घरहरुको सहर घोराही (फोटो फिचर)

दाङको घोराही उपमहानगरपालिका देशकै ठुलो उपमहानगरपालिका हो। लुम्बिनी प्रदेशअन्तर्गत पर्ने घोराही उपमहानगरपालिकालाई दक्षिणमा चुरे र उत्तरबाट महाभारात पर्वतले घेरेको छ। दाङको मुख्य सहरका रुपमा रहेको यस उपमहानगरको कुल ५२२.२१ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ।

यस उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाउँपालिका, पश्चिममा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिका रहेको छ।

घोराही उपमहानगरपालिकाका ३५ हजार ४ सय १९ घरधुरीमा गरी कूल जनसंख्या १ लाख ५६ हजार १ सय ६४ रहेको छ। जसमा ४६.३२ प्रतिशत पुरुष छन् भने ५३.६८ प्रतिशत महिला रहेका छन्।

विविधतापूर्ण जातीय पहिचान रहेको घोराही उपमहानगरपालिकामा खस आर्य, दलित, जनजाति, मधेसी, मुस्लिम आदिको बसोबास छ।

जनसंख्याको दृष्टिकोणले २५.४९ प्रतिशत थारु, २३.७० प्रतिशत क्षेत्री, १७.४८ प्रतिशत मगर तथा १२.७८ प्रतिशत ब्राह्मण बसोबास गर्छन् भने बाँकी अन्य जातिका छन्।

घोराही सहरको परिदृश्य र आफ्नो हावापानीका लागि परिचित त छ नै यो सहरले रोल्पा, प्युठान, सल्यान र रुकुम वरपरका क्षेत्रहरूको प्रवेशद्वारको सुविधा प्रदान गर्दछ।

राजधानी काठमाडौँबाट ४१३ किलोमिटर (२५७ माइल) दक्षिण–पश्चिममा रहेको घोराहीबाट पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तर–पश्चिममा सुर्खेत, थवाङ, रारा ताल, स्वर्गद्वारीको हिन्दू पवित्र भूमिमा पुग्न सकिन्छ।

घोराही अहिले तालहरुको सहरका रुपमा पनि परिचित छ। घोराही उपमहानगरपालिकाले दर्जन बढी कृत्रिम ताल बनाएर यसलाई पर्यटन र कृषिसँग जोडेको छ।

घोराही पर्यटकीय रुपमा विकास भइरहँदा यहाँको पाण्डवेश्वर धारापानी धाम (एशियाको अग्लो त्रिशुल भएको ठाउँ), अम्बिकेश्वरी, चौघेरा मन्दिर, बाह्रकुने दह, चरिङ्गे दहलगायतका  र पाण्डवेश्वर र अम्बिकेश्वरी मन्दिर जस्ता पर्यटकीय क्षेत्रले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्दछ।

घोराहीमा तीव्र बस्ती विस्तार पनि भइरहेको छ। यहाँ रोल्पा, रुकुम, प्युठानबाट विशेष गरेर बसाइ सरेर आउने गर्छन्। हावापानीसँगै शिक्षा, स्वास्थ्य, रोजगारको सम्भावना बोकेको यस घोराही उपमहानगरपालिका कृषि पेशा गर्नका लागि पनि उपयुक्त रहेको छ।

प्रकाशित मिति: : 2022-08-27 11:38:00

प्रतिकृया दिनुहोस्