माधव नेपालको पार्टीलाई मान्यता

मन्त्री नपाए माधव नेपालको साथ छाड्ने चौधरी र आलेको चेतावनी

File Photo
File Photo

पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नयाँ दलले निर्वाचन आयोगबाट मान्यता पाएको छ।

एमालेबाट अलग्गिएर नेकपा (एकिकृत समाजवादी) दर्ता गरेका नेताहरूले बुधबार आयोग पुगी सनाखत गरेपछि दलको मान्यता पाएका हुन्। एकिकृत समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको छ।

पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर तोकिएको छ।

माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकिकृत समाजवादी) पछिल्लो राष्ट्रिय राजनीतिको केन्द्रविन्दुसमेत मानिएको छ। एमालेबाट ६० केन्द्रीय सदस्य र ३३ संघीय सांसदले नेपाल नेतृत्वको नयाँ पार्टीलाई साथ दिएका छन्।

२२ प्रतिशत सदस्यहरूको साथ पाएका अध्यक्ष नेपाल सम्भततः शुक्रबारसम्म वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेछन्। उनले आफ्नो तर्फबाट कम्तीमा पाँच मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी थालेको नेपालनिकट स्रोतले जनाएको छ।

एमालेभित्र अध्यक्ष केपी शर्मा आलीको थिचोमिचोमा परेका र मन्त्री बन्न मरिहत्ते गरिरहेका नेताहरूलाई सरकारमा जान बाटो खुलेको छ। 

मन्त्री बन्न हानथाप

आयोगबाट भर्खरै मान्यता पाएको एकिकृत समाजवादीलाई सरकारमा सहभागी बाटो खुलेसँगै मन्त्रीका लागि नेताहरूबीच हानथाप सुरू भएको छ।

दर्जनौँ सांसदहरू बालुवाटारदेखि कोटेश्वरसम्म धाउन थालेको महिनौँ बितिसक्यो। तर सरकारमा सहभागी मन्त्रीहरूको नाम अहिलेसम्म टुङ्गो छैन।  

नयाँ पार्टीले मान्यता पाएसँगै बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डेय, हिराचन्द्र केसी, जीवनराम श्रेष्ठ, निरादेवी जैरु, तुल्सी थापा र खिमलाल देवकोटासहित थ्रुपै नेताहरू मन्त्रीका तीव्र आकांक्षी छन्।

मन्त्रीको संख्या सानो र आकांक्षी धेरै हुँदा नामै टुङ्गो लगाउन सकस परिरहेको अध्यक्ष नेपालको गुनासो छ। एमाले छाडी माधव नेपालकहाँ पुगेका कतिपय नेताहरू मन्त्रीकै लागि भागदौड गरिरहेका छन्। 

लामो समयदेखि नेपाललाई साथ दिइरहेका बिरोध खतिवडा, बेदुराम भुसाल, कल्याणी खड्का, मेटमणी चौधरी र रामकुमारी झाँक्रीलाई मन्त्री बनाउनैपर्ने दबाब रहेको नेपालनिकट एक नेताले बताए।

ती नेता भन्छन्, ‘कतिपय साथीहरू मन्त्री पाउनैका लागि यहाँ आउनुभएको छ। उहाँहरू मन्त्रीको भोकमा हुनुहुन्छ। हिजो ओलीको प्रतिगमनलाई साथ दिएका कमरेडहरूको एउटै उदेश्य मन्त्री बन्ने छ। यस्ता साथीहरूलाई माधव नेपाल कमरेडले रोक्नुपर्छ। उनीहरूको कुनै भरोसा छैन।’

नेपालनिकट नेताहरूले नयाँ अनुहारलाई स्थान दिनुपर्ने सुझाव दिएका छन्। क्षणिक अवसरका लागि पार्टी वा समूह फेर्दै हिँड्ने पात्रहरू रोक्न–सके मात्रै एकिकृत समाजवादीको औचित्य पुष्टि हुने प्रायः नेताहरूको राय छ।

नयाँ पार्टी दर्ता नहुँदै देउवा नेतृत्वको सरकारमा सहभागी हुन हतारिएका सांसदहरू नै मन्त्रीको सबैभन्दा अघिल्लो दौडमा छन्। 

एमाले अध्यक्ष ओलीको खरो आलोचकका रूपमा चिनिएका युवा सांसद मेटमणी चौधरी आफूले मन्त्री पाउनैपर्ने अडानमा छन्। उनीसँगै मन्त्रीका लागि तत्कालीन ओली समूह छाडेका प्रेम आले र किसान श्रेष्ठले कुनै कसरत बाँकी राखेका छैनन्। 

आकांक्षीहरूलाई आलोपालो मन्त्री बनाउने आश्वास दिएका नेता नेपालले आफूलाई संकटमा साथ दिने सबै नेताहरूको उचित मूल्याङ्कन गर्ने बताएका छन्। 

चन्द्रागिरीस्थित चन्द्रागिरी रिसोर्टमा नेता नेपालले पहिलाे चरणमा अन्य सांसदलाई पालाे दिन आग्रह गरेपछि चौधरी, आले र किसान श्रेष्ठले मन्त्री पद नपाए एकिकृत समाजवादी छाड्नेसम्मकाे चेतावनी दिएको नेपालनिकट एक नेताले बिएल नेपाली सेवालाई बताएका छन्।

'मैले संकटमा साथ दिने नेताहरूकाे बारेमा साेचिसकेकाे छु। तपाईहरू आत्तिनुपर्दैन। तुल्सा कमरेड पनि यतै हुनुहुन्छ। उहाँलाई पनि स्थान दिनैपर्छ। पहिलो–लटमा अन्य सांसदलाई पालो दिनुहाेस्, 'दबाब खेपिरहेका नेपालले पटकपटक आग्रह समेत उनीहरूले नमानेकाे ती नेताकाे भनाइ।

मन्त्री बनाउने आश्वासनपछि नयाँ पार्टीमा

एमालेका उपाध्यक्ष वामदेव गौतमको पत्नी तुलसा थापा मन्त्री बन्ने आश्वासन पाएपछि नेपाल नेतृत्वको नेकपा (एस)मा लागेकी छिन्। उनी निर्वाचन आयोग पुगेर सनाखत गरेकी हुन्।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेपालले गौतमलाई पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए। दोस्रोपटक एमाले फुटाएको कलङ्क नबोक्ने भन्दै गौतम पार्टी विभाजनमा सहभागी भएका छैनन्। उनले सरकारमा जान पनि अस्वीकार गरिसकेका छन्।

एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि पहल नगरेको, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद्को चुनाव हुनुपर्नेजस्ता आफ्ना मागबारे एमाले स्थायी कमिटी बैठकमा एजेन्डा नबनाइदिएको भन्दै उनी रिसाएका छन्।

उनी ओलीबाट 'भावी अध्यक्ष' को आश्वासन आउला भन्ने आशमा अझै नेपाल पक्षमा लागेका छैनन्। नेपालले आफ्ना दृष्टिकोणलाई पार्टीमा स्थान दिने भन्दै उनी 'बार्गेनिङ'मा छन्।

आफूले संसद्मा चुनाव हारेकाले समानुपातिकतर्फबाट पत्नी तुलसालाई समानुपातिक सांसद् बनाएका गौतमले नवगठित नेकपा (एस) का तर्फबाट मन्त्री बन्ने आश्वासनपछि पत्नी तुलसालाई नेपाल पक्षमा लगाएका हुन्।

प्रकाशित मिति: : 2021-08-26 07:06:00

प्रतिकृया दिनुहोस्