स्वास्थ्य समस्याका कारण पातरासी हिमाल हाँसेजस्ता छैनन् चाैधबीसवासी

Breaknlinks
Breaknlinks

स्थानीय तहकाे निर्वाचन सम्पन्न भए पश्चात् जनप्रतिनिधिलाई नयाँ याेजनासहित प्रभावकारी काम गर्ने जाेस् चलेकाे छ। नवनिर्वाचित जनप्रतिनिधिकाे याे जाेसले जनता प्रत्यक्ष रुपमा लाभान्वित भइरहेका छन्।

पछिल्लो समय विभिन्न पालिकामा सञ्चालन भएका स्वास्थ्य शिविरबाट जनता उपचारकाे पहुँचमा पुगेका छन्। जुम्लाको पातरासी गाउँपालिका पनि जनतालाई सेवा दिने म्याराथनमा सामेल छ। यहाँका अध्यक्ष छन्, पूर्णसिंह बाेहाेरा।

गएकाे शुक्रबार र शनिबार दुई दिन पालिकाकाे वडा नम्बर १, २ र ३ का जनतालाई लक्षित गरेर संचालन गरिएकाे स्वास्थ्य शिविरबारे धेरै जनताले सूचना पाएका थिएनन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सककाे टाेली सरस्वती माध्यमिक विद्यालय तल्फीमा पुगिसकेको थियाे। तर, कयाैं दिनदेखि राेग पालेर बसेका जनताले डाक्टर आउँदैछन् भनेर थाहा पाए पनि कहिले आउने हुन भन्नेमा अलमलै थियाे।

प्रचारप्रसारकाे जिम्मा लिएकाे स्वास्थ्य शाखाकाे काम प्रभावकारी नदेखिएपछि पालिका अध्यक्ष बाेहाेरा एक छिन अलमलिए। तत्काल उनी आफैं तल्फी, पेरे र छुमचाैर पुगे। त्यहाँका नागरिकलाई डाक्टर आएकाे खबर सुनाए। धाेव, स्याला गडीगाउँ, हुरी र माेहरी गाउँमा खबर पठाए।

सुरुमा एक/दुई जना आएर नाम  लेखाए। विस्तारै एक–एक गरी बिरामी थपिए। गर्भवती महिलालाई स्ट्रेचरमा राखेर शिविर बसेकाे ठाउँ पुर्‍याइयाे। बिरामी नआएर स्वास्थ्य शिविर सार्नुपर्छ कि भन्ने साेचमा पुगेका अध्यक्षकाे अनुहार विस्तारै उज्यालिँदै गयाे। उनी खुसी देखिए। स्कुलकाे चाैरभरि बिरामी आए। उपचार पाउने आश मानेका बिरामी त्यसै निका भए।

'एकहप्ता अगाडि पालिकालाई पूर्ण खाेप घाेषणा गर्ने दिन शिविर संचालन गर्ने जानकारी दिइएकाे थियाे,' उनले भने, 'त्याे बाहेक प्रभावकारी संचार नहुँदा जनताले थाहा पाएनन्। अस्पतालदेखि टाढा भएका मान्छे त त्यसै पनि स्वास्थ्य शिविरमा आफ्नाे स्वास्थ्य जचाउन आउँछन् नै।'

अध्यक्ष बाेहाेराले भने अनुसार नै शिविरमा स्वास्थ्य जाँच गराउनेकाे संख्या बढिरहेकाे थियाे। मलिन अनुहार लिएर आउनेहरुलाई डाक्टरकाे छुवाइले चंगा बनाउँथ्याे, सायद। फर्किँदा उनीहरु एकदमै खुसी देखिन्थे।

शिविरका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानले प्राविधिक सहयोग गरेकाे डाइरेक्टर पुजनकुमार राेकायाले बताए।

'सर्जरीकाे डा. सूर्यमान लिम्बू, जेनेरल प्राक्टिसकाे डा. वेदकुमार चाैधरी र प्रशंसा ताम्राकार, बाल राेगमा डा. मुन्ना केसरी लगायत स्वास्थ्यकर्मीकाे टाेली छाैं,' उनले भने, 'हाडजोर्नीकाे म आफैं छु। पाेषणकाे दुईजना र प्रशासनबाट दुई जनाकाे टाेली शिविरकाे लागि खटिएकाे छ।'

गाउँपालिकाकाे आयाेजनामा संचालान भएकाे विशेषज्ञ घुम्ती शिविरमा भिडियाे एक्सरे लगायतका सुविधा उपलब्ध गराइउँदा धेरैले लाभ लिन पाए।

पातरासी- २ खालडिककी छाेडेल लामा, ६१ वर्षकी भइन्। उनलाई सास फेर्न गाह्रो हुन्छ। कहिलेकाहीँ टाउकाे पनि दुख्छ। शिविर बसेकाे थाहा पाएपछि उनी सास फुलाउँदै आएर डाक्टरलाई आफ्ना समस्या सुनाइन्। डाक्टरले उनलाई औषधि दिए। नियमित जेक/जाँच गराउन र औषधि सेवन गरिरहनु भने।

औषधि पाएपछि खुसी भएकी उनले भनिन्,'घरैअगाडि डाक्टर आउनुभयाे। खुसी लाग्याे। चिसाे नगर्नु भन्नु भएकाे छ। औषधि खाइराख्नु र बजार आएपछि भेट्नु भन्नुभएको छ। अलि सन्चाे भयाे भने अस्पताल जान्छु।'

अघिपछि गाउँमा डाक्टर आउने कुरै भएन। गाउँका मान्छेलाई घरधन्दा गर्दा गर्दै अस्पताल जाने फुर्सद मिल्दैन। सानाेतिनाे बिमार त खटाएरै काम गर्छन्। अन्तिम अवस्थामा अस्पताल पुग्दा समय गुज्रिसकेकाे हुन्छ। त्यसैले गाउँमै डाक्टर ल्याएर उपचार गराउन सकेकाे खण्डमा जनताकाे स्वास्थ्यमा पहुँच पुग्ने अध्यक्ष बाेहाेराले बताए।

'अब वर्षमा दुई पटक सबै जनताकाे स्वास्थ्य जाँच विशेषज्ञ डाक्टर ल्याएरै गर्ने हाे। अरु बेला हाम्रो स्वास्थ्य शाखालाई क्रियाशील बनाएर सेवा दिने साेचेका छाैं,' उनले भने, 'हामी शिक्षा र स्वास्थ्यमा साह्रै पछि पर्‍यौं। यति सुधार गरेकाे खण्डमा चाैधबीस धेरै अगाडि जान्छ।'

गाउँपालिकाले संचालन गरेकाे स्वास्थ्य शिविरमा आएका हस्तबहादुर बाेहाेरा आफ्नाे एकिन उमेर थाहा नपाउने भएपनि वृद्ध भत्ता खान्छन्। उनी वडा नम्बर तीन छुमचाैरका हुन।

'खाली चक्कर लाग्ने समस्या छियाे हजुर। डाक्टर सापले बजार अस्पताल आएनु अरु चेकजाँच गरुला भन्नुभएको छ,' उनले भने, 'अहिले औषधि दिनुभएको छ। त्यही खाइकन बीसकाे एक्काइस भयाे भने पनि अस्पताल जान्छु। नभया त झुन जानुपडिगाे।'

पातरासी दुई पेरेकी धनसरी कामी ५० वर्षकी भइन्। तर, हेर्दा उनी ६० नागेकी जस्ती देखिन्छन्। जिउ दुख्ने, ढाड, कम्मर दुख्ने समस्या लिएर आएकी उनी हालसम्म अस्पताल गएकी छैनन्।

'घरै जडिबुटीकाे ओक्ताेमुलाेले काम चलायाैं। डाक्टर सापका त कुडा सुन्यापछि पनि सन्चाे भयाजस्ताे हुन्या रहेछ,' उनले भनिन्, 'गाउँका कयौं मान्ठले घरखेत बेचिकन उपचार गरायाका छन्। हाम्रा त घरैति डाक्टर आएर उपचार गर्दिया। खुसी खाेज्न अन्त जानै पड्याेन।'

६० वर्षकी माग्ली बुढालाई रागनकाे समस्या छ। उनलाई हिँड्न गाह्रो हुन्छ। अस्पताल कहिले नगएकी उनी पनि जडीबुटीकै भर परिन्। सबै दुखिबिमारकाे उस्तै उपचार गरिँदा केहीलाई निकाे भएपनि धरैलाई त्यसले काम नगर्ने डा. सूर्यमान लिम्बूले बताए।

'अहिलाई औषधि चलाएका छाैं। उहाँलाई अस्पतालमा लिएर थप चेक/जाँच गराउनुपर्नेछ,' उनले भने, 'रगत जाँच गर्नुपर्छ। त्यसपछि थप औषधि चलाउने हाे।'

छाेरीकाे कान पाकेर पीप बग्ने समस्या लिएर आएकी ३० वर्षकी माया बुढाकाे आफ्नाे भने सेताे पानी बग्ने समस्या छ। सेतै फुलेकी सुकिली बुढाकाे टाउकाे दुख्छ। १२ वर्षका सविन बाेहाेराकाे शरीर चिलाउँछ। १६ वर्षकी पविता बुढालाई डाक्टरले एकपटक भिडियो एक्सरे गराउन भनेका छन्।

बालीगाड दह र पातरासी हिमाल हाँसिरहेकाे ठाउँका जनता भने राेगले सताइरहने हुँदा सधैभरि हाँस्न पाउँदैनन्। जब डाक्टर पुग्छन् तब स्वास्थ्य समस्या लिएर टुप्लक्क आइपुग्छन्। जसकाे उपचार हुन्छ ऊ संसारकै खसी जस्ताे भएर घर जान्छ। जसलाई ढिलाे भइसकेकाे हुन्छ निराश हुन्छ। घरकालाई नियमित स्वास्थ्य जचाउने सल्लाह दिनु बाहेक विकल्प नभएकाे राजनीतिकर्मी छायाँ बाहाेराले बताए।

गाउँपालिका अध्यक्ष बाेहाेराले पहिलो पटक नागरिककाे स्वास्थ्यबारे चिन्ता गरी गाउँमै शिविर राखिदिएपछि दुई दिनकाे अवधिमा ७ सय ६७ जनाले लाभ लिए।

शिविरमा झाडा पखालाका बिरामी बढी देखिए। बारीमा फलेका खुर्पानी, आरु लगायतका फलफूल नपखाली अत्यधिक मात्रामा खानाले समस्या आएकाे डा. लिम्बूले बताए।

त्यसबाहेक आँखा र कानका बिरामी बढी समस्या देखियाे।

'यस्ता खाले स्वास्थ्य समस्याका लागि छुट्टै याेजना बनाइ शिविर संचालन गर्नुपर्छ,' डाइरेक्टर पुजनले भने, 'महिलाहरुमा सेताेपानी बग्ने समस्या बढी देखियाे। यहाँका धेरैजसाे महिलाले पाठेघरकाे अप्रेसन नै गरिसकेको पाइयाे।'

बजार आएपछि महिलाकाे याैनीबाट सेताे पानी बग्ने समस्या कसरी समाधान गर्ने भनेर स्त्रीरोग विशेषज्ञ डा. राजीव शाहलाई साेधेका थियौं।

उनले मुख्य गरी दुईवटा कारणले सेताे पानी बग्ने समस्या आउने गरेकाे बताए। 'यसका विभिन्न कारणहरु छन्। त्यसमध्ये पहिलाे चाहिँ सरसफाइमा ध्यान दिइएन भने इन्फेक्सन भएर समस्या आउँछ भने दाेस्राे याैन सम्पर्कबाट,' उनले भने, 'इन्फेक्सनका कारणले समस्या आएमा याैनीलाई नियमित रुपमा सफा राख्नुपर्छ भने असुरक्षित याैन सम्पर्कका कारणबाट समस्या आए श्रीमान र श्रीमती दुबैलाई औषधि चलाउनुपर्ने हुन्छ।'

विविध खालका स्वास्थ्य समस्याले ग्रस्त चाैधबीस क्षेत्रकाे पातरासी गाउँपालिकाका जनताकाे लागि विभिन्न समयमा स्वास्थ शिविरका संचालन गर्ने र कम आम्दानी हुने नागरिककाे नि:शुल्क स्वास्थ्य बीमा गरेर उपचार पहुँच पुर्‍याउने तयारी गरेकाे अध्यक्ष बाेहाेराले बताए।

प्रकाशित मिति: : 2022-07-04 20:05:00

प्रतिकृया दिनुहोस्