१२ वर्षदेखि सरिताको पीडा : अपाङ्गता भएकी छोरीको जन्मपछि पारिवारीक यातना 

सरिता सहनीले विवाह गरेको १४ वर्ष पुगेको छ। १९ वर्षमा मोरङको कटहरी गाउँपालिका-४ नयाँ बजारका मनिष सहनीसँग उनको मागी विवाह भएकाे हाे। सरिता अहिले ३३ वर्ष पुगेकी छिन्।

तीन सन्तानकी आमा बनेकी सरिताले पहिलो सन्तानको जन्म भएपछि सुखको अनुभूति गर्न पाएकी छैनन्। जेठी छोरी शारीरिकरुपमा अपाङ्ग जन्मिइन्।

छोरी अपाङ्ग भएपछि उनको जीवनमा ठूलो बज्रपात पर्याे। जेठी छोरी शारीरिकरुपमा अपाङ्ग भएपछि उनलाई घरपरिवारले यातना दिन थाल्यो। सरिताका दिनगन्ती सुरु भए। सासु, ससुरा र श्रीमानले गाली गलौजका साथै उनलाई कुटपिट गर्नसमेत थाले।

अपाङ्गता भएकी छोरीलाई लिएर घरबाट निस्किन उनलाई परिवारले दवाव दिने गरेको उनले सुनाइन्। अपाङ्गता जन्मिएकी छोरी अहिले १२ वर्ष पुगेकी छन्।

सरितको दास्रो सन्तान पनि छोरी नै भइन्। उनी अहिले ९ वर्षकी छन्। तेस्रो सन्तान छोरा ५ वर्ष पुगेका छन्।

जन्मजात अपाङ्गता भएकी छोरीको दुवै हातको कुहिनामुनिको भाग र दुवै खुट्टाको गोलीगाँठादेखि तलको भाग छैन।

जेठी छोरी जन्मिएपछि पति र परिवारका सदस्यले आफूलाई कुटपिट गर्ने र यातना दिने गर्न थालेको सरिताले सुनाइन्। घरपरिवारबाट उनलाई अपाङ्गता भएकी छोरीलाई लिएर घरबाट निस्केर जानसमेत धम्की दिने गरेका छन्। सबै यातना सहे पनि अपाङ्गता भएकी छोरीलाई लिएर कतै जान सकिनन्।

सरिताले वर्षौंदेखि पति र परिवारको कुटपिट सहेर बस्नु परेको छ। श्रीमतीलाई यातना दिने गरेको भन्दै प्रहरीले मनिषलाई पटक-पटक पक्राउ पनि गर्यो। ‘अब त केही गर्दैनन् होला भनेर छुटाएर लग्यो। तर, कहिल्यै सुध्रिनन्,’ सरिताले दुख पोखिन्, ‘उल्टै यातना दिने क्रम बढेर गयो।’

१२ वर्षदेखि चरम हिंसा भोगिरहेको सरिताले बताइन्। कुटपिटबाट अहिले उनी राम्ररी हिँडडुल गर्न र बोल्न पनि सक्ने अवस्था छैनन्। श्रीमानले सधैँ रक्सी खाएर कुटपिट गर्ने गरेको उनले गुनासो गरिन्। परिवारका सदस्यले पनि पति मनिषलाई उक्साएर आफूमाथि आक्रमण गर्न लगाउने गरेको उनले सुनाइन्।

सरिता स्थानीय भगवती आधारभूत विद्यालयको सहायकका रूपमा कार्यरत छन्। आफ्ना छोराछोरीको भविष्य उज्ज्वल बनाउनका लागि भए पनि आफूले काम गर्न नछाडेको उनले बताइन्।

गत असोजमा पतिको कुटाइबाट घाइते भएपछि उनी दुई दिनसम्म अस्पताल बस्नुपर्यो। विराटनगरको कोसी अस्पतालमा भर्ना गरेर उनको उपचार भयो।

रोकिएन कुटपिटको श्रुङ्खला

सरितालाई गत शनिबार राति आफ्नै पतिसहित परिवारका तीन सदस्य मिलेर कुटपिट गरे। कुटपिटबाट घाइते भएकी सरिताले राति ११ बजे भागेर ज्यान बचाइन्।

सरितालाई आफ्नै पति मनिष, देवर अनिष, ससुरा जयनारायण सहनीले कुटपिट गरेको बताइएको छ। सासू फुलियादेवी सहनीले हात समातेर चलमल गर्न नदिएको र अरूले कुटपिट गरेको पाइएको प्रहरीले बताएको छ।

भागेर राति ११ बजे वडाध्यक्ष जीवनेश्वर यादवको घरमा पुगेकी सरितालाई वडाध्यक्षकै घरमा पनि पति मनिषले कुटपिट गरे। आफ्नै सामु श्रीमती कुटपिट गरेपछि वडाध्यक्षले प्रहरी बोलाएर सरिताका पति र देवरलाई जिम्मा लगाए।

आफूले पटक-पटक सम्झाउँदा पनि कुटपिट गरेपछि प्रहरीलाई खबर गरेको यादवले बताए। ‘रातको समयमा हारगुहार गर्दै महिला मेरो घरमा आइपुगिन्,’ उनले भने, ‘मदिराको नशामा रहेका मनिषले घरमा मेरैअगाडि पनि कुटपिट गरेपछि प्रहरीको जिम्मा लगाएँ।’

श्रीमान, देवर र ससुराको कुटपिटबाट सरिता सहनीको अनुहार, टाउको, हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। काम गर्न र बोल्न पनि आफूलाई असहज भइरहेको सरिताले बताइन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार महिलामाथि कुटपिट गर्ने पतिसहित परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। 

प्रकाशित मिति: : 2022-07-04 15:29:00

प्रतिकृया दिनुहोस्