रवि लामिछानेको देश दौडाहा : पार्टीका कुरा कम, अन्य नेताकाे आलाेचना ज्यादा

भर्खर मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले देश दौडाहामा छन्। जिल्ला–जिल्लामा भेला गर्दै उनले पार्टीका कुरा जनतामाझ भनिरहेका छन्।

यही क्रममा बिहीबार साँझ दाङको तुलसीपुर हुँदै घोराही आइपुगेका रवि लामिछाने शुक्रबार भएको जिल्ला भेलामा सहभागी थिए। भेलाका मुख्यवक्ता त हुने नै भए। पार्टीका प्रवक्ता डा. मुकुट ढकालसहित लामिछाने कार्यक्रममा उपस्थित थिए।

घोराहीको होटल मालाइनको हलमा भएको कार्यक्रममा सहभागीको राम्रै उपस्थिति थियो। सहभागीहरुमाझ आफ्नो कुरा लामिछानेले करिब १५ मिनेट जतिमा सुनाउन भ्याए। १५ मिनेटको बिचमा उनले आफ्नो पार्टीको कुरा कम अन्य पार्टी र नेताका कुरा धेरै गरे।

उनले यसअघि सत्तामा पुगेका नेताहरुले देश बनाउने भन्दा देश बिगार्ने काम गरेको आरोप लगाए। बितेको ३०–४० वर्षमा पार्टीहरुले आफ्नो र आफन्तको भलो हुने काम मात्र गरेको र नागरिकको पीडा भने अहिले पनि ज्युँका न्युँ रहेको भनाइ राखे।

आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै सिद्धान्त, विचार नरहेको भन्दै ५–६ वर्षसम्म नागरिकका दुःख सुनेको र त्यही दुःख नै आफ्नो सिद्धान्त विचार भएको बताए। ‘मैले ५–६ वर्षमा नागरिकका कुरा सुन्दा जुन–जुन कुरामा अप्ठ्याराे पर्‍याे भन्नुभयो, त्यही नै हाम्रो मुल मुद्धा हो, मेरो विचार यही हो। मेरो सिद्धान्त यही हो। यो मुद्धाबाट हिजो पनि विचलित भएन। आज पनि विचलित भएको छैन,’ लामिछानेले भने।

यदि कसैलाई आफ्नो यो एजेण्डा मन पर्दैन भने अरु पार्टीका बान्की मिलाएर लेखेको घोषणा पत्र पढ्न उनले आग्रह गरे। ‘मेरा विचार, मेरो सिद्धान्त जे भने पनि जनताकाले पाएको दुःख हो,’ उनले भने, ‘यदि यो मुद्धा मन पर्दैन भने बजारमा ठुला भनिएका पार्टीका बान्की मिलाएर लेखिएका घोषणा पत्र पाइन्छन। त्यही पढ्नुहोला।’

उनले आफ्नो पार्टीको बारेमा यति मात्र भनेका थिए। आफूले ५–६ वर्षमा नागरिकको आँसु देखेको, दुःख देखेको र त्यही दुःखहरुको अन्त्य गर्ने काम आफ्नो पार्टीले गर्ने उनको भनाइ थियो। यो भनाइबाहेक लामिछानेले बाँकी समय अन्य पार्टी र नेताहरुको आलोचना गर्नमै सके।

उनले नेताहरु खुट्टा मर्कियो भने पनि विदेशमा उपचार गर्न जाने, छोरोछोरी विदेशी स्कुलमा पढाउने, तर नेपालीलेले बाटैमा बच्चा जन्माउनुपर्ने, स्कुल पढ्न नपाउने अवस्था रहेको बताए। उनले राजनीतिक दलहरु आफ्नो पद बचाउनका लागि जस्तो अवस्थमा मिल्ने गरेको बताए।

तर, नेताहरु विकासका योजना बनाउन कहिल्यै नमिल्ने जिकिर गरे। आजसम्म अन्य पार्टीहरुले केही गर्न नसको र अबको मंसिर ४ पछि नेपालीको भाग्य फेरिने उनको दाबी छ। मंसिर ४ गते हुने निर्वाचनपछि आफूहरु संसदमा पुग्ने र त्यसका लागि नेपालीले स्वतन्त्र पार्टीका उम्मेदवरलाई जिताउन विश्वास लिएको भनाइ राखे।

प्रकाशित मिति: : 2022-08-05 16:58:00

प्रतिकृया दिनुहोस्