सिंहदरबारसंगै अघि बढिरहेकाे हिमा

देशमा नयाँ संविधान निर्माण भएसँगै स्थानीय तहकाे संरचना बन्दा गाउँमा सिंहदरबार आयाे भनियाे। स्थानीय तहलाई स्वायत्तताकाे अधिकार दिँदा निर्णय प्रक्रिया प्रभावकारी हुन थाल्यो। कति स्थानीय तहकाे कार्यकारी पदमा रहनेहरुका कारण गाउँका सिंहदरबारकाे व्यापक आलोचनासमेत भयाे र भनियाे, 'गाउँमा सिंह आए, दरबार आएनन्।'

तर, जुम्लाकाे हिमा गाउँपालिकामा भने सिंहदरबार नै आएकाे महशुस हुन थालेकाे स्थानीयले बताइरहेका छन्। स्राेतसाधन सीमित हुँदा पनि हिमा निरन्तर अगाडि बढिरहेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, पूर्वाधारलगायतका क्षेत्रकाे विकासलाई हिमाले पहिलाे प्राथमिकतामा राखेकाे छ। निरन्तर गतिविधि गर्न सकेकै कारण हिमा अग्रपंक्तिमा रहने गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए।

'पालिकाका ७ वडामध्ये ६ वटा वडा आफ्नै भवनमा सञ्चालित छन्। ७ नम्बर वडाबाहेक सबै वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन्,' उनले भने, 'पालिकाभरिका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ भने हिमाको १ नम्बर वडाले भत्ता बुझ्न निःशुल्क गाडीको व्यवस्था गरेको छ।'

उनका अनुसार दुर्गम गाउँका नागरिकलाई सजह, सरल, छिटो र छरितो सेवा प्रवाह गर्न पालिकाले चारवटा वडामा नयाँ पक्की भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ भने वडा नं. १, ५ र ६ का कार्यालय गाविस भवनमा सञ्चालित छन्। शिक्षा, स्वास्थ्य, सञ्चारलगायत क्षेत्रमा हिमाले देखिने गरी काम गरेकाे छ।

शिक्षामा हिमा

भाषाकाे माध्यम महत्वपूर्ण नभएपनि हिमालाई संसारभर जाेड्ने उदेश्यसहित पालिकाभरिका २२ वटै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ गर्ने प्रक्रिया अगाडि बढाइएकाे अध्यक्ष शाहीले बताए। उनले भने, 'सँगै हामीले प्रत्येक विद्यालयमा डिजिटल हाजिरी, फ्रि वाइफाई, सीसी क्यामरा जडान गर्दैछाैं।'

याेसँगै हिमाले विद्यालयहरुमा मजबुत भाैतिक संरक्षण निर्माणमा जाेड दिएकाे छ। कक्षा कोठाको अभाव खेपिरहेको रुपाकोट आधारभूत विद्यालय बाजागाडमा पक्की भवन भएपछि विद्यालयमा खुशीयाली छाएको छ।

राष्ट्रपति शैक्षिक कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माण भएपछि विद्यालयले बाजागाजासहित खुसियाली मनायाे। त्यहाँकी प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिकाकै दुर्गम गाउँ बाजागाड र त्यहाँ रुपाकोट आधारभूत विद्यालय ओझेलमा परेको बेला चारकोठे भवन निर्माण हुनु खुसीको खबर भएकाे उनले बताइन्।

'हामीले तीन कोठामा ६ वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता थियाे। अब सहज भयाे,' उनले भनिन्, 'बालबालिका सुखमनले कक्षा कोठमा बस्न पाउने भए। ३६ लाख लगानीमा टिनले छाएको दुईतले पक्की भवन निर्माण हुँदा विद्यालयलाई निकै राहत भएकाे छ।'

विद्यालयका भवन उद्घाटन गर्दै अध्यक्ष शाहीले भने, 'अब विद्यालयमा आउने बिग्रिएको बाटो बनाउने र घेरबारमा गाउँपालिकाले सहयोग गर्नेछ।' उनका अनुसार रुपाकाेटमामा यस वर्ष पनि राष्ट्रपति शैक्षिक कार्यक्रमको अन्तर्गत ५५ लाखको भवन परेकाे छ।

स्थानीय अलि रोकायाले विद्यालयमा हालसम्मको ठुलो याेजना पर्दा हिमा विकास हुने विश्वास व्यक्त गरे।

त्यस्तै हिमाकै दुर्गम कालिका मा.वि बड्कीमा लामो समयपछि पक्की भवन निर्माण भएकाे छ। राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका दुई भवन एकैसाथ उद्घाटन गरिएको छ। विद्यालयमा कक्षाकोठा अभाव भइरहेको समयमा पक्की भवन निर्माण भएपछि विद्यालयमा अध्यापनमा सजिलाे भएकाे छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीका अनुसार राष्ट्रिय योजना आयोगको सहयोगमा एक करोड आठ लाखको चारकोठे पक्की भवन निर्माण भएको छ। यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २ कोठे भवन निर्माण भएको छ। नवनिर्मित भवन अध्यक्ष शाहीले उद्धाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष शाहीले भने, 'कालिका माध्यामिक विद्यालय बड्कीलाई नमुना विद्यालय बनाउन प्रथामिकता दिइनेछ। अब नमुना भनेकाे भाैतिक संरचना सहिद स्तरीय वातावरणमा अध्ययन अध्यापन कार्य सुचारु गर्नु हुनेछ।'

पाँच वर्षे कार्यकालमा हिमाले शिक्षालाई पहिलाे प्रथामिकता दिने याेजना राखेकाले विद्यालयको गुणस्तरमा ध्यान दिने एक नम्बरका अध्यक्ष रतनबहादुर शाहीले बताए।

चुस्त स्वास्थ्य सेवा

हिमालाई जिल्लाकै नमुना पालिका बनाउन आफ्ना चुनावी घोषणापत्रको अक्षरशः पालना गर्ने अध्यक्ष शाहीकाे प्रतिबद्धता छ। साेहीअनुसार स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएकाे उनले सुनाए।

हिमाले सबै नागरिककाे नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई याे आर्थिक वर्षकाे पहिलाे चाैमासिमा लागु गर्ने प्रक्रिया अगाडि बढाएकाे छ। सबै नागरिककाे भनिए पनि कतिपयले अग्रिम रुपमा स्वास्थ्य बिमा गरेर सेवासमेत लिएका छन्। त्यसैले पनि सबै घरपरिवारकाे गर्नुपर्ने नभएकाे उनले बताए।

'त्याे अवधिभित्र बिरामी हुनेलाई हामीले नि:शुल्क उपचारकाे बन्दाेबस्त मिलाएका छाैं। हरेक तीन-तीन महिनामा स्वास्थ शिविर सञ्चालन गरिरहेका छाैं' उनले भने, 'जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब, विपन्न, अपाङ्गता भएका तथा अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा दिनु हाम्राे कर्तव्य ठानेका छाैं।'

हिमाले स्वास्थ्य शिविर मात्रै हाेइन, आँखा शिविर पनि सञ्चालन गरिरहेकाे छ। याे शिविरकाे उपलब्धि भनेकाे हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हाे, जसकाे उद्घाटन स्थानीय सरकारका ९९औँ दिनमा भइसकेको छ।

सञ्चार सेवालाई प्रभावकारी बनाउने प्रयास

२०७४ काे स्थानीय तहकाे निर्वाचनमा पराजय बेहाेरेका शाहीले माेहन बहादुर बस्नेत सञ्चार मन्त्री हुँदा हिमा गाउँपालिका-१ देवार गाउँकाे मालिङ्गेमा नेपाल टेलिकमकाे टावर बनाउने पहल चालेका थिए। साेहीअनुसार याे निर्वाचनकाे मुखमा उक्त टावर परिक्षण प्रसारणमा आएकाे थियाे।

हाल हिमामा फाेरजीसहितकाे टावर सञ्चालनमा आइसकेकाे नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले बताए। उनले भने, 'दुर्गम गाउँकाे इन्टरनेट समस्या समाधान भई फोरजीसहितको सेवा सुरु भएपछि हिमाबासी खुसी छन्।'

बाढीले बगाएका संरचना निर्माण

गत असोजमा आएको बाढीले पुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको हिमाको बड्की मोफ्ला जोड्ने काठेपुल सेनाकाे सहयोगमा बनाइ नगरिकलाई राहत पुर्‍याइएकाे अध्यक्ष शाहीले बताए।

हिमा सरकारले ४८ लाखभन्दा बढीको लागतमा दुई वडा जोड्ने झुलंगे पुल निर्माण थालेकाे छ। काठेपुल दिगो समधान नभएको र वर्षेनि आउने बाढीले समस्या निम्त्याउने भन्दै झोलंगे पुल निर्माण थालिएको उनकाे मत छ।

अध्यक्ष शाहीका अनुसार हिमाले यीबाहेक हेल्पडेस्कको स्थापना गरेकाे छ। जसले गुनासो सुनुवाइलाई प्रभावकारी बनाएकाे छ। बढ्दो जलवायु परिवर्तनबाट बच्न, वातावरण संरक्षण गर्न तथा बाढी, भू-क्षयजस्ता घटना न्यूनीकरण गर्न 'ग्रिन रोड ग्रिन रिभर'को नीति अनुसार पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोप्ने अभियान समेत थालिएको छ। याे वर्ष ४० हजारभन्दा बढी बिरुवा रोपिएको छ। डिजिटल सेवाको अवधारणा लगायतका कामहरु निरन्तर अघि बढाएको छ।

प्रकाशित मिति: : 2022-11-30 12:32:00

प्रतिकृया दिनुहोस्