जातीय विभेद अन्त्य : संगठित हुन नसक्दा समस्या

‘जातीय विभेद आजको दिनमा पनि छ। हिजोको जस्तै नहोला तर विभेद नयाँ रुपबाट हुने गरेको छ। कानुनतः जातीय विभेद अन्त्य भएको भए पनि दलित समूदायले नयाँ रुपले विभेद भोग्नुपर्ने अवस्था छ,’ जिल्ला समन्वय समिति (जिसस) दाङका संयोजक जितेन्द्रमान नेपालीको आक्रोससहितको भनाई हो, यो।

जनचेतना बढ्दै जाँदा जातीय विभेद केही कम भए पनि अझै दलित समुदायले विभेद अन्त्य भएको महसुश नगरेको र कहिलेसम्म आफ्नो समुदायले विभेद भोग्नुपर्ने भन्दै नेपालीले प्रश्न गरे। यस्तो प्रश्न प्रमुख नेपालीले दाङको घोराहीमा ५७औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा गरेका हुन्।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाले आयाेजना गरेकाे अन्तरक्रियामा उनले आफूले आझै पनि विभेद भोग्दै आइरहेक सुनाए। ‘मैले जातीय विभेद अन्त्यका लागि मेरो नेतृत्वमा नै संघर्ष गरेका दिनहरु छन्,’ नेपालीले भने, ‘कानुनत नेपालमा जातीय विभेद छैन। तर, मैले नै जातीय विभेद भोग्दै आइरहेको छु।’

उनले विभेद नयाँ रुपबाट हुने गरेको भन्दै भने,‘म जिसस प्रमुख हो। तर, कतिपय उपल्लो जात भन्नेहरुले नमस्कार गर्नुपर्छ भनेर तर्किएन्छन्। यो पनि एक किसिमको जातीय विभेद हो।’ उनले सानो जाति भएका कारणले नै आफूलाई पार्टीमा मुख्य जिम्मेवारी दिन पार्टी नेतृत्व हिचकिचाउने गरेको गुनासो गरे।

कुनै पनि पार्टीमा दलित समुदायका व्यक्तिलाई नेतृत्व दिनुपर्याे भने योग्यता, क्षमता खोजिने र पन्छ्याउने गरिएको नेपालीले बताए। उनले हिजो सयौँ वर्षदेखि विभेद गर्दै पढ्नबाट बञ्चित गरेर आज योग्यता खोजिनु दुःखद भएको जिकिर गरे। भने,‘हिजो पढ्नबाट बञ्चित गरियो। आज योग्यता अन्य समुदायको जस्तो कसरी हुन्छ ? योग्यता होइन। अब आरक्षणबाट मात्र पुगेन। दलित समुदायलाई विशेष अधिकार दिनुपर्छ।’

उनले आरक्षणले गर्दा विभेद कायम रहेको भन्नेलाई र कोटा प्रणाली हटाउनुपर्छ भन्नेलाई कुतर्क नगर्न आग्रह गरे। साथै नेपालीले दलित समुदायमाथि भइरहेको विभेद हटाउन दलित समुदाय यो या त्यो संगठन भनेर लाग्न नहुने भन्दै संगठित हुनुपर्ने बताए।

दलित समुदाय संगठित हुनुपर्ने प्रमुख नेपालीको भनाइ जस्तै प्रेस कान्सिल नेपालका सदस्य शरद अधिकारीले दलित समुदायमा एकता हुनुपर्ने धारणा राखे। ‘यहाँ दलित समुदायका व्यक्तिहरुबीच एकता नहुने समस्या। एकता हुन नदिने खेल खेलिन्छ,’ उनले भने,‘सबै जना सचेत भएर विभेद अन्त्यका लागि एकजुट हुनुपर्छ र आफ्नो मुद्दामा केन्द्रीत हुन सक्नुपर्छ।’

अधिकारीले विगतमा जस्तो आज विभेद नरहेको र भोलीको दिनमा यो भन्दा कम विभेद हुँदै जाने पनि बताए। उनले जातीय विभेद वर्गिय समस्या रहेको पनि बताए। धनी र गरिबबीचको विभेदले जातीय विभेदलाई प्रोत्साहन गर्ने अधिकारीको भनाइ छ।

उनले गरिबी अन्त्य हुन सके जातीय विभेद अन्त्य हुने पनि तर्क गरे।

यस्तै घोराही उपमहानगरपालिका ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले जनचेतनाको अभावमा जातीय विभेद कायम रहेको बताए। उनले पनि दलित समुदाय एक जुट हुन नसक्दा जातीय विभेदको मुद्दा ओझलमा परेको र विभेद कायमै रहेको जिकिर गरे। सार्कीले दलित समुदायबाट नेतृत्व तहमा पुगेका नेताहरुको दोष पनि औल्याए। ‘यहाँ नेताहरुको पनि दोष छ। उनीहरु माथिल्लो तहमा पुग्छन् र समुदायका लागि भन्दा पनि आफ्ना लागि हेर्छन। अनि कसरी हुन्छ विभेद अन्त्य?’ उनले भने। 

नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धारा गौतमले संविधानले समतामूलक समाज निर्माण गरेको भन्दै व्यवहार लागूहुन केही समय लाग्ने बताइन। उनले समतामूलक निर्माण गर्नका लागि दलित आयोग, महिला आयोग, जनजाती जस्ता आयोगहरु गठन भएको र यसले समाज विकासमा टेवा पुर्‍याउने बताइन। 

उनले जातीय विभेद अन्त्यका लागि सबै शिक्षित र आर्थिक रुपमा सवल हुनु पर्ने धारणा राखिन। पहिले जस्तो जातीय विभेद आजको समाजमा नरहेको उनको तर्क थियो। दुई चार जनाले जातीय विभेद गरेको कुरालाई लिएर ठूलो बनाइने भन्दै उपाध्यक्ष गौतमले यस्ता कुरालाई बढी प्राथामिकता दिन नहुने बताइन।

उनले समाज विस्तारै परिवर्तन हुने र छिटो समाज परिवर्तन गर्न खोजे समाजमा द्वन्द्व हुने समेत बताइन।

प्रकाशित मिति: : 2022-03-22 06:52:00

प्रतिकृया दिनुहोस्