उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍याे: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको बताएका छन्।

पार्टीको तीनदिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आएका ज्ञवालीले इलाममा वियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रहेछ भन्ने प्रमाणित भएको बताएका हुन्।

उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरु र राजा ल्याउँछौँ भन्नेहरुको अवस्था पनि थाहा भएको बताए।

'इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउँछौँ भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्', ज्ञवालीले भने।

उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा औँला डुबाएर परीक्षण गर्दा थाहा हुने बताउँदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे।

कार्यकर्ताहरुमाझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनुपर्ने धारणा राखे।

नेता ज्ञवालीले एमालेलाई चुम्बक जस्तो बनाउने बताउँदै 'जसका वरिपरि सबै सक्कली कम्युनिष्टहरु, सक्कली देशभक्तहरु टाँसिन आउने' बताए।

प्रकाशित मिति: : 2024-05-01 13:45:00

प्रतिकृया दिनुहोस्