स्थानीय तह निर्वाचन

भक्तपुरमा गठबन्धनबीच भागबण्डामा रस्साकस्सी

भक्तपुरमा सतारुढ पाँच दलीय गठबन्धनबीच भागबण्डा मिलाउन रस्साकस्सी चलेको छ। भागबण्डा मिलाउन नसकेपछि सबै पार्टीहरूले छुट्टाछुुट्टै रुपमा उम्मेदवार हुन चाहने आकांक्षीहरूको नामावली संकलन गरी आ–आफ्नो पार्टी केन्द्रहरूमा पठाइरहेका छन्।

कांग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार चयनका लागि प्रयासरत छन्। जनता समाजवादी पार्टीको खासै चर्चा छैन भने जनमोर्चा नेपालको जिल्ला संगठन नै छैन। जिल्लामा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चारवटा नगरपालिका छन्।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्याम बस्नेतले पटकपटक छलफल भए पनि भागबण्डा मिल्न नसकेको बताए। यही कारण आफूहरू एक्लै भए पनि चुनावमा लड्न सबै नगरपालिकाका वडासहितमा उम्मेदवार सार्वजनिक गरेको उनले जनाए।

उनका अनुसार सूर्यविनायक नगर प्रमुखका आकांक्षीमा पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेत, अर्जुन बस्नेत, मधुकर थापा छन् भने उपप्रमुखका आकांक्षी शोभा श्रेष्ठ र दिलीप केसी छन्।

मध्यपुर थिमि नगर प्रमुखको आकांक्षीमा भवानी खड्का, दुर्गामोहन श्रेष्ठ, पुण्यरत्न रञ्जित, प्रेमानन्दलाल श्रेष्ठ छन्। उपप्रमुखमा रीतु चित्रकार र नवीनप्रकाश श्रेष्ठ छन्।

चाँगुनारायण नगर प्रमुखको आकांक्षी रामप्रसाद न्यौपाने एक्लै छन् भने उपप्रमुखमा शान्ति खड्का र अञ्जना पोखरेलको नाम सार्वजनिक गरिएको छ। यता भक्तपुर नगरपालिकामा भने मेयरमा दुुई जना आकांक्षी छन्। मेयरमा ओमचरण अमात्य र रीता अवाल दुई जना आकांक्षी छन्।

नेकपा एसकै जिल्ला अध्यक्ष बस्नेतले प्यानलगत रूपमा आकांक्षीको नामावली संकलन भए पनि गठबन्धनका विषयमा छलफल भइरहेको बताए।

‘हामी जति पनि लचिलो हुन तयार छौं, उनले भने, गठनबन्धकै लागि अहिलेसम्म चारपटक बैठक बसिसकेका छौं। तर निष्कर्षमा पुग्न सकेका छैनौं।’

नेपाली कांग्रेसले सबै नगरपालिकामा नगर प्रमुख र उपप्रमुख दाबी गरिरहेको छ। गठबन्धनमा उम्मेदवार चयनमा सकस भइरहेपछि कांग्रेसले पनि चारवटै नगरपालिकामा आफ्नो उम्मेदवार सार्वजनिक गरेको छ।

कांग्रेसबाट सूर्यविनायक नगर प्रमुखका आकांक्षीमा विष्णुराज कार्की, सुशील बस्नेत, नारायणभक्त खायमली, उद्धव सिलवाल, राजनकाजी त्वाती, प्रेमबहादुर खड्का, रवि राणा, भेषबहादुर कार्की र राजन बके छन्। ललिता धिताल पोखरेल, रीता खत्री, संगीता थापा, सुनीता खत्री, कान्छीमाया श्रेष्ठ, पुनम केसी, मीनाकुमारी ढकालले उपप्रमुखमा दाबी गरेका छन्।

कांग्रेसकातर्फबाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षीमा अष्टकुमार कवे, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, गणेश चक्रधर, महेश श्रेष्ठ, मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई र रामकाजी चक्रधर गरी नौजना छन्। कांग्रेसबाट अञ्जनादेवी मधिकर्मी, उर्मिला वन, कमला कर्माचार्य, प्रमिला सुवेदी आचार्य, लक्ष्मीशोभा प्रजापति उपप्रमुखका आकांक्षी हुन्।

कांग्रेसबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षीमा शिवहरि केसी, सुरेश श्रेष्ठ, जीवन खत्री, प्रवीण वन, यादवप्रसाद अधिकारी, सरु बानियाँ, जयन्द्र खड्का, अच्युत अधिकारी, पुष्कर खत्री छन्।

सुभद्रा काफ्ले, राजेश खड्का, संगीता फुयाल आचार्य, सचिला खड्का, रविता कार्की, रूपा थापा, संगीता दुलाल नेपाल, सावित्री लामिछाने उपप्रमुखको उम्मेदवार बन्ने दाउमा छन्। कांग्रेसबाट भक्तपर नगर प्रमुखमा अघिल्लो निर्वाचनमा पराजित राम कासुला र नारायणप्रसाद तमखु आकांक्षी छन्।

माओवादी केन्द्रबाट चाँगुनारायण नगर प्रमुखमा रामशरण दाहाल, रामलाल न्हेम्हाफुकी, नरेश खड्का, राजेन्द्र आगन्जा र हरिकृष्ण रावतले दाबी गरेका छन् भने उपप्रमुखमा चण्डिका लामिछाने र शान्ति केसी छन्।

सूर्यविनायक नगर प्रमुखका आकांक्षी कल्पदीप राई, सनिस लागेजु, रामजी भण्डारी, नारायणप्रसाद राजथला छन्। सूर्यविनायक नगर उपप्रमुख, मध्यपुर थिमि र भक्तपुर नगर प्रमुख÷उपप्रमुखका विषयमा छलफल भइरहेको छ।

एमालेकातर्फबाट पनि चारवटै नगरपालिकामा आकांक्षीहरू सार्वजनिक भइसकेका छन्। उक्त पार्टीबाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षीहरूमा पार्टी जिल्ला अध्यक्ष बचन देउजा, मदनसुन्दर श्रेष्ठ, भाष्कर प्रधानाङ्ग, तारामान जोशी, चन्दनकृष्ण श्रेष्ठ, राष्ट्रशमशेर थापा, सूर्यलाल श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ देखिएका छन्।

उपप्रमुखमा एमालेबाट सुचित्रा श्रेष्ठ, उत्तरा नेपाल र बिन्दु प्रजापतिको नाम जिल्ला कमिटीमा पठाएको एमाले जिल्लाले जनाएको छ।

एमालेबाट सूर्यविनायक नगर प्रमुखका आकांक्षी वासुदेव थापा, राजेन्द्र राजथला, किरण थापा, राजकुमार सिलवाल, सन्तोष ढुंगेल र गोविन्द चौलागाईं छन्। उपप्रमुखका आकांक्षीमा बहालवाला उपप्रमुख जुना बस्नेत, तारा सापकोटा, अम्बिका भण्डारी बस्नेत, सरिता तिमल्सिना, तारा खड्का बस्नेत, ममता राउत, लक्ष्मी कार्की अधिकारी, वीणा बस्नेत छन्।

एमालेबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षीमा रमेश बुढाथोकी, नीरञ्जन बजगाईं, दमोदर दंगाल, रामबहादुर श्रेष्ठ, नवराज गेलाल, गीताप्रसाद नेपाल, बिना बाँस्तोला, मोहनवीर श्रेष्ठ, शम्भुप्रसाद दाहाल र प्रेमकुमार श्रेष्ठ छन्। नारायणी फुयाल दंगाल, शारदा थापा मगर, सावित्री थापा, परासर सापकोटा, शिवराम तिमल्सिना, मन्दरा मिश्रले उपप्रमुखमा दाबी गरेका छन्।

भक्तपुर नगरपालिकामा एमालेबाट विष्णुप्रसाद सुवाल, रवीन्द्र लाछिमस्यू, नारायणसुन्दर सिन्तकल, विश्वराज शिल्पकार र रोशन बज्राचार्यको नाम सिफारिस भएको छ भने उपप्रमुखमा रञ्जना खर्बुजा छिन्।

नेमकिपाबाट भने कुनै पनि नगरमा आकांक्षीको नाम सार्वजनिक छैन। उसले पार्टीभित्रै छलफल गरी एकैपटक उम्मेदवारको नाम सार्वजनिक गर्र्ने भएको छ।

प्रकाशित मिति: : 2022-04-22 12:36:00

प्रतिकृया दिनुहोस्