नेकपा एसद्वारा पाण्डेलाई प्रतिनिधी सभा सदस्यको उम्मेदवारमा सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी(एस) पाल्पाले सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्य उम्मेदवारको रुपमा सोम प्रसाद पाण्डेलाई सिफारिस गरेको छ।

सोमबार तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नंं. २ को प्रतिनिधी सभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको जिल्ला कमिटी सदस्य एवं पाटी प्रचार विभाग प्रमुख पदम गैरेले बताए। सिफारिस उम्मेदवार पाण्डे अहिले पनि पाल्पा क्षेत्र नं.२ को प्रतिनिधी सभा सदस्य रहेका छन्।

सिफारिसमा परेको उम्मेदवार पाण्डे नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष रहेका छन्। पाण्डेले २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नंं २ बाट प्रतिनिधी सभा सदस्यमा नेकपा एमालेबाट विजयी भएका थिए भने २०६४ को संविधान सभा सदस्यमा नेकपा माओवादी केन्द्रको उम्मेदवारसँग पराजित भएका थिए। पाण्डे पाल्पा क्षेत्र नंं २ को ५ दलिय गठबन्धनमा बलियो र दावेदार उम्मेदवार हुन्।

समाजवादी पार्टीले सर्वसम्मत पाण्डेलाई सिफारिस गरे पनि ५ दलिय गठबन्धनमा भने सहमती हुन बाँकी रहेको छ। पाल्पा क्षेत्र नंं २ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसले पनि दावेदारी गर्दै आएको छ। पाल्पा क्षेत्र नंं २ को प्रतिनिधीसभा सदस्य दावेदारीको लागि नेपाली काँग्रेस पाल्पाको टोली पाटी अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरिसकेको छ।

यसैगरी बैठकले प्रतिनिधी सभाको समानुपातिकतर्फ केन्द्रिय सदस्य यादव बहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ भने प्रदेशतर्फ महिला अल्प संख्यकमा रमा घर्ती मगर, दलितमा बल बहादुर सुनार र सर्वजित विश्वकर्मालाई सिफारिस गरेको छ।

यसैगरी प्रदेश सभा तर्फ प्रत्यक्षमा क्षेत्र नंं. १ क मा विनोद श्रेष्ठ, क्षेत्र. १ ख मा पदम अर्याल, क्षेत्र नंं. २ क मा खिमानन्द पाण्डे कमल, क्षेत्र नंं. २ ख मा झलक रायमाझीलाई उम्मेदवार सिफारिस गरेको छ। पार्टीले आफ्नोतर्फबाट उम्मेदवार सिफारिस गरे पनि ५ दलिय गठबन्धनको सहमती अनुसार अगाडि बढ्ने निर्णय बैठकले गरेको प्रचार विभाग प्रमुख गैरेले जानकारी दिए।

यसैगरी पाल्पा क्षेत्र नंं २ को प्रतिनिधी सभा सदस्यको उम्मेदवारमा नेकपा एमालेको तर्फबाट पार्टी पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेको संभावना बलियो देखिएको छ। २०७८ साल सम्म पाण्डे र गैरे एउटै पार्टीका नेता थिए।

यसैगरी नेपाली काँग्रेसको तर्फ पाल्पा क्षेत्र नं. २ को प्रतिनिधी सभा सदस्यमा विर बहादुर राना, हरि प्रसाद नेपाल र डा. चिरञ्जिवी नेपालको दावी रहेको छ। नेपाली काँग्रेस पाल्पाले भदौ १६ गते पाटी बैठकबाट संघ र प्रदेशका उम्मेदवार सिफारिस गर्ने बताईएको छ।
 

प्रकाशित मिति: : 2022-08-29 19:56:00

प्रतिकृया दिनुहोस्