निरन्तर गतिविधिमा हिमा: दुर्गम रिखिदेउमा स्वास्थ्य इकाई स्थापना

जुम्लाको हिमा गाउँपालिकाले वडा नम्बर -२ काे सबैभन्दा दुर्गम गाउँ रिखिदेउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी संचालनमा ल्याइएको छ।

एक वडा एक सामुदायिक स्वास्थ्य इकाईको अवधारणा अनुसार हिमाले रिखिदेउ गाउँमा स्वास्थ्य इकाई संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए।

'नेपालको संविधानमा हरेक नेपाली नागरिकलाई निशुल्क स्वास्थ्य शिक्षा तथा सेवा प्रदान गर्ने व्यवस्था छ,' उनले भने, 'संघीयतापछि बनेका तीन तहका सरकारले संविधानका व्यवस्था कार्यान्वयनका लागि पहल कमदी गर्दै आएका छन्। हामीले त्याे लागू गरिरहेका छाैं।'

उनका अनुसार स्वास्थ नागरिककाे आधारभूत आवश्यकता हाे भने संविधानले दिएकाे माैलिक हक पनि हाे। त्यसैले हिमा गाउँपालिका स्वास्थ्य, शिक्षाको हक स्थापित गराउन सक्रिय छ।

त्यसैअनुरुप एक औँपचारिक कार्यक्रम गरी हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले उक्त स्वास्थ्य केन्द्रकाे स्थापना गरेका हुन्।

'दुर्गम गाउँमा स्वास्थ्य सेवाको सुनिश्चिता र स्थानीय सरकारको अनुभूति गराउन गाउँमै सेवा विस्तार गर्न गरेका छौं,' उद्घाटनको क्रममा अध्यक्ष शाहीले भने, 'अब हिमाका ७ वटा वडामध्ये ६ वटै वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भइसकेका छन्। ७ नम्बर वडामा मात्रै बाँकी छ।' उनले त्यसलाई जति सक्दाे चाँडै स्थापना गरिने बताए।

रिखिदेउमा स्वास्थ इकाई स्थापना हुँदा नागरिकले गाउँमै सहज रुपमा प्रथामिक उपचार पाउने भएका छन्।

३९ घरधुरी रहेको रिखिदेउ गाउँका सयौं नागरिकले गाउँमै प्रथामिक उपचार पाउने भएपछि खुसी भएका छन्। पहिला सामान्य उपचार गराउन, टाउको दुखे सिटामोलका लागि समेत टाढा जानुपर्ने बाध्यताबाट रिखिदेउका नागरिक मुक्त भएका छन्।

प्रत्यक सामुदायिक स्वास्थ्य इकाईमा एक जना अनमी र कार्यालय सहयोगीसहितको जनशक्ति खटाइएको छ। पालिकाले स्वास्थ्य सेवा विस्तार र पूर्वाधार निर्माणका लागि बजेटमा प्रथामिकता दिएकोले सबै सामुदायिक स्वास्थ्य इकाईलाई सुविधा सम्पन्न बनाइने अध्यक्ष लक्ष्मण शाहीको भनाई छ।

यसअघि नै हिमा गाउँपालिकाले पालिकाका सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गराउने नीति पास गरिसकेको छ। विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुराउन गरिएको नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रमले राहत पुर्‍याएको छ।

पूर्वाधार विकास, सेवा प्रवाह, जनमैत्री काममा जिल्लाकै नमुना बन्दै गएको हिमाले संघीयता कार्यान्वयन र स्थानीय सरकारको महशुस गराउने खालका काममा अग्रसर भएको छ।

जनताको घरआगनकाे सरकारका रुपमा रहेको स्थानीय तह प्रति नागरिकका असिमित चाहाना छन्। तर सिमित स्रोत साधनका बाबजुद पनि स्थानीय सरकार स्थापनापछि उल्लेखीय विकास भइरहेको अध्यक्ष शाहीले बताए।

प्रकाशित मिति: : 2022-11-26 15:33:00

प्रतिकृया दिनुहोस्