नेपालमा खुल्यो 'आइस स्केटिङ', के हो आइस स्केटिङ ? (भिडियोसहित)

माइतीघर हुँदै भद्रकालीतर्फ थोरै अगाडि बढेपछि ठूलो बोर्डमा लेखिएको देखिन्छ, ‘फनल्याण्ड’। त्यहाँ पुगेपछि हरकोही रोकिन्छन् र नियाल्न थाल्छन्। बाहिरबाट चियाउने बित्तिकै देखिन्छ- भित्र रहेका विभिन्न खेलहरु। प्रज्जवल बोहोराले सञ्चालन गरकाे फनल्याण्डको मुख्य आकर्षणको रुपमा रहेको छ, आइस स्केटिङ।

काठमाडौंको सहरिया जीवनशैलीमा व्यस्त भएका मानिसहरूले फुर्सदको समय बिताउने स्थान बनेको छ, ‘फनल्याण्ड’। करिब दुई महिनाअघि सञ्चालनमा आएको ‘फनल्याण्ड’ मा सात खेलहरु छन्। जसमा बच्चाहरुको लागि समेत सहज हुनेगरी गेमहरु राखिएका छन्।

गेमजोनमा बच्चाको लागि ‘टोडलर’, बनाइएको छ भने आइस स्केटिङ, निञ्जा, ट्रेम्पोलिन, रक क्लामबिङ, बुल राइडिङ, अबस्ट्राकल कोर्स आदि रहेका छन्।

विशेषत मानिसहरु आइस स्केटिङको लागि यहाँ आउने गरेकाे फनल्याण्डकी सुपरभाइजर नेहा कुमारी गिरी बताउँछिन्। ‘फनल्याण्ड नेपालको पहिलाे रियल आइस स्केटिङ गराउने ठाउँ हो। काठमाडौंमा आइस स्केटिङ गराउने अन्य ठाउँ पनि छन् तर रियल आइस स्केटिङ गराउने पहिलो ‘फनल्याण्ड’ हो। जसकारण मानिसहरु यहाँ मुख्यगरी आइस स्केटिङ गर्न आउनुहुन्छ ’, उनले भनिन्।

बिहान १० बजेदेखि खुल्ने ‘फनल्याण्ड’मा सार्वजनिक विदाका दिन अन्य दिनभन्दा भरिभराउ हुन्छ। मानिसहरूकाे रोजाईमा पनि पर्छ, आइस स्केटिङ।

नेहा भन्छिन्, ‘दैनिक सय जना आउनुहुन्छ। शनिबार तथा सार्वजनिक विदाका दिन बढी मानिस हुन्छन्। ग्राहकको सेवा सुविधाको लागि हामीले आफनै ‘फ्रन्टइयर फुड सर्भिस’ पनि खाेलेका छौँ।’

के हो आइस स्केटिङ?

आइस स्केटिङ भनेको धातुको ब्लेड भएको स्केट प्रयोग गरेर बरफको सतहमा गरिने ग्लाइडिङ हो। प्रायः मानिस मनोरञ्जन, व्यायाम तथा प्रतिस्पर्धाका लागि स्केटिङ गर्छन्। जुन प्राकृतिक रुपमा पानी जमाएर बनेको पोखरी, खेला, ताल तथा मानव निर्मित ठाउँहरुमा पनि गर्न सकिन्छ। सर्वप्रथम आइस स्केटिङको सुरुवात भने लगभग ४ हजार वर्षअघि दक्षिण फिनल्याण्डमा भएको थियो।

कति पर्छ टिकटको?

‘सामान्यतया टिकटको हजार रुपैयाँदेखि सुरु हुन्छ। त्यसमा पनि गेमको प्याकेज हेरेर मूल्य रहेको छ। हामीसँग छ प्रकारका गेम प्याकेजहरु छन्। जसको हजार रुपैयाँदेखि लिएर तिन हजारसम्म रहेका छन् भने समयअवधि पनि समेटिएको छ।

सुरुक्षा व्यवस्था के छ?

सुरक्षा व्यवस्थाको लागि आइस स्केटिङ गर्दा लगाउने  हेलमेट, नी क्याप, सर्पोटरको लागि डल्फिन र कोचहरु रहेका छन्। अन्य गेमहरुमा पनि लड्ने तथा चोटपटक लाग्ने सम्भावना भने कम रहेको छ।

प्रकाशित मिति: : 2022-06-16 05:40:00

प्रतिकृया दिनुहोस्