संसद बैठक आज बस्दै, कार्यसूचीमा एमसीसी

File Photo
File Photo

प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसाे बस्दैछ।

दिउँसाे १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ। साेही अनुसार आजकाे सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएकाे छ।

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।

आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यसअघि सरकारकाे आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो।

शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो।

संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्दैछ। सभामुख अग्निप्रसाद सापकाेटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक-एक सांसद छन् ।

प्रकाशित मिति: : 2022-02-27 10:20:00

प्रतिकृया दिनुहोस्