अपराध रोक्न धनुषा ट्राफिकद्वारा मोटरसाइकलमा स्पष्ट नम्बर लेखाउने अभियान 

विजय साह

जनकपुर

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले स्पष्ट नम्बर नदेखिने, केरमेट भएको, खुइलिएको र अनटेस्ट मोटरसाइकललाई नियन्त्रणमा लिएर नम्बर लेखाउने अभियान सञ्चालन गरेको छ। 

ट्राफिक प्रहरीले माघ २७ गतेबाट सुरु गरेको यस अभियानअन्तर्गत अहिलेसम्म नम्बर प्लेट स्पष्ट नबुझिएको र अनटेस्ट गरी एक सय ३२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर नम्बर लेखाउन लगाएको छ।  

ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, अपराधिक क्रियाकलापजस्ता गतिविधिलाई रोक्न यो अभियानको थालनी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको जिरोमाइल, मुजेलिया, हनुमाननगर, कपिलेश्वर र रेल्वे स्टेशनलगायतका स्थानमा ट्राफिक जाँच स्थान खडा गरी कडाइकासाथ यो अभियानलाई कार्यान्वयन गरिएको उनले जानकारी दिए।

नम्बर नराखी सञ्चालनमा ल्याइएका नयाँ सवारीसाधान र नम्बर प्लेट मेटिने अवस्थामा रहेका मोटरसाइकल नियन्त्रणमा लिएकै स्थानमा नम्बर लेख्ने व्यवस्था गरिएको प्रहरी निरीक्षक न्यौपानेले भने। 

यस अभियानले सवारी धनीलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारी जाँच एवम् मर्मत सम्भार गर्ने बानीको विकास समेत हुनेछ। सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी तोकिएको ढाँचामा राख्न सम्पूर्ण सवारी धनलाई अनुरोध समेत प्रहरी निरीक्षक न्यौपानेले गरे।

प्रकाशित मिति: : 2022-02-26 11:12:00

प्रतिकृया दिनुहोस्