मंसिर ४ बुढा नेताहरूलाई लखेटेर इतिहास फेर्ने दिन हाे– देव विश्वकर्मा (अन्तर्वार्ता)

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि विभिन्न दलले चुनावी एजेन्डासहित उम्मेदवारहरू मैदानमा उतारेका छन्। तिनै दलहरु र उम्मेदवारहरु आफ्नो पार्टीको सिद्धान्त, विचार, एजेन्डा र योजना बुझाउँदै जनताको मत तान्न लागि परेका छन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका महामन्त्री देव विश्वकर्मा र उनको पार्टीको योजना र चुनावी अभियानका बारेमा केन्द्रित रहेर बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु)ले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


तपाईं एउटा युवा व्यवसायी हुनुहुन्छ ? राजनीतिमा किन आउनुभयो ?

एक समय नेपालमा ०६२/६३ को जनआन्दोलनमा धेरै युवा आन्दोलनमा होमिने मौका पाएका थिए। त्यसपछि ०७० देखि ०७६ सम्मको समयमा युवाहरु नेपाली राजनीतितर्फ धेरै नै वितृष्णा आयो। नेपालमा युवाले राजनीति गर्नै हुँदैन भन्ने अवस्था सिर्जना भयो। राजनीति भनेको फोहोरी खेल हो भनेर राजनीतिको नाम सुन्नै नचाहने वातावरण थियो। हो, यो समयबाट आएको मान्छे हुँ, म। तर, ०७९ को स्थानीय चुनावपछि भने सम्पूर्ण नीतिहरुको मुल नीति भनेको चाहिँ राजनीति हो। सबै परिवर्तनहरु सकारात्मक परिवर्तनका लागि राजनीतिलाई ठिक बनाउनै पर्छ भन्नेसम्म आइपुग्यो।

हाम्रो बुबाको पुस्ताले पञ्चायतविरुद्ध लड्यो। तर, आज हामी पनि लडिरहेका छौँ। किनभने जुन परिवर्तन गर्नुपर्ने स्थानमा रहेका व्यक्तिले सकारात्मक परिवर्तन नगरेपछि यो अवस्थाको सिर्जना भएको छ। त्यही परिस्थितिलाई हटाउन हामीले फेरि आन्दोलन गर्नुपर्ने भएको छ। आन्दोलनको ढाँचा विचार वैज्ञानिक हुन जरुरी छ। त्यसैले यो सबैको परिपूर्ति गर्ने अवसर राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको छ। त्यसैले म राजनीतिमा आएको हुँ।

निर्वाचनको मिति नजिकिँदै छ, चुनावी अभियानलाई कसरी अगाडि बढाइ राख्नुभएको छ ?

नेपालमा ०६४ सालको चुनावपछि पैसाको चलखेल र गुण्डागर्दी गरेर चुनाव जित्ने परिपाटी आयो। अझ ०७० सम्म आइपुग्दा याे चरम सीमा नै आयो। अहिले ०७९ को चुनावमा हामी भने कम खर्चिलो गर्ने उद्देश्य लिएर अगाडि बढेका छौँ। आफ्नो एजेन्डा जनतामाझ लैजाने काम गरिरहेका छौँ। संविधान र निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर चुनावी अभियानमा लागेका छौँ। जसका लागि हामीले जनताकाे घरदैलोमा जाने, क्याम्पियन गर्ने सभा गर्ने गरिरहेका छौँ। हाम्रा कार्यक्रमहरु भइराखेका छन।

बागमती भित्रका क्षेत्रमा कस्ता उम्मेदवारहरु पठाउनुभएको छ ?

समग्रमाभन्दा हाम्रो उम्मेदवारहरु आफ्नो क्षेत्रमा सफल भइसकेका व्यक्तिहरु हुनुहुन्छ। उहाँहरु आफ्नो क्षेत्रमा विज्ञता हासिल गर्नुभएको छ। उहाँहरुलाई अहिलेसम्म देशले नचिने पनि उहाँहरुले देशलाई चिन्नुभएको छ। भित्रबाट देशकै लागि गर्छु भनेर चुनावमा होमिनुभएको छ। उहाँहरु  हरेक ढंगबाट देशलाई चाहिने व्यक्तिहरु नै हुनुहुन्छ। हाम्रो समाज, गाउँ र सहर अब हामीले नै परिवर्तन गर्छौँ, भ्रष्टाचारमुक्त समाज बनाउँछौ भन्ने अठोट बोकेर आउनुभएको छ।

पार्टीले राजनीतिक पृष्ठभूमिभन्दा पनि सामाजिक सञ्जालमा फ्यान फ्लोइङ भएका व्यक्तिलाई उम्मेदवार पठायो भन्ने आरोप छ नि ?

राजनैतिक पृष्ठभूमिको कुरा गर्दा हाम्रो पार्टी नै नयाँ छ। त्यसको आधारमा पनि हामीसँग त्यस्तो लामो पृष्ठभूमि बोकेका व्यक्तिहरु त हुनुहुन्न। तर, सामाजिक सञ्जालकाे कुरा गर्दा चाहिँ हाम्रो उम्मेदवार छनौटको कुरा गर्दा भने अरुभन्दा फरक छ। हामीले अनलाइन फारममार्फत् जिल्लाकै जनताबाट छानिएर आउनुभएको छ। त्यसको लागि प्राइमरी इलेक्सन गरेर आउनुभएको हो। कतिपय उम्मेदवार बिचमै सहमति भएर आउनु भएको हो। सामाजिक सञ्जालकै आधारमा नै उम्मेदवार लिएको कुरा सत्य होइन।

तपाईंका उम्मेदवार र सिङ्गो पार्टी नै पहिलो पटक चुनावमा जाँदैछ, जनताले पत्याउलान् ?

यसो छ, अहिले जनताले विकल्प खोजिरहेका छन्। जनताले कसलाई भोट हाल्ने भन्ने कुरा अन्योलमा हुनुहुन्छ। हामी त्यही अन्योलता चिर्न जनतामाझ घण्टी चिन्ह लिएर चुनावमा गएका छौँ। जनताले यी ठुला पार्टीहरुलाई पटक–पटक भोट हालेर मौका दिँदा पनि सकारात्मक परिवर्तनको आभास जनतालाई दिन नसकेपछि जनतामा वितृष्णता छाएको छ। त्यसैले जनताले हामीलाई हाम्रो विचार र योजनालाई भोट दिने छन्। जसको अवस्था अहिलेदेखि नै देखिन थालेको छ। निर्वाचनपछि पनि हाम्रो उम्मेदवारहरुले आफ्ना क्षेत्रको जनताको गुनासो चासो सल्लाह सुन्ने योजना छ। जसलाई आमजनताले सकारात्मक प्रतिक्रिया दिनुभएको छ।

जनताको माझमा मुख्य के चाहिँ एजेन्डा बोकेर जाँदै हुनुहुन्छ ?

हाम्रो पार्टीले एजेन्डा तयार पारेको छ। जुन कुरा व्यवहारिक कुरामा आधारित छ। देशलाई विश्व शान्ति क्षेत्र बनाउने, कृषिलाई निर्यातमुखी बनाउने, स्वास्थ्य शिक्षाका कुरा भइहाले। त्यस्तै लैङ्गिक समानताका कुरालगायत थुप्रै कुराहरु छन्। सबै कुरा यहाँ भनिरहनु भन्दा पनि व्यवहारिक रुपमा लैजाने हो। हामीले बोलेका कुरा पूरा गर्न सकिने नै छन्। यी कुराहरु हाम्रो पार्टी सरकारमा गइसकेपछि गर्ने र अहिले गर्ने कुराहरू पनि छन्। निर्वाचन क्षेत्रका आधारमा चाहिँ उम्मेदवारले त्यस क्षेत्रको समस्या संकलन गरेर त्यसै अनुसारको एउटा योजना तयार गरेर जानुभएको छ।

दशकौँ वर्षदेखि जरा गाडेर बसेका राजनीतिक दलका उम्मेदवार मैदानमा छन्, उनीहरुलाई पराजित गर्ने रणनीति के छ ?

रणनीति भनेकै हाम्रो एजेन्डा हो। हाम्रो विचार र योजना नै हो। हामीले मासु रक्सी प्रेटोल बाड्ने छैनौँ, त्यो हाम्रो उम्मेदवार सँगै भोटरहरुलाई पनि जानकारी छ। अनि जरा गाडेर बसेका पार्टीको कुरा गर्दा त इतिहास एक चरणमा आएर फेरिने चिज हो, उहिले राणा हट्याे, राजा हट्यो पञ्चायत फेरियो, त्यसले गर्दा अहिले फेरि एउटा इतिहास फेर्ने दिन हो, मंसिर ४। राजा र राणाका अगाडि यी पार्टीहरु केही पनि हाेइनन्। त्यसैले यो पटकको चुनावमा चुनाव चिन्ह परिवर्तन गर्नुहोस्। तपाईं हामी मिलेर हाम्रो अवस्था परिवर्तन गरौँ।

अन्त्यमा मंसिर ४ गते घण्टीमै भोट किन दिने ?

मंसिर ४ मा भोट हाल्ने सन्दर्भ के हो भने नेपाली जनताले ठुला दलका यी पुराना उम्मेदवारलाई पटक–पटक भोट हाले तर परिवर्तन सकारात्मक भएन। अब पनि फेरि किन तिनीहरुलाई नै भोट हाल्ने त ? हो, यसको लागि अब ती पार्टी र उम्मेदवार को विकल्पमा हाम्रो पार्टी र उम्मेदवार छ। सकारात्मक परिवर्तनको लागि तमाम समस्या समाधानको लागि घन्टी चुनाव चिन्हमा मतदान गरौँ। परिवर्तन सम्भव छ।

प्रकाशित मिति: : 2022-10-14 22:05:00

प्रतिकृया दिनुहोस्