भोलिदेखि सञ्चालनमा आउने रसुवागढी नाका

File photo
File photo

कोभिड– १९का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। 

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

‘बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने जानकारी आएको छ,’ रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले भने, ‘दशैं अघि रोकिएका माल वस्तु अब नेपाल भित्रिने छन्।’

चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो।

यता, तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल कायमै रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। गत २५ साउनदेखि केही कन्टेनर सामान आए पनि त्यसपछि थप निरन्तरता नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।

प्रकाशित मिति: : 2022-09-14 19:30:00

प्रतिकृया दिनुहोस्