'एमालेले नामाकरण गर्न नसक्ने अनि मेराे काँधमा बन्दुक राखेर पड्काउन खोज्ने?'

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामाकरणका विषयलाई लिएर नेकपा एमालेले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोजेको गुनासो गरेका छन्।

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रदेश १ मा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री राईले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेशको नाम टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै अहिले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको बताए।

‘नेतृत्वमा बस्दा आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने’ उनले भने, ‘तपाईंहरूलाई चाहिएको भए त्यहीबेला घोषणा गर्दा भइहाल्थ्यो नि!’

‘आफ्नो नेतृत्व हुँदा घोषणा गर्न नसक्ने अनि अहिले मेलै आलोचना खेप्नुपर्ने,’ उनले एमालेप्रति कटाक्ष गर्दै भने, ‘यस्तै कारणले गर्दा नाम राख्न अप्ठ्यारो भएको छ।’

यस्तै मुख्यमन्त्री राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको आरोप लगाएका छन्।

‘संघीय मन्त्रालयका मन्त्रीहरूले एउटा प्रदेशको भन्दा ५/६ गुणा बढी बजेट राखेर केही काम गर्दैनन्,’ राईले भने, ‘संघीय सरकारभन्दा जिल्लामा प्रदेश सरकारले बढी योजना बनाएको छ।’

पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना संघीय सरकारको भन्दा बढी रहेको भन्दै उनले प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए।

संघको नेतृत्वले आफैँ अधिकार र बजेट मुठ्याएर प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाई आलोचना गरिरहेको गुनासो गरे।

प्रकाशित मिति: : 2022-08-23 16:42:00

प्रतिकृया दिनुहोस्