चुनाव जितेर सिन्धुपाल्चाेकलाई विकासकाे बाटाेमा डाेर्‍याउन चाहन्छु: माया गुरूङ (भिडियाे)

रविन पुन मगर (आइडु)

सिन्धुपाल्चोक

राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट सिन्धुपाल्चोक क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्, माया गुरुङ।

पर्यटन व्यवसायमा समेत सफल गुरूङ लामाे समयदेखि सामाजिक कार्यमा सक्रिय छिन्। उनले शिक्षा र युवा स्वरोजगारको क्षेत्रमा महत्वपूर्ण योगदान गरेकी छन्। सिन्धुपाल्चोक र सिङ्गो नेपाली राजनीतिलाई नजिकबाट नियालेकी गुरुङ अहिले आफैं चुनावी प्रतिस्पर्धामा छिन्।

सिन्धुपाल्चोकको सर्वाङ्गिण विकासका एजेण्डा बोकेर चुनावी मैदानमा आएकी उनै गुरुङसँग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु)ले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?

मेरो राजनीतिक पृष्ठभूमि भन्दा पनि पहिले म सामाजिक अभियन्ताको रुपबाट धेरै कामहरु गरेँ। महिला सशक्तिकरण र युवा सशक्तिकरणका कामहरु गरेँ। अझ महत्वपूर्ण क्षेत्र भनेको मैले पर्यटनमा धेरै समय खर्चिएँ, लगानी गरेँ। तर, पछिल्लोपटक मलाई म एक्लैले एउटा संस्थाले गर्न सक्ने काम गरेकाे जस्ताे लाग्याे। दीर्घकालीन समस्या समाधानका लागि राजनीति नै मुख्य बाटो हो भनेर म राजनीतिमा आएकी हुँ।

राजनीतिमा आउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै किन राेज्नु भयाे ?

म यो भन्दा पहिला पनि पाँचपोखरी थाङ्पाल गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार भएर मेयरको लागि प्रतिस्पर्धा गरेकी थिएँ। म पहिलादेखि नै स्वतन्त्र थिएँ। र, यो पार्टी हामीजस्तै स्वतन्त्र बिचार बोकेर आएका ब्यक्तिहरुको संगठन हो, साझा घर हो, त्यसैले मैले राजनीतिमा अबकाे यात्रा यही पार्टीबाट सुरु गर्छु भनेर आएकी हुँ।

तपाईंहरुको पार्टीले अन्य पार्टीभन्दा धेरै महिला उम्मेदवार उठाएको छ, यो कुरालाई कसरी लिनुहुन्छ ?

राणाशासनविरुद्ध, पञ्चायतविरुद्ध र ०६२/६३ को जनआन्दोलनमा महिलाको उल्लेख्य भूमिका रहेको थियो। तर, अहिले आउँदा ती गुणहरु बिर्सिएर महिलाहरुलाई राजनीतिमा पछि पारियो। तर, हाम्रो पार्टीले महिला सशक्तिकरणका कुरालाई सशक्त रुपमा अगाडि बढाएको छ। त्यसैले पनि म यहाँ आएकी हुँ। यो एकदम राम्रो कुरा हो, यो मेरो लागि पनि मौका हो। म यसलाई सकारात्मक रुपमा प्रयोग गर्ने छु।

चुनाव जित्नका लागि उम्मेदवारहरु करोडौँ रकम खर्चिन तयार छन्, तपाईं पनि तयार हो ?

म संस्कारको राजनीति गर्न चाहन्छु। हिजोको दिनमा गरेको ब्यक्तिवादी पार्टीले जस्तै गर्ने भए म यहाँ किन आउँथेँ ? म युवा पनि हुँ, महिला पनि हुँ। म सँग स्पष्ट भिजन छ, योजना छ। भ्रष्टाचार र कमिसनको खेलतर्फ म जान्न। भलै म सँग आज थोरै मान्छे होलान्। तर, भोलिको दिनमा मलाई सहयोग गर्ने मान्छे आउनुहुन्छ भन्ने विश्वास छ। त्यसैले मैले पैसा खर्च गर्नभन्दा पनि जनतामाझ आफ्ना बिचार लगेर जान्छु।

तपाईंको अनुभव पर्यटन क्षेत्रमा बढी हो, सिन्धुपाल्चोक– २ लागि तपाईंको अन्य योजना के छन् ?

वास्तवमा सिन्धुपाल्चोकमा पुन:निर्माणका कामहरु गर्नुपर्ने हुन्छ। किनभने, २०७२ सालको भूकम्पपछि र त्यसपछिका बाढी र पहिरोले गरेका क्षतिहरु छन्। भौतिक रुपमा बाटा पुलहरुमा ठुलो क्षति पुर्‍यायाे। जसले गर्दा पर्यटनमा ठुलो असर गर्‍याे। आमनगरिककाे जनजीवनमा नै धक्का लाग्यो। यी कुराहरूको मध्यनजर गरेर मैले काम गर्ने छु। शिक्षा, स्वास्थजस्ता आधारभूत कुराहरु परिनैहाल्छन्। विशेषत यी सबै कुराहरूसँगै मैले पर्यटन त्यसपछि कृषिलाई जोड दिने छु। जसले सिन्धुपाल्चोकका आमजनतालाई स्वरोजगारको बाटोमा दोर्‍याउने छ।

तपाईंको क्षेत्रबाट गठबन्धन र अन्य दलका पार्टीहरु पनि मैदानमा छन्, तपाईंले कसलाई प्रतिद्वन्द्वी देख्नुहुन्छ ?

उहाँहरु सबै जना पहिले नै टेस्टेड हुनुहुन्छ। मैले भन्दा पनि जनताले नै मुल्यांकन गर्नुहुन्छ। याे मेरो पहिलो खुड्किला हो। मैले मेरो यो प्राइम टाइम मेरो ठाउँको विकासकाे लागि दिन्छु भनेर आएको छु। मेरो नजरमा हामी आफ्नै बिचार र भिजन बोकेर हिँडिरहेका छौँ। बाँकी कुरा जनताले जर्ज गर्नुहुने छ।

मंसिर ४ गते घण्टी चुनाव चिन्हमा भोट दिएर तपाईंलाई किन जिताउने ?

मैले बिगत लामो समयदेखि सामाजिक कामहरु गर्दै आएकी छु। म सँग राजनीतिक अनुभव छोटो होला तर म सँग समाजिक कामहरुमा थुप्रै अनुभव छन्। मैले शिक्षा स्वास्थ्य तथा युवा स्वरोजगारका कामहरु गर्दै आएको छु। अब यी आवाजहरु म सदनमा उठाउँछु। नीति निर्माणकाे तहमा पुर्‍याउने छु। त्यसैले यहाँका जनता पनि अब बुझ्ने भइसक्नुभएको छ। मंसिर ४ मा घण्टी चुनाव चिन्हमा भोट दिएर जिताउनु हुनेछ भन्ने विश्वास लिएकी छु।

प्रकाशित मिति: : 2022-11-02 22:10:00

प्रतिकृया दिनुहोस्