दुर्दशापूर्ण सडक: सकियो ‘डेटलाइन’ तर सकिएन मर्मत

आयोजनाको कार्यालय नै खारेज !

बुटवलको मुख्य सडक गोलपार्कदेखि हस्पिटल लाइन सम्मको अस्तब्यस्त सडक कहिले बनेर सकिएला भन्ने सर्वत्र चासोको विषय बनिरहेका छ। 

तर सडक १५ दिनमा बन्ला,एक महिनासम्म सकिएला कि भन्ने आसै आसले यो सडक ध्वस्त बनेको करिब दुई वर्ष नाघिसक्यो तर सडक दिनप्रतिदिन जिर्ण र दुर्घटना ग्रस्त सडक  बनिरहेको छ। हिउँदमा धुलाम्य, बर्खामा हिलाम्ये सडक बन्नु आजभोली सामान्य जस्तै बनेको छ।

व्यापारिक मार्ग विस्तारका नाममा बेलहिया–बुटवल सडकअन्तर्गत बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणका लागि ठेकेदार कम्पनीलाई दिइएको ‘डेट लाइन’ शुक्रबार सकिएँको छ।

पछिल्लो पटक सम्झौता मिति २०७९ असार मसान्तमै निर्माणको काम सक्नु पर्ने भए पनि बुटवल उपमहानगरको विशेष पहलमा ठेकेदारलाई थप म्याद दिएर यही भाद्र मसान्तसम्म कालोपत्रे गर्न भनिएको थियो। 

बुटवल उपमहानगरपालिकाको सहजिकरणमा गत साउन २३ गते सरोकारवालाहरु बीचको छलफलमा ठेकेदार स्वयमले नै भाद्र मसान्तसम्म राजमार्ग चौराहदेखि गोलपार्कसम्म एक लेयर कालोपत्रे गर्ने प्रतिवद्धता गरेका थिए।

सहजिकरण समितिले प्रत्येक ७ दिनमा बैठक बसेर सडक मर्मतको अवस्था बारे जानकारी दिने निर्णय समेत उक्त दिनको छलफलमा भएको थियो। संघीय सरकारको लगानीमा सडक डिभिजन कार्यालय अन्तरगत रहेको उक्त योजना समयमै सम्पन्न गर्नका लागि बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले दबाब दिँदै आएको बताएका छन्। 

पटक–पटक सडक डिभिजन कार्यालयमा पुगेर समयमा बुटवलको सडक कालोपत्रे नभए सडकमै अनसन बस्ने समेत चेतावनी दिएका थिए। उनले दिएको समयावधि आज भाद्र ३१ गतेको समय सिमा सकिएको छ।

निर्माण कम्पनी भन्छ ‘हामी भागेका छैनौ’

बुटवल राजमार्ग चौराहा गोलपार्क सडक निर्माणमा सहजीकरण समितिले पछिल्लो पटक यही भाद्र २६ गते समेत बैठक बसी २ दिन भित्र एक लेयर भएपनि कालोपत्रे गर्न निर्देशन गरेको थियो। उक्त दिनको बैठकले बाटो मर्मत गरी डेन्सीटी लिने कार्य भदौ २७ गते साँझसम्म सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएको थियो। 

डेन्सीटीको रिपोर्ट हेरी गम्भीर वर्षाको कारणले कालोपत्रे गर्न नसकिने परिस्थितिबाहेक २९ सम्म प्राइम गरीसक्ने र सो को भोलिपल्ट कालोपत्र गर्नु पर्ने र भदौ मसान्तसम्म एकलेयर कालोपत्रे नगरेमा निमार्ण कम्पनीलाई कारबाहीको लागि पठाउने बैठकले निर्णय गरेको छ।

समितिले बैठक बसी गरेको निर्देशनमा जस्तै निर्माण कम्पनीलाई भने मौसमले पनि साथ दियो। भाद्र ३० गते दिनभर वर्षा भयो। निर्माण कम्पनीलाई ‘ढुङ्गा खोज्दा देउटा’ जस्तै भयो। भाद्र ३० गते विहिबार नै निर्माण कम्पनी कञ्चन जंघा विरुवा जेभीले बुटवल उपमहानगरलाई पत्र लेख्दै भयो–‘हामी भागेका छैनौं, पानी रोकिएपछि सडक कालोपत्रे गछौं।’ कम्पनीले विभिन्न सञ्चारमाध्यमहरुमा ‘निर्माण कम्पनी भाग्यो’ भन्ने आसयका समाचार आएकोप्रति खण्डन गर्दै पत्रमा लेखेको छ– ‘हामी निर्माणको काम छाडेर कतै गएका छैनौं। हामीले अहिले निरन्तर काम गरिरहेका छौं, यहाँको उपमहानगरपालिका, सडक डिभिजन कार्यालय, टेलिकम, खानेपानी, विद्युत कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ।’

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो। सडक विस्तारको बाटो खुलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर ०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको थियो।

सडक आयोजनाको कार्यालय नै खारेज

सडक विस्तारका लागि गठन भएको आयोजना कार्यालय नै काम सम्पन्न नगरी सरकारले खारेज गरेको छ। बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज भएको हो। बुटवलदेखि बेलहियासम्म ६ लेन सडक बिस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको थियो। तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहिया सम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक दुई वर्षदेखि अलपत्र छ।

त्यस्तै बेलहियाको ७०० मिटर सडक निर्माण पनि अलपत्र छ। सडक निर्माण नसकिँदै आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम अझै अलपत्र पर्ने अवस्था देखिएको छ। आयोजनाको काम डिभिजन सडक कार्यालय बुटवलले हेर्नेगरी कार्यालय खारेज भएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्।

ठेकेदार कम्पनीको ढिलासुस्ति, मौसम वा अन्य कारणले बुटवलको सडक कालोपत्रेका लागि गत साउन २३ गते दिइएको डेटलाइन सकिएपछि नियामक निकायले कसरी अघि बढ्छ, बुटवल बासीको प्रश्न रहेको छ।

प्रकाशित मिति: : 2022-09-17 17:59:00

प्रतिकृया दिनुहोस्