मामा पनि होइन । विभिन्न समयमा अलग अलग रकम दिएको भन्ने कुरा सरासर झुटा हो । यसमा कुनै सत्यता छैन,’ उनले भनेका छन्।

टाेपबहादुरले भण्डारीसँगकाे लेनदेनकाे विषयमा भने उनी आफ्ना छाेरा सन्दीपकाे विजनेस पार्टनर रहेकाे र त्यही क्रममा छाेराले काराेबार गरेकाे हुन सक्ने बताएका छन्। ‘निजले मलाई १ करोड ६० लाख दिएको भन्ने कुरा बिल्कुल गलत हो । त्यसमा कुनै सत्यता छैन । मेरो छोरा सन्दिप रायमाझी निज सानु भण्डारीसँग व्यवसायिक पार्टनर रहेकोले मेरो छोरालाई ४० लाख दिएको भन्ने सन्दर्भमा मेरो छोराले नै स्पष्ट पार्ने कुरा हो,’ उनले बयानमा भनेका छन्।

प्रकाशित मिति: : 2023-06-04 20:30:00

प्रतिकृया दिनुहोस्