निर्वाचन विशेष

आज आमनिर्वाचन: संसद छिर्न चाहनेहरूको अग्निपरीक्षा

BreaknLinks
BreaknLinks

आज (आइतबार) बिहान ७ बजेदेखि प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

देशभरका मतदाताले आफ्ना प्रतिनिधि छान्दैछन् । देशभर एकै चरणमा भइरहेको यो निर्वाचन आउँदो चार वर्षका लागि योग्य प्रतिनिधि छान्ने अवसर भएकाले धेरै अर्थमा महत्वपूर्ण रहेको छ ।

निर्वाचनमा देशभरका एक करोड ७९ लाख ८८ हजार पाँचसय ७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् ।


प्रत्यक्षतर्फ दुईहजार चारसय उम्मेद्वार प्रतिस्पर्धामा

निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

आजकाे निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कुल ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

मतदानका लागि के लिएर जाने ?

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ। मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रलगायत परिचय खुल्ने प्रमाणपत्रको सक्कलप्रति देखाएर मतदान गर्न सक्ने आयोगले जनाएकाे छ।

सुरक्षाकाे लागि ३ लाख सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाको लागि देशभर कुल २ लाख ९८ हजार ५ सय ७९ जना सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जनाएको छ। जसमा ७४ हजार ८ सय ४९ नेपाली सेना, ७१ हजार ६ सय ९३ नेपाल प्रहरी, ३५ हजार १ सय १७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख १५ हजार म्यादी प्रहरी छन्।

निर्वाचन सुरक्षाका लागि हेलिकप्टर परिचालन

गृह मन्त्रालयले मतदानको दिन हुने सक्ने घटना तथा आपतकालीन अवस्थामा प्रयाेगकाे लागि ४ स्थानमा नेपाली सेनाका हेलिकप्टरहरू तयारी अवस्थामा राखेको छ। सो हेलिकप्टरहरू निरन्तर गस्ती गर्ने छन्। र, अवश्यकताअनुसार निजी क्षेत्रका हेलिकप्टरलाई समेत परिचालन गरिने मन्त्रालयले जनाएको छ।

सुरक्षा चुनौती

नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा बहुमतलगायतका दलहरूले निर्वाचन बहिस्कार गर्न आह्वान गरेकाले सरकारले उनीहरूलाई निर्वाचन सुरक्षाकाे मुख्य चुनाैतीका रूपमा लिएकाे छ।

उनीहरू देशका विभिन्न स्थानमा विस्फाेटक पदार्थहरू राखेर जनतालाई आतंकित बनाउने र निर्वाचन बिथाेल्ने गतिविधिहरू गर्दै आएका छन्।

मन्त्रालयले बम विफाेस्टका घटनाहरू बढ्न थालेपछि ९ सय ३ वटा सेनाकाे बम डिस्पाेजल टाेली परिचालन गरेकाे छ।

इजाजतप्राप्त हतियार संकलन

मन्त्रालयले निर्वाचनको समयमा साना हातहतियारको दुरूपयोग गरी सुरक्षामा चुनौती उत्पन्न गर्न सक्ने र जोखिम हुन सक्ने भएकोले जिल्ला प्रशासन कार्यालयमार्फत देशभरबाट इजाजतपत्र प्राप्त वैध १ हजार ८ सय ५४ थान र अवैध १ सय ७१ थान गरी कुल जम्मा २ हजार २५ थान हातहतियारहरू संकलन गरेकाे छ।

प्रतिनिधिसभाका आफैंलाई भोट हाल्न नपाउने उम्मेद्वारहरू

एक मतले समेत जित/हार हुने आम चुनावमा केही उम्मेदवारले भने आफैंलाई मत दिन नपाउने भएका छन्। मतदाता नामावली भएकाे क्षेत्र र आफू उठेको क्षेत्र फरक भएकाले केही उमेदवारहरू आफैंलाई भाेट गर्न बञ्चित भएका हुन्।

झापा–५ मा उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीकाे मतदाता नामावली भक्तपुर–२ मा रहेकाले उनले आफैंलाई मतदान गर्न नपाउने भएका छन्। एमाले नेता अग्नि खरेलले पनि आफूलाई मत गर्न पाउने छैनन्। झापा–१ मा उम्मेदवार रहेका उनको नामावली भने झापा–२ मा रहेको छ।

मतदाता नामावली चितवन–३ भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट उम्मेदवारी दिएका छन्। उनले पनि आफैंलाई मतदान गर्न नपाउने भएका छन्।

त्यस्तै माओवादीका बाग्लुङ–२ बाट उम्मेदवार भनेका बाग्लुङ–१ मा नामावली भएका देवेन्द्र पौडेल, रोल्पामा मतदाता नामावली भएकी काठमाडौं–२ कि उम्मेदवार एवम् पूर्व सभामुख ओनसरी घर्ती, धादिङ–१ मा मतदाता नामावली भएकी काठमाडौं–९ कि उम्मेदवार कल्पना धमलाले पनि आफूलाई मतदान गर्न पाउँदैनन्।

नेपाली कांग्रेसका मोरङ–४ मा मतदाता नामावली भएका मोरङ–६ का उम्मेदवार नेता शेखर कोइराला, झापा–३ बाट उम्मेदवार रहेका झापा–१ मा मतदाता नामावली भएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, मकवानपुर–१ बाट उम्मेदवार बनेकी मकवानपुर–२ मा मतदाता नामावली भएकी महालक्ष्मी उपाध्यक्ष (डिना), सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनेका सिन्धुपाल्चोक–१ मा नामावली भएका मोहन बस्नेत, काठमाडौं–५ बाट उम्मेदवारी दिएका तनहुँ–२ मा नामावली भएका प्रदीप पौडेलले आफैंलाई मतदान गर्न पाउँदैनन्।

त्यस्तै काठमाडौं–६ मा नामावली भएका चितवन–२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, एकीकृत समाजवादीका मकवानपुर–२ का उम्मेदवार नेता विरोध खतिवडा, जनता समाजवादीका सप्तरी–२ का उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका महोत्तरी–३ बाट उम्मेदवारी दिएका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका बाग्लुङ–१ का उम्मेदवार चित्रबहादुर केसीले आफूलाई मतदान गर्न पाउँदैनन्।

खतिवडाकाे नामावली मकवानपुर–१, यावदको मोरङ–५, ठाकुरको नामावली सर्लाही–१ र केसीकाे मतदाता नामावली रूपन्देहीमा छ।

प्रकाशित मिति: : 2022-11-20 06:45:00

प्रतिकृया दिनुहोस्