कामना गरौं, पल शाह यस्तो चर्को मूल्य तिर्ने अन्तिम सेलिब्रेटी बनुन्

पल शाह बलात्कारी ठहरिएनन् । पलका फ्यानका लागि यो खुशीको खबर हो कि कम्तिका उनीहरूका आफ्ना आदर्शले बलात्कारीको ट्याग बोकेर बाँच्नु परेन । यसका लागि पनि उनीहरू उनलाई बलात्कारको आरोप लगाउने किशोरी र उनका बाबुप्रति धन्य हुनुपर्छ । घटनाक्रम हेर्दा तथ्यले हैन, उनीहरूले बयान फेरिदिएर मात्र पल यो कलंकको टीकाबाट बचेका हुन् । 

तर, उनी बाल यौनदूराचारी ठहरिए । यसको अर्थ हुन्छ, वालबालिकामाथि यौन व्यभिचार गर्ने । त्यसमा वलात्कार पनि हुन सक्छ । तर, पल शाहको हकमा फैसलाको आशय के रह्यो भने सहमतिमै यौन सम्पर्क भयो तर यसरी सम्पर्क गरिएकी महिला उमेरले बालिका थिइन्  र उनलाई प्रलोभनमा पारेर यौनसम्पर्क गरिएको थियो । जिल्ला अदालत, नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर गर्दै फैसलमा भनिएको छ, '‘मसँग कोही कसैले नजिक हुने चाहना राख्यो भन्दै त्यसलाई स्वीकार गरी वार्तालाप लगायतका नाबालिकासँग मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिँदा मुलुकी अपराध संहिता २०७४ को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिताको दफा २२५ (२) विपरितको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ ।’

पल आफ्नै वयानले फसे । उनले बयानमा आफू मदिरा सेवन गरेको तथा घटना भएको भनिएको दिन नाबालक एक्लै सुत्न डराएको भनी भोलिपल्ट बेलुका एक्लै सुत्न डर लाग्छ लाग्दैन भनेर सोधपुछ गरेको स्वीकार गरेका थिए र मेसेज लगायतका अन्य गतिविधिमा छलफल गरेको भन्दै पटकपटक भेटघाट गरेको स्वीकार पनि गरेका थिए  ।

भनिन्छ नि, कानूनका हात लामा हुन्छन् । यो मुद्दामा त कानूनका लामा हात नै चाहिदैन थिए, यही नै सत्य थियो र जगजाहेर थियो । गायनमा स्थापित हुन खोजिरहेकी एक किशोरीलाई पलको अभिभावकत्व आवश्यक थियो, उनले त्यसमा पनि पछि विवाह गर्ने प्रलोभन दिएर यौनसम्पर्क स्थापित गरे । उनी यो वचनमा रहेको भए पनि यो मुद्दा सतहमा आउने थिएन । तर, जब उनले त्यो वचन पनि तोडे, त्यसपछि किशोरी अदालत गइन् । उमेर नपुगेकी किशोरीलाई यसो गर्नु कति सम्बेदनशील मुद्दा हो भन्ने नबुझ्दै पल पक्राउ परे । जब यसको संवेदनशीलता बु्झेर किशोरीलाई बलात्कार हैन भन्न लगाए, त्यतिबेलासम्म उनी आफ्नै वयानले वाल यौनदूराचारी प्रमाणित भैसकेका थिए । 

वाल यौनदूराचार उमेर नपुगेका बालवालिकामाथि हुने यौनजन्य जघन्य अपराध हो । यो एक किसिमको अमानवीय यौनहिंसा हो । यस्तो यौनहिंसालाई पश्चिमा मुलुकहरूमा मानसिक विचलन मानिन्छ । यस्तो क्रियामा सहभागी हुनेहरूलाई  पेडोफिल भनिन्छ  र उनीहरूलाई अत्यन्त घृणाको दृष्टिले हेरिन्छ । यस्ता अपराधीलाई उमेर पुगेकामाथि यौनदूराचार गरेकोभन्दा दोब्बर सजाय दिइन्छ । 

पछिल्लो फैसलाबाट पल शाह नावालिगमाथि यौन दूराचार कुकर्म गर्ने एक अपराधीका रूपमा स्थापित भएका छन् । अदालतले फैसला गरेपछि अब उनी अभियुक्त रहेनन्, अपराधी भए । अब उनले माथिल्लो अदालतमा पुनरावलोकन गर्ने भनेको पनि आफू त्यो अपराधी हैन भनेर प्रतिवाद मात्र गर्ने हो । उनी प्रतिवाद गर्दै सर्वोच्च अदालतसम्म पुग्न सक्छन् र त्यहाँबाट अपराधमुक्त पनि हुन सक्छन् । तर, अहिलेको सन्दर्भमा कानूनी भाषामा उनी वाल यौनदुराचारजस्तो गम्भीर प्रवृतिको अपराध गरेका अपराधी हुन् । 

यो पंक्तिकारले पलको यो मुद्दालाई व्यक्तिगत मुद्दाका रूपमा मात्र लिन नहुने भन्दै शुरूदेखि नै सेकेण्ड ओपनियन राख्दै आएको छ । साँच्चै भन्ने हो यो एक किसिमको आदर्शहरूको अपराधिकीकरण हो । जब एउटा नायक खलनायक हुन्छ तब नायकहरूको भाष्य कसरी गर्ने ? हामीले रिलमा देखेका नायकहरू  रियलमा आफ्नो स्टारडमको दुरूपयोग गर्दै नावालिगहरूको अस्मितामाथि झम्टिन थाल्छन् भने त्योभन्दा ठूलो नायकहरूको पतन के हुन्छ ?

यो पंक्तिकारलाई पनि कताकता नावालिग र जाहेरी दिने उनका बाबुले नै वयान फेरेपछि पल निर्दोष भएर छुट्छन् । चाँडै नै आफूले नावालिगलाई वयान फेर्न लगाउँदा दिएको वचन पूरा गर्छन् । यो उनको जीवनमा एक किसिमको क्लाइमेक्स ट्विस्ट हुन्छ । उनले शालिनतापूर्वक आफ्नो गल्ती स्विकार गरे भने नेपाली समाजले पनि उनलाई माफ गरिदिन्छ । उनले सामान्य जीवन बिताउँन पाउँछन् । अझ यही कथामा उनै पात्रहरू राखेर सुदर्शन थापाले एक प्रेमिल चलचित्र बनाइ दिए भने त त्यो चलचित्र पनि हिट हुन्छ ।

पल शाह प्रकणलाई एक अध्याय मान्ने हो  भने नेपालका सेलिब्रेटीहरूका लागि यो एक गम्भीर पाठ हो । यसबाट शिक्षा लिन सके उनीहरू चर्को  मूल्यबाट बच्न सक्छन् । कामना गरौं, यस्तो चर्को मूल्य तिरेर पाठ सिक्ने पल शाह अन्तिम नेपाली सेलिब्रेटी बनुन् ।

तर, न्यायका नौ सिङ हुन्छन् भनेझै भयो, यो पंक्तिकारको त्यो अनुमान पूरा भएन । अदालतबाट पल शाह वाल यौनदूराचारी प्रमाणित भए । उनले साँढे दुई वर्ष जेल बस्नुपर्ने भयो, २५ हजार जरिवाना तिर्नुपर्ने भयो  र नावालिगलाई १० लाख क्षतिपूर्ति पनि दिनुपर्ने भयो । 

पल शाहलाई दिइएको यो सजाय केहीलाई बढी लागेको छ, केहीलाई कम भएको छ । केहीले यो फैसलामाथि अर्को कोणबाट प्रश्न पनि उठाएका छन् । उनीहरूको भनाइ छ, बलात्कार दावी गरिएको थियो तर दावी नै नगरिएको वाल यौनदूराचारीको सजाय दिइयो । कि बलात्कारी नै दोषी करार गरेर कम्तीमा १२ वर्ष जेल सजाय हुनुपर्थ्यो कि निर्दोष भनेर सफाइ दिनुपर्थ्यो । 

तर, कानूनका ज्ञाताहरू भन्छन्, ‘माग दाबी गरिएको आरोप पुष्टि नभए पनि त्यस्तै प्रकृतिको तर कम सजाय हुने आरोपमा दोषी ठहर गर्ने प्रचलन छ । बलात्कारको मुद्दा लागेकाले त्यसको प्रयास (उद्योग) गरेकोमा दोषी ठहर भएका उदाहरण छन् । पल शाहको हकमा पनि पीडितले वयान फेरेकाले उनलाई बलात्कारी ठहर गर्न सकिएन तर पलले नै वलात्कार उद्योग गरेको स्वीकार गरेकाले त्यसलाई वाल यौनदूराचार ठहर गरिएको हो । 

जे होस्, यो एक किसिमको बहुचर्चित 'स्टार' मुद्दा थियो । यसको पक्षमा वा विपक्षमा जे निर्णय भए पनि त्यो विवादमुक्त हुने थिएन । शायद, त्यही सम्भावनालई पनि ध्यानमा राखेर न्यायाधीशले मझौला बाटो रोजेको हुनसक्छ । 

यही प्रकृतिको मुद्दा तनहु जिल्ला अदालतमा पनि छ । त्यहाँ के हुन्छ ? यसै भन्न सकिने अवस्था छैन । यद्यपि, त्यहाँ निर्णय हुँदा नवलपुर फैसलालाई पनि सन्दर्भमा लिनुपर्ने हुन्छ । त्यहाँ निर्दोष नै प्रमाणित भए पनि पलले नवलपुरको ौेसला बमोजिम साँढे दुई वर्ष जेल बस्नु नै पर्ने हुन्छ । यदि त्यहाँ बढी सजाय भयो भने त्यो बढी सजाय पनि थपेर भुक्तान गर्नुपर्ने हुन्छ ।

यो फैसलाले पलका साँढे दुई वर्ष जेलमै बित्ने निश्चित छ । जे देखिन्छ, त्यही बिक्छ भन्ने शोबिज मानिने मनोरञ्जन उद्योग यो समय भनेको एक कालखण्ड नै हो। त्यसैले एक स्टार कलाकारका रूपमा पलको करिअरको अन्त भने पनि हुन्छ । उनी जेलबाट बाहिर निस्कदासम्म बागमतीमा धेरै पानी बगिसकेको हुन्छ । 

हो, उनी एक संघर्षले बनेका उम्दा कलाकार थिए । त्यो अर्थमा भने नेपाली चलचित्र उद्योगलाई ठूलो नोक्सान भएको छ । तर, यसो भन्दैमा उनले गरेको गल्ती र त्यसलाई जुन ढङ्गले उनले लिए, त्यो किमार्थ पनि क्षम्य हैन । अझ त्यसमा पनि एक नायकले खलनायक भएर गरेको यो त ब्लण्डर नै हो । अपराध गर्नेले सजाय पाउँनुपर्छ, त्यसको भुक्तान गरेर प्रायश्चित गर्नु नै एक कलाकारको सच्चा प्रायश्चित हो । हामीले चलचित्रमा पनि नायकहरूले खलनायकी गर्दा प्रायश्चित गरेका अनेकौ दृश्यहरू देखेका छौं । फरक यति हो, ती दृश्यहरू रिलमा थिए, पलले यहाँ रियलमा दोहोर्याए ।

खासगरी नेपालका सेलिब्रेटीहरूका लागि यो एक गम्भीर पाठ हो । जुनसुकै क्षेत्रका सेलिब्रेटीहरूले पनि यसबाट शिक्षा लिन सके त्यो उनीहरूका लागि त हितकर हुन्छ नै, नेपाल र नेपालीका लागि पनि कम कष्टप्रद हुन्छ ।

अदालतले फैसला गरिसकेपछि अब त अपराध नै भन्नुपर्छ, यस्तो अपराध गरेर यस्तो चर्को मूल्य तिर्ने पल शाह अन्तिम नेपाली सेलिब्रेटी बनुन्, अहिलेलाई यही कामना गरौं । 

प्रकाशित मिति: : 2022-09-08 03:10:00

प्रतिकृया दिनुहोस्