घरबेटीकाे ठगी धन्दा, कहिले हाेला बन्द ?

उमेश थापा

काठमाडौं

काठमाडौँ उपत्यकाभित्र मात्रै पाँच लाखभन्दा बढी घरहरु छन्। काठमाडौँमा एउटै व्यक्तिको नौ वटासम्म घर रहेको पाइन्छ। यहाँ घर हुने मानिसहरु घरभाडामा लगाउँछन् र डेरावाललाई केही सेवा सुविधा दिँदैनन्।

घर भएका मानिसहरु काम नै नगरी घर बनाउँदै महंगो भाडामा लगाउँदै बस्छन् तर डेरावाललाई सेवा सुविधा दिनुपर्‍याे भने घरबाट नै निस्किएर जानु भन्छन्।

काठमाडौँका ठाउँ र कोठा हेरेर घरधनीले कोठाको मनपरी मूल्य निर्धारण गरेको हुन्छ। यहाँ एउटा सानो तथा दुलो जत्रो कोठाको ६ देखि ७ हजार पर्छ। यसरी एउटा खाट पनि नअट्ने कोठाको यति धेरै भाडा लिएर घरधनीहरुले डेरावालहरुको ढाड सेकाइरहेका छन्।

घरधनीहरु आफू एउटा फल्याटमा बस्छन् भने बाँकी भएको सबै कोठा महंगो भाडामा लगाउँछन्। घरमा भएका सबै कोठाहरु भाडामा लगाउँछन्, अनि डेरावाललाई पानी र बिजुली पनि दिदैँनन्। दिए पनि चलाएकोभन्दा दोब्बर शुल्क दिने उठाउने गर्छन्।

यहाँ मानिसहरु आफ्नो आवश्यकता परिपूर्ति गर्नका लागि ७७ वटै जिल्लाबाट आउने गर्छन्। काठमाडौँमा विद्यार्थीदेखि बुढाबुढीहरु सेवा सुविधाको खोजीमा गाउँबाट आउने गर्छन्। तर, यसरी गाउँदेखि आएका मानिसहरुलाई यहाँका घरधनीहरुले महंगो भाडा लिएर ठगिरहेका छन्।

यता घरधनी र उता महंगीका कारण अहिले सर्वसाधारण जनताहरु मारमा परेका छन्। घरधनीहरु पानी चुहिने, अँध्यारो र एउटा मुसा बस्ने दुलोजत्रो कोठाको भाउ आफ्नो जिब्रोमा लिएर हिँड्छन्। यसरी घरधनीहरुले सर्वसाधारणलाई ठग्दै हिँड्दा किन वडाध्यक्ष र मेयर अनुगमन गर्दैनन्।

किन केही थाहा नभए जस्तै लाचार छ सरकार? खै कता छन् हाम्रा मेयर बालेन्द्र साह? के घरधनीहरुको अघि लम्पसार परेका हुन्, बालेन्द्र साह? जनताको हितमा काम गर्छु भनेर आएका मेयर आज जनता यसरी ठगिँदा किन चुप?

यहाँका घरधनीहरु घरवाल कर सरकारलाई तिर्नुपर्छ भनेर घरभाडामा लगाएको छैन भनेर कर छल्छन्। यसरी राज्यको ढुकुटीमा आउनुपर्ने राजश्व नआउँदा पनि वडाध्यक्ष मेयरलाई केही चासो छैन। नागरिकहरु विभिन्न जिल्लाबाट आए पनि यहाँ बसेर सरकारलाई कर तिर्छन तर यहाँ कै घरधनीहरुले सरकारलाई कर छल्दा किन वडा र नगरपालिकाबाट अनुगमन गरिँदैन?

घरधनीहरु घरभाडामा लगाएर महिनाको १ लाखसम्म कमाउँछन तर सरकारलाई भने कर तिर्दैनन्। घरधनीहरुले भाडावाललाई यस्तो नराम्रोसँग ठग्दा पनि किन मेयर बालेन्द्र साह चुपचाप बस्छन्? मेयरज्यू हजुर घरधनीको पक्षमा हो कि जनताको? कहिलेसम्म घरधनीहरुलाई आफ्नो मनोमानी गर्न दिने ? साथै अहिले काठमाडाैँ उपत्यकाभित्र फोहोरले बसिसक्नु छैन।

यसले गर्दा धेरै रोग तथा महामारी फैलिँदैछ। अब मेयर बालेन्द्र साहले कोठाभाडा निर्धारण गरी फोहोर व्यवस्थापन गर्न निकै जरुरी रहेको छ।

वडा कार्यालयबाट कर्मचारी खटाएर घरहरुको अनुगमन गर्ने हो भने सरकारले कर पनि पाउँछ र घरधनीहरुले कर पनि छल्न पाउँदैनन्। काठमाडाैँमा रहेका सम्पूर्ण घरबाट सरकारले सही रुपमा घरवाल कर उठाउने हो भने त्यस करले नै काठमाडौँको विकास गर्न सकिन्छ।

अब मेयरले कर उठाउनका साथसाथै युवाहरुलाई रोजगारीको पनि व्यवस्था गर्नुपर्छ। अब वडा र नगर दुबै मिलेर घरधनीहरुको यस्तो ठगको धन्दा बन्द गर्नुपर्छ।

अब काठमाडौँका मेयर साहले हरेक घरको अनुगमन गरी महंगो भाडा लिने, डेरावाललाई सेवा सुविधा नदिने, दुव्यवहार गर्ने र कर छल्ने घरधनीहरुलाई कारबाही गर्नुपर्छ। जसरी साहले सडकमा फुटपाथ व्यवसाय नगर्नु भनेर अनुगमन गरी यसलाई नियन्त्रण गरेका थिए, अब त्यसरी नै घरधनीहरुको पनि यस्तो ठगीधन्दा अनुगमन गरी नियन्त्रण गर्न आवश्यक रहेको छ।

यसले गर्दा काठमाडौँ उपत्यकामा गाउँ वा दुर्गम जिल्लाबाट आएका मानिस तथा विद्यार्थीहरुलाई सहज हुने छ र सर्वसाधारण मारमा पर्ने छैनन्।

प्रकाशित मिति: : 2022-08-14 15:15:00

प्रतिकृया दिनुहोस्