अब जुम्ला सदनमा सुत्दैन, बोल्ने पनि गर्छ– ज्ञानेन्द्र शाही (भिडियाेसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा सदस्यका लागि जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। शाहीले सोमबार काठमाडौँको नयाँ बानेश्वरस्थित अपर्ण व्याङ्केटमा आयोजित कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेका हुन्।

‘आफ्नो जन्मभूमिको दुधको भारा तिर्न र मलाई जन्माउने आमा र हुर्काउने जन्मभूमिको भारा तिर्न म जुम्लाबाट उम्मेदवारी घोषणा गर्दछु,’ शाहीले उम्मेदवारी घोषणा गर्दै भने,‘मलाई जिताउने वा हराउने मेरा दाजु–भाइका हातमा छ।’

उनले कार्यक्रममा बोल्दै जुम्ला स्रोत र साधनले भरिपूर्ण भएपनि गलत नेतृत्वका कारण पछाडि परेका बताए। संसारले विकट भनेर चिन्ने  म्लाले अब देशको नेतृत्व गर्नको लागि आफ्नो उम्मेवारी रहेकाे उनको भनाइ थियाे।

‘मेरो उम्मेदवारी देशको नेतृत्वको लागि हो, जुम्लालाई देशको अर्थतन्त्रमा सहभागी गराउनको लागि हो। मेरो उम्मेदवारी न काँग्रेसविरुद्ध हो न माओवादीविरुद्ध हो, मेरो उम्मेदवारी जुम्लालाई स्वीटजरल्याण्ड बनाउनको लागि हो,’ शाहीले भने।

उनले जुम्लाका प्रतिनिधिले नेतृत्व गर्न नसकेको र सदनमा बोल्न पनि नसकेको बताउँदै भने,‘अब जुम्ला सदनमा सुत्दैन बोल्छ, अब जुम्लाबाट घाम अस्ताउँदैन उदाउँछ।’

उनको उम्मदेवारी घोषणा कार्यक्रममा सहभागी हुन जुम्लाबाट विभिन्न नेताहरु आएका थिए भने पार्टी नेता कार्यकर्ताको पनि सहभागीता रहेको थियो।

प्रकाशित मिति: : 2022-08-08 15:57:00

प्रतिकृया दिनुहोस्