राजनीति अति भएका कारण कर्णालीको विकास हुन सकेन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा क्रियाशील सबै पार्टीले विकासमा राजनीति बढी गरेका कारण कर्णालीको सन्तुलित विकास हुन नसको बताएका छन्।

जुम्ला रारा अल्ट्रा म्याराथनको उद्घाटनका लागि जुम्ला पुगेका मुख्यमन्त्री शाहीले ’मुख्यमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गतका आयोजनाहरु अनुगमन गर्ने क्रममा राजनीतिक पार्टीले आफूले गरेको बढी राजनीतिका कारण विकास हुन नसकेको भनी स्वीकार गरेको बताएका हुन।

‘सबै राजनीतिक पार्टीका साथीहरुले विकासमा अति राजनीति गरिएको कुरा स्वीकार गर्नुभएको छ,’ उनले भने,‘मलाई सबैभन्दा बढी खुसी लागेको कुरा उहाँहरुले यसमा आफ्नो कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

उनले सबै राजनीतिक दल मिलेर विकास निर्माणका काम, शिक्षा स्वास्थ्य रोजगारका कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको बताए।

‘कर्णालीमा शिक्षा, स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो,’ उनले भने,‘सार्वजनिक शिक्षा गुणस्तरीय बनाउन प्रदेश सरकारको सहयोग, आवश्यकता, स्थानीय तहले कसरी काम गरिरहेका छन् भन्ने सन्दर्भमा जुम्लामा बृहत् छलफल समेत गरिएको छ।’

उनकाअनुसार गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा रोजगारी सृजना कर्णाली  सरकारको मुख्य प्राथमिकतामा पर्छ।

मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पन्न हवाइ समस्या संवोधनका लागि पहल भइरहेको बताए।

‘नेपाल वायुसेवा निगमको उडान बढाउनेबारे छलफल भइरहेको छ। निजी विमान कम्पनीलाई पनि नियमित कर्णालीमा उडान गर्न आग्रह गरिएको छ,’ उनले भने,‘निजी उडान फाइदाको लागि चलेको र ऋणमा समेत डुबेको हुनाले उनीहरुलाई कर्णालीमा उडान भर्न बाध्यता लगाउन सकिदैन।’

उनले हवाई यातायात केन्द्र सरकारको माताहतमा गर्ने हँदा पहल गर्नुको विकल्प नरहेको बताए।

जुम्ला विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीको बजेट खर्च सन्तोषजनक रहेको थपे।

उनले भने,‘कर्णालीमा अहिलेसम्म १८ प्रतिशतभन्दा बढी बजेट खर्च भएको छ। आगामी जेठ महिनासम्म ८० प्रतिशत बजेट खर्च हुनेमा म विश्वास्त छु।’

प्रकाशित मिति: : 2022-04-10 16:31:00

प्रतिकृया दिनुहोस्