मलेसियामा एक दशक मजदुरी गरेका कृष्ण पीडित श्रमिकको सारथी बन्दै

डिल्ली पाण्डे

जोहोर (मलेसिया)

१० वर्षअघि सामान्य श्रमिक बनेर मलेसिया पुगेका पाल्पाका कृष्ण नेपाल अहिले व्यापारी हुँदै गैरआवसीय नेपाली संघ (एनआरएनए) मलेसियाको महत्वपूर्ण भूमिकामा छन्।

एक दशकसम्म आफैं मजदुर भएर काम गरेका कृष्ण मलेसियाबारे राम्रै जान्ने र बुझ्ने भएका छन्। मलेससियाको जोहोर राज्यमा व्यवसाय गरिरहेका कृष्ण एनआरएनए मलेसियाका कोषअध्यक्ष हुन्।

कोरोना महामारीमा उनले गरेको कामलाई मलेससिया मात्र हाेइन उनलाई चिन्ने सबैले प्रसंसा गरेका छन्। कोरोना महामारीमा कोही पनि बाहिर निस्कने अवस्था थिएन तर कृष्ण भने आफ्नो ज्यानको बाजी राख्दै आवश्यक सामाग्री बोकेर लेबर (कामदार) क्याम्प धाउनमै व्यस्त थिए।

‘१० वर्षसम्म मैले गरेको काम र मेहनतको प्रतिफल पाएर नेपाल फर्किर्नु परेन, संघर्षको फल पाइयो,’ गएको साता बिएल नेपाली सेवासँग कुष्णले भने।

एनआरएनएमा लागेर नेपाली श्रमीकको सेवा गर्न पाउँदा आफूलाई निकै आनन्द आएको कृष्ण बताउँछन्। ‘म पनि हिजो श्रमिक नै थिएँ, श्रमिकको पीडा कस्तो हुन्छ भन्ने कुरा राम्रोसँग बुझेको छु, म जस्तो अरुले दु:ख नपाओस् र त्यसरी दु:खमा परेकालाई मद्दत गर्न मन लागेर यो संस्थासँग जोडिएको हुँ,’ कृष्णले भने।

एनआरएनए अन्तर्गत नै कृष्ण कोरोना कालमा धेरै नेपालीको साहरा बने। भोकालाई क्याम्पमै गएर खाना दिए, औषधि नपाएर छटपटाएकालाई औषधि दिए, नेपाल आउन खोज्नेलाई नेपाल पठाउन मद्दत गरे। त्यसैले पनि कृष्णको योगदानलाई एनआरएनए मलेसियाले उच्चस्थानमा राखेको छ।

‘कोरोना कालमा खान नपाएकालाई खान दिने, भ्याक्सिन नपाएका नेपालीलाई भ्याक्सिन लगाएर नेपाल पठाउने, जेल जीवन बितारहेका नेपालीहरुलाई जेलबाट निकाल्ने र नेपाल पठाउने लगायका विभिन्न समाज सेवा गरिरहेको छु,’ कृष्णले भने।

‘मलेसियामा काम नपाएर बिचल्लीमा परेका श्रमिक नेपालीलाई सक्ने सहयोग गरेका छौँ। हाम्रो मुख्य काम भनेको समस्यामा रहेका नेपालीको सेवा नै हो, हामी त्यहीअनुसार अघि बढिरहेका छौं,’ कृष्णले थपे।

प्रकाशित मिति: : 2022-07-22 22:35:00

प्रतिकृया दिनुहोस्