योद्ध शाही : नेपाल सुपर लिगमा कर्णालीका एकमात्र फुटबलर

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा कर्णालीबाट एक मात्र खेलाडी जुम्लाका योद्ध शाही लगातार दोस्रो पटक पनि देखा पर्ने भएका छन्।

दोश्रो संस्करणको लागि नेपाल सुपर लिग (एनएसएल) को आयोजक संस्था नेपाल स्पाेर्टस् एण्ड म्यानेज्मेन्टले खेलाडी किनेबेच अर्थात अक्सन सम्पन्न गर्दा उनी अनुबन्ध भएका हुन्।

क्याटागोरी ‘बी’ मा रहेका शाही समग्र कर्णालीबाट छानिने एक मात्र खेलाडी हुन्। विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक फुटबल खेल्दै आएका उनलाई यो वर्ष लुम्बिनी एफबीले एक लाख १० हजारमा अनुबन्धित गरेको हो।

अघिल्लो वर्ष सी क्याटागोरीमा रहेका उनी यो वर्ष बी क्याटागोरीमा परेका थिए। न्युनतम एक लाख मूल्य तोकिएका उनका लागि ‘लक्की ड्र’ मार्फत लुम्बिनी एफबीले एक लाख १० हजार रुपैयाँमा आफ्नो टिममा भित्र्याएको हो।

योद्ध सहिद स्मारक ए डिभिजन लिग खेल्ने कर्णालीको पहिलो खेलाडी हुन् भने त्रिभुवन आर्मीका भरपर्दा डिफेन्डर हुन्।

एकभन्दा बढी क्लबले एउटा खेलाडीका लागि अधिकतम बोली लगाएको खण्डमा गोलाप्रथाका आधारमा टोलीले खेलाडी प्राप्त गर्ने प्रावधानअनुसार उनी लुम्बिनीबाट खेल्ने भएका हुन्।

समग्र कर्णालीबाट लगातार दोस्रो पटक अझ मूल्य बढेर अक्सनमा परेपछि खुसी भएको उनले बताए।

उनले भने, ‘नेपालमा व्यवसायिक फुटबलको अभ्यास गरिरहेको अक्सनमा दोस्रो पटक पनि अक्सनमार्फत कर्णालीबाट एक जनाको रुपमा छनोट हुन पाउनु आफैँमा खुसीको कुरा हो।’

एनएसएलले शुक्रबार काठमाण्डौंमा एनएसएलमा सहभागि क्लबहरुको उपस्थितिमा दोश्रो संस्करणमा आवेदन दिएका २४२ खेलाडीहरुको अक्सन सम्पन्न गरेको हो।

अक्सनका लागि एनएसएलले यसपटक क्याटेगोरी ए मा ५० जना खेलाडी सूचीकृत गरेको थियो भने बी र सी क्याटेगोरीमा समान १०१–१०१ जना खेलाडीको नाम सूचीमा राखेको थियो।

प्रकाशित मिति: : 2022-03-05 18:10:00

प्रतिकृया दिनुहोस्