डोल्पाको बैजीबारामा १२औं बाघ वर्ष महोत्सव हुँदै, बोन धर्मका विश्वकै दोस्रो धर्मगुरु सहभागी हुने (भिडियोसहित)

डोल्पाको काइके गाउँपालिका– ५ बैजीबारामा भदौ २५ गते पूर्णिमाकाे दिन १२औँ बाघ वर्ष महोत्सव हुँदैछ। काइके गाउँपालिका वडा नम्बर ५ मा रहेको लामा मेला तीर्थस्थलमा महोत्सव हुन लागेको हो।

सेतेन युङडुङ श्यूछाल गुम्बा र नेछेन रिवो वाल्भार युवा क्लबको आयोजनामा महोत्सव हुने लागेको हो। कार्यक्रममा विषेश अतिथिका रुपमा बोन धर्मका विश्वभरिकै दोस्रो ठुलो लामा मेन्री पोन्लोप रिम्पोछे, बाल्ले टुक्कु रिम्पाछे, प्रमुख अतिथिमा पूर्व मन्त्री एवम् सांसद धनबहादुर बुढा, डोल्पास्थित विभिन्न राजनीतिक दलका प्रमुख नेताहरु, लामाहरु तथा विदेशी पर्यटकको सहभागिता रहने आयोजक छेतेन युङडुङ श्यूछाल गुम्वाका खेम्पो घेसे निमा कुन्क्याप रोकायाले बताए।

उनकाअनुसार भदौ १६ गतेदेखि २४ गतेसम्म मेन्डुप पूजा हुनेछ। त्यसैगरी भदौ २४ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म ढुटिसुको प्रवचन र वाङ हुनेछ। त्यसैगरी भदौ २५ गते बिहान ८ बजेदेखि नेछे वाल्भरको कोरा गर्ने र फुग्मोछेमा भेला भई साङसोल र गोङ्च्योद नाङचुम पढ्ने।

त्यसैगरी छागछल खाङमा स्थापित लामा मेल्हा स्मरण र ताक्ला स्तुपाको उद्घाटन र कारुढुब वाङको गुप्तगण पूजा गर्ने कार्यक्रम रहेको घेसे निमा कुन्क्यापले बताए। त्यसैगरी भदौ २६ गते बिहानदेखि बेलुकीसम्म युङडुङ श्युछाल गुम्बामा लामा नाच तथा सांस्कृतिक कार्यक्रम गरिने आयोजक संस्थाले जनाएको छ।

१३औँ शताब्दीमा तिब्बतबाट आएर बोन धर्मका लामा मेल्हाले बैजीबारास्थित तीर्थस्थलमा तपस्या गरेका थिए। उनले तपस्या गरेर शक्ति प्राप्त गरेको स्थानलाई बैजीबाराबासी तथा बोन धर्मावलम्बीले तीर्थका रुपमा मान्दै आएका छन्।

लामा मेल्हाको तपस्या गरेको स्थानमा प्रत्येक वर्षको भदौ पूर्णिमाका दिन विषेश पूजाआजा गर्ने गरिन्छ। त्यसैगरी यो वर्ष बाघ वर्ष सुरु भएको उपलक्षमा उक्त स्थानमा १२औँ वर्षे मेला लाग्न थालेको हो।

मेलामा सहभागी हुन विदेशी तथा स्वदेशी पर्यटक आउने तय भएको आयोजक सस्थाले जनाएका छन्।

प्रकाशित मिति: : 2022-08-09 19:10:00

प्रतिकृया दिनुहोस्