अन्तर्वार्ता

'हामी वैचारिक रुपमा प्रष्ट भएरै एमालेमा बसेका हौँ' (भिडियो अन्तर्वार्ता)

टेकबहादुर बलम्पाकी, ५१, साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य थिए। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता भङ्ग भएपछि उनी कानूनतः एनेकपा (माओवादीकेन्द्र) का केन्द्रीय सदस्य हुन पुगेका छन् तर उनले भने पुरानो पार्टीमा नफर्कने निर्णय गरिसकेका छन्। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेतृत्व गरेको माओवादीको ओली पक्षधर समूहका एक जना केन्द्रीय सदस्य हुन्– बलम्पाकी। उनी रहेको समूहले अब प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) मा रहेर राजनीतिलाई अघि बढाउने योजना बनाएको छ।

निर्मल लामा नेतृत्वको नेकपा (एकताकेन्द्र) बाट राजनीति सुरु गरेका हुन् उनले। लामो समय सो पार्टीनिकट ‘इन्द्रेणी साँस्कृतिक समाज’ को नेतृत्वमा रहे। कलाकारका रुपमा लामो समय काम गरे। पछि संयुक्त जनमोर्चा हुँदै पार्टी एकतापछि नेकपा माओवादीमा पुगेका थिए।०६९ सालमा प्रचण्ड नेतृत्वको माओवादीकेन्द्र फुटेपछि उनी मोहन बैद्य नेतृत्वको समूहमा लागे। बैद्य नेतृत्वको समूह ०७१ सालमा तीन भागमा विभाजित भयो। एउटा समूह ‘बादल’ को नेतृत्वमा प्रचण्ड समूहमा फक्र्यो भने अर्को समूह चाहिँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेकपा बन्यो, बयलकोटी विप्लव समूहको प्रदेश नम्बर २ को इञ्चार्ज भएर पनि काम गरे। 

पछि उनले विप्लव समूह छाडे। माओवादीकेन्द्रको केन्द्रीय सदस्य बने। एमाले र माओवादी केन्द्र एकतापछि सत्तारुढ नेकपाको केन्द्रीय सदस्य थिए। हाल उनी गृहमन्त्री ‘बादल’ निकट मानिन्छन्। सर्वोच्च अदालतको फैसलाअनुसार, एमाले र माओवादी केन्द्र दुई पार्टी अलग भएपछि उनी कानूनी रुपमा स्वतः माओवादीकेन्द्रमा पुगेका छन् तर राजनीतिक हिसाबले उनी एमालेसँग जोडिएका छन्। यसै सन्दर्भमा बलम्पाकीसँग बिएल नेपाली सेवाका लागि दिलिप कुवँरले लिएको अन्तर्वार्ता :

तपाईं त नेकपा (माओवादीकेन्द्र) को केन्द्रीय सदस्य हुनुहुन्थ्यो। सर्वोच्च अदालतको निर्णयले अब फेरि पुरानै पार्टी व्युँतिएको छ। तपाईं त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट मानिनुहुन्थ्यो।  अबको राजनीतिक यात्रा चाहिँ कसरी अघि बढाउनुहुन्छ ? 

सर्वोच्च अदालतको निर्णयले कानुनी मान्यताअनुसार पुरानै दुई पार्टी कायम भयो– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले र नेकपा माओवादी केन्द्र। मेरो पृष्ठभूमि माओवादी केन्द्र भए पनि हाल म प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको लाइनमा उभिएको छु।

ओलीलाई अध्यक्ष स्वीकार गरेर राजनीति अघि बढाउन कत्तिको सहज होला?  

अहिले म नेकपा (एमाले) को लाइनमा छु। हिजो पनि नेकपा माओवादीकेन्द्र र नेकपा एमाले थिए। आज पनि छन्। दुवै पार्टीका आ आफ्ना विचारधारा छन्। त्यसलाई एकताबद्ध गरी अगाडि लैजान, नेपाली जनताको चाहना पूरा गर्न, राजनैतिक स्थायित्व कायम गर्न पार्टी एकता गरिएको थियो। त्यो एकताले निरन्तरता पाउन सकेन। एमालेमा म लगायत अन्य नेताहरुलाई सहजै वातावरण छ।  

गृहमन्त्री ‘बादल’ लगायत अरु माओवादी नेताहरुलाई एमालेलाई स्वीकार्न कत्तिको सकस परेको छ? 

कानूनी रुपमा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नाम नै कायम छ। फेरि तत्कालै नयाँ नाम पनि सम्भव छैन। अहिले पार्टीमा पूर्वमाओवादी मानिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’, म लगायत अन्य नेताहरुलाई पार्टी अध्यक्षको रुपमा केपी शर्मा ओलीलाई स्वीकार गर्न कुनै अप्ठ्यारो छैन। अब ओली नै हाम्रो पार्टी–अध्यक्ष हो। सरकारका प्रधानमन्त्री हो। कम्युनिष्टहरुको पार्टी निर्माणको सिद्धान्त लगभग उस्तै हुन्छ। पार्टीको साङ्गठनिक सेटिङमा फरक पर्नसक्छ। त्यसको बारेमा अहिले छलफल चलिरहेको छ।  

अब सूर्यको चुनाव चिन्ह र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेर अघि बढ्न कुनै कठिनाई छैन ? 

हो। सूर्य चुनाव चिन्ह र जनताको बहुदलीय जनवाद नेकपा एमालेको मार्गदर्शन हो। यसमा शंका गर्नुपर्ने ठाउँ छैन। 

हिजो माओवादी केन्द्रमा हुँदा तपाईंको जुन पद थियो, त्यो पद अब एमालेमा पनि कायमै हुन्छ? 

पदभन्दा पनि ठुलो कुरा पार्टीले दिएको जिम्मेवारी हो। अहिले मलाई पदकोभन्दा पनि पार्टीको आगामी यात्रा र भविष्यबारे बढी चिन्ता छ। देशमा अस्थिर राजनैतिक माहोल बनिरहेको बेला पदको कुरा उठाउन त्यति उपयुक्त पनि होइन्। बिस्तारै स्थायी राजनीतिक वातावरण सुरु भयो भने पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने छु। 

एमाले हुँदा आफू विलिन भएको महसुस त हुँदैन तपाईंहरुलाई? 

कानूनी रुपमा नेकपा एमाले छ। यस विषयमा सर्वोच्चले पनि निर्णय गरिसकेको छ। अब हाम्रो सपना भनेको सबै कम्युनिष्टहरुलाई एकीकृत गरी अघि लैजानु हो। पार्टीको सैद्धान्तिक पक्षलाई मजबुत बनाएर अघि लैजानु हो। हामी कहाँ लाग्दैछौँ, किन लाग्दैछौँ भन्ने कुरामा हामी पहिल्यैदेखि स्पष्ट थियौँ। यसमा बिलीनभन्दा पनि नयाँ साङ्गठनिक सेटिङमा आएको चाहिँ भन्न सकिन्छ। 

तपाईंहरुले हिजोको पार्टी एमाओवादी नरोजेर एमाले नै रोज्नुको कारण चाहिँ के हो? 

हिजो वैचारिक रुपमा पार्टी एकता गरेर ओली र प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी बनाउनुभयो तर उहाँहरुलले पार्टीको सैद्धान्तिक पक्षलाई बलियो बनाउन सक्नुभएन। राजनैतिक स्थायित्वका लागि गरिएको पार्टी एकतामा प्रचण्डले त्यति महत्वपूर्ण भूमिका खेल्न सक्नुभएन। सरकारले आँटेको काममा आन्तरिक रुपमै अन्तर्विरोध सुरु भयो। मलगायत अहिले एमालेमा रहेका पूर्वमाओवादीका साथीहरुलाई लाग्यो– देशले चाहेको स्थायित्व, विकास र समृद्धि केवल प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले मात्र दिन सक्नुहुन्छ। हामी वैचारिक रुपमा प्रष्ट भएरै एमालेमा बसेका हौँ। 

तपाईंले निर्मल लामा, नारायणकाजी श्रेष्ठ, प्रचण्ड, विप्लव र केपी शर्मा ओलीको नेतृत्वका पार्टीमा काम गर्नुभो। यहाँसम्म आउदा नेताहरुको वैचारिक स्पष्टतामा के अन्तर पाउनुभयो?

कम्युनिष्ट पार्टीहरु एकाएक विभाजित हुँदा जनविद्रोह, जनयुद्धको वातावरण सुरु भयो। त्यतिबेला बाटो आ–आफ्नै थियो तर आज पनि त्यति सजिलो वातावरण भने छैन। अहिले त जनमतलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ। फेरि कम्युनिष्टहरुको कार्यदिशा भनेको जनवाद नै हो। यो कुरा प्रचण्डजीलाई पनि मान्य छ र ओलीजीलाई पनि मान्य छ। जनवादमा जनताको कार्यक्रम भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मात्रै छ। यता हेर्छु यही छ, उता हेर्छु यही छ। एकता कायम गरेर अघि बढ्न खोज्दा जब समीकरणको राजनीति सुरु हुन्छ, तब सबै कुरा बिग्रँदै जान्छ। 



दयाहाङ र बुद्धिसँगको भेटपछि फेरिएको विजयको यात्रा [भिडियोवार्ता]



तपाईंले त केही समय ‘विप्लव’ समूहमा पनि प्रदेश २ को इञ्चार्ज भएर पनि गर्नुभयो। विप्लव कस्ता नेता हुन्? 

उहाँ एक इमान्दार नेतृत्व हो। सुझबुझ भएको, बौद्धिक ढंगले देशको विश्लेषण गर्नसक्ने, नेपालका लागि राम्रो अभिलाषा बोक्ने मानिस हुनुहुन्छ  तर उहाँ हिँडेको बाटोमा अब पुग्न सकिन्न भन्ने थाहा पाएपछि उहाँले अहिले स्वीकार गर्दै यहाँसम्म आउनुभयो। 

विप्लवको शान्तिपूर्ण राजनीतिमा प्रवेशले नेपालको वाम राजनीतिमा केही असर पर्ला ? उनी एमालेसँग नजिक होलान् कि माओवादीसँग? 

पछिल्लो समय विश्व राजनीतिमा बुलेटकोभन्दा ब्यालेटको राजनीति बढिरहेको छ। वस्तुगत यथार्थले गर्दा राजनैतिक धार नै अलग तरिकाले बगेको छ। त्यही धारले विप्लवजीलाई पनि यहाँसम्म ल्यायो। उहाँले शसस्त्र विद्रोह गरी जनताको दुःख र सपनालाई मल्हम लगाउने प्रयास गर्नुभएको थियो। उहाँलाई बिस्तारै लाग्न थाल्यो कि समयले समाज र समुदायको धार परिवर्तन गर्छ। त्यस कारण यी सबै कुराहरुमा स्पष्ट भएरै विप्लव शान्तिपूर्ण खुल्ला राजनीतिमा आउनुभयो। यसले नेकपा एमाले र प्रधानमन्त्रीलाई  निकै उत्साहित बनाएको छ।

विप्लव पष चुनावी राजनीतिमा आउने संभावना कत्तिको देख्नुहुन्छ? 

संभावनाभन्दा पनि उहाँ चुनावी राजनीतिमा आउनुपर्छ। शान्तिपूर्ण खुल्ला राजनीतिमा आउनु भनेकै ‘ब्यालेट’ (भोट)को राजनीतिलाई अवलम्बन गर्नु हो। उहाँले खुला रुपमा आएर आफ्नो एजेण्डा राख्नुपर्छ। यसले देशको विकासमा राम्रो नेतृत्व पाउन टेवा दिन्छ।

नेपालमा पछिल्ला समय भएगरेका जति पनि राजनैतिक घटनाहरु थिए, त्यो आवश्यक थियो वा कमजोर नेतृत्वको प्रतिफल हो? 

यो विषयमा नेतृत्व चुकेकै हो। जानी–जानी देशलाई खल्बल्याएर राजनीतिक घटना निम्ताउन कसैलाई रहर हुदैन। 
वास्तवमा नेपालमा कम्युनिष्ट एकताको आवश्यकता थियो। भयो पनि। जनताले खुलेर स्वागत पनि गरे। चुनावमा जिताए पनि। तर, उनीहरुको विश्वास र साथलाई टिकाइरहन नसक्नु नेता तथा नेतृत्वको कमजोरी नै हो। यसले जनतामा दुर्भाग्यपूर्ण समय उत्पन्न गरायो।   

अन्त्यमा, नेपाल कम्युनिष्ट पार्टी एमालेको आगामी यात्रा कस्तो रहला?  

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले शसक्त रुपमा अघि बढ्छ। अहिलेसम्म भए/गरेका गल्ती, कमजोरीहरुलाई मनन गर्दै अघि बढ्छौँ। हतारमा गरिने राजनैतिक निर्णयहरुले देशलाई धरापमा पार्न सक्छ। त्यो कुरामा ध्यान दिएर अघि बढ्छौ। 

पुनःप्रकाशित – सम्पादक

प्रकाशित मिति: : 2021-03-11 20:12:00

प्रतिकृया दिनुहोस्