असन्तुष्ट नेता–कार्यकर्ता फकाउँदै पुन

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति तथा रोल्पा प्रदेश सभा २ का उम्मेदवार अमरसिंह पुन अहिले जिल्लामा भइरहेको गठबन्धनको आन्तरिक भेला तथा बैठकहरुमा एउटा कुरा नछुटाई भनिरहेका छन्।

उक्त कुरा हो, स्थानीय तहको निर्वाचनका बेला रोल्पामा माओवादी–काँग्रेस गठबन्धन नहुनु। प्रदेश सभापतिकै जिल्लाको स्थानीय तहको निर्वाचनमा गठबनधन नहुनुमा काँग्रेस नेता–कार्यकर्ता मात्र नभई माओवादीका केही नेता–कार्यकर्ताहरुमा पनि असन्तुष्टि देखिन्छ। संयोगवस त्यसमा पनि गठबन्धनको मुख्य बाधक पुन नै भएको आरोप लगाउँदै असन्तुष्ट भएका ती नेता–कार्यकर्तालाई फकाउने अवसर अहिले पुनलाई मिलेको छ। प्रदेश सभापति भएपछि जिल्लाको कार्यक्रममा खासै समय दिन नसकेका पुनले गठबन्धनका तर्फबाट टिकट पाएपछि अहिले उक्त आरोपको खण्डन गर्ने मात्र नभई आफ्नो पक्षमा मत जुटाउने मौकासमेत मिलेको छ।

पहिलो चरणमा भएको गठबन्धको केही आन्तरिक भेला र बैठकमा सहभागी हुने क्रममा पुनले स्थानीय तहको निर्वाचनमा आफ्नो कारणले नभई दुबै पक्षका कार्यकर्ताहरुको कारणले जिल्लामा गठबन्धन हुन नसकेको स्पष्ट पारेका छन्। हालै मात्र होलेरीमा सम्पन्न गठबन्धनको आन्तरिक भेला तथा सम्पर्क कार्यालय स्थापना कार्यक्रममा पुनले स्थानीय तहमा गठबन्धन नहुनुमा दुबै पक्षका स्थानीय नेता–कार्यकर्ताहरुको समन्वय अभाव भएको बताए।

माओवादीका तर्फबाट रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा पराजित गोविन्द पुन ‘नजर’लाई सँगै राखेर पुनले भने ‘यहीँ गाउँपालिकामा हेर्नुस् कार्यपालिका गठन हुँदा एमाले–माओवादीको गठबन्धन भयो।’ अहिले पनि केन्द्रबाटै गठबन्धन गर्ने निर्णय भएपछि मिल्नुको विकल्प नभएको पुनले बताए। पार्टीगत रुपमा आ–आफ्नो पार्टीको बचाउ गर्ने गरेको भएपनि व्यक्तिगत रुपमा कसैसँग केही नराम्रो सम्बन्ध नभएको पनि पुनले उल्लेख गरे। ‘अहिले सिजलजीले बागी हाल्नुभएको छ,’ पुनले भने ‘उहाँसँग पनि मेरो व्यक्तिगत रुपमा कुनै नराम्रो सम्बन्ध छैन्।’

शान्ति प्रक्रियाको बाँकी काम टुङ्गाउन पनि अहिलेको यो गठबन्धन भएकोले त्यसमा रोल्पामै अझ धेरै पीडित भएकाले रोल्पाको शान्ति र विकासका लागि गठबन्धन अझ आवश्यक भएको पनि पुनले बताए। अब बन्ने प्रदेश र संघीय सरकारमा रोल्पाबाटै नेतृत्वदायी भूमिकामा पुग्न सक्ने भन्दै त्यसमा पनि रोल्पालाई फाइदै हुने उनको भनाइ थियो।

कार्यक्रम पश्चात फोटो खिचाउँदै माओवादी नेता नजरले पनि स्थानीय नेता–कार्यकर्ताहरुकै दम्भका कारण रुन्टिगढीमा गठबन्धन हुन नसकेको बताए।

प्रकाशित मिति: : 2022-10-26 08:41:00

प्रतिकृया दिनुहोस्