अन्तर्वार्ता 

प्रदेशबाटै पार्टी बलियो बनाउन सकिन्छ भनेर नेतृत्वमा आएँ : शुक्रराज शर्मा 

कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत प्रदेश कमिटीको चुनाव सम्पन्न भएको छ। प्रदेश कमिटीको संस्थापक नेतृत्व देशभर चयन भएका छन्।

प्रदेश कमिटीको चुनावमा गण्डकीमा कास्कीका पुराना नेता शुक्रराज शर्मा सभापतिमा चयन भएका छन्। संस्थापन पक्षले देशभर पकड बनाई रहँदा गण्डकीमा इतर पक्षका शर्माले सभापतिमा बाजी मारेका हुन्।

१७ वर्षसम्म एक्लै कास्की कांग्रेस हाँकेका शर्मासहित उनको प्यानलबाट चुनाव उठेका धेरै जसो उम्मेदवार नेतृत्वमा चयन भएका छन्।

नेतृत्वमा चयन भई सकेपछि शर्माले कांग्रेस गण्डकीका लागि देखेको भावी योजनाबारे हामीले कुराकानी गरेका छौं।

प्रस्तुत छ नेपाली कांग्रेस गण्डकीका संस्थापक अध्यक्ष शुक्रराज शर्मासँग बिएल नेपाली सेवाले गरेको कुराकानीको अंश :

नेतृत्वमा आउनुभयो, अब कसरी अघि बढ्नुहुन्छ ?

मैले चुनाव लड्नुअघि नै सार्वजनिक रुपमा घोषणा गरिसकेको छु। तपाईंलाई थाहै छ, म राष्ट्रियता, प्रजातन्त्र, समाजवादको जगमा स्थापित भएको नेपाली कांग्रेसलाई व्यवस्थित, मर्यादित, अघिल्लो पुस्ताको सम्मान, प्रशिक्षित नयाँ पुस्ताको नेतृत्व स्थापित गराउने हाम्रो पार्टीको लक्ष हो। त्यसमा व्यक्तिको स्वतन्त्रतालाई सर्वोच्च महत्व दिएर, व्यक्तिमा भएको क्षमतालाई उपयोग गरेर, व्यक्तिलाई सम्पन्न गराउने, समाजालाई सम्पन्न गराउने। त्यसमार्फत राष्ट्रलाई सम्पन्न गराउने र नेपालीको शिर ठाडो बनाउने। कांग्रेसको माध्यमबाट देशको नेतृत्व गर्ने संकल्पको साथ हामी निर्वाचनमा आएका छौं।

त्यसलाई विश्वास गरेर साथीहरुले जिम्मेजारी सुम्पिनु भएको छ। सबै साथीहरुको साथ लिएर जनताको सेवामा निरन्तर सक्रिय हुने हामीले संकल्प गरेका छौं।

आन्तरिक प्रतिस्पर्धा भनिए पनि अलि अस्वस्थ्य जस्तो देखियो, आम चुनावको जस्तै झल्को दियो भनेर भनेको सुनियो। तपाईं के भन्नुहुन्छ ?

जति देखियो। मलाई पनि अनुभव त भएको छ। तर, हाम्रो तर्फबाट त्यस्तो केही गरेनौं। हामीले अत्यन्त शालिन, मर्यादित भएर चुनाव सम्पन्न गराउन चाहेका थियौं। हामीले त्यसो गरेनौं। तर, बाहिर कताकता त्यस्तो पनि देखियो। तै पनि हामी सबै कुरामा सावधान रहेर, मर्यादीत रहेर चुनाव सम्पन्न गरेका छौं। विवाद आउन खोजे पनि हामीले शालिनतापूर्वक सामना गर्‍यौं। सह्यौं।

तपाईंको प्यानलबाट धेरै उम्मेदवारले जित्नुभयो। अर्को पक्षलाई कसरी मिलाउनुहुन्छ ?

निर्वाचनको बेलामा जस्तो कुरा गरेपनि हामी हिजो जस्तो थियौं। आज पनि त्यस्तै छौं। हामी सबै साथमा लिएर, प्रजातन्त्रमा कसैले जित्दैन। कसैले हार्दैन। सबैले जितेका छौं। दुई चार मत बढी पाएर मैले नेतृत्व गर्ने अवसर पाएँ। हामीसँगैका साथीहरु दुई चार मतले पछि पर्नुभयो। तर, हामीसँगै भएर अघि बढ्ने हो।

प्रजातान्त्रिक मर्यादा पनि हो। प्रजातान्त्रिक पद्धति पनि हो। त्यसै आधारमा सबैको साथ लिएर हामीले पार्टी सञ्चालन गर्छौं। उहाँहरुको पनि साथ लिएर हामीले काम गर्छौं।

तपाईं कांग्रेस गण्डकी सभापति बनिसकेपछि मुख्यमन्त्रीको दाबी गर्नुभयो भनेर पनि भन्छन् ? हो कि होइन ?

होइन। यसको कत्ति पनि कल्पना छैन। मुख्यमन्त्रीका लागि एक डेढ वर्षपछि चुनाव हुन्छ। चुनावपछि को हुन्छ ? को हुँदैन। को साथी आउँछन्। को सिनियर हुन्छ ? कसलाई दिने ? को चुनाव जितेर आउँछ ? को क्षमतावान छ ? पार्टीमा छलफल पछि हुन्छ। अहिलेको यो हल्ला मनगढन्ते हो।त्यसकारण यो मनगढन्ते कुराको पछि लाग्ने होइन। हामी पार्टीलाई बलियो बनाउने र निर्वाचनमा जिताउन लाग्नुपर्छ।

तपाईंका समकालिन नेताहरु केन्द्रमा छन्। केन्द्रिय नेतृत्व दाबी गरिरहेका छन्। तपाईंले किन प्रदेश रोज्नुभयो ?

म संगठनको मान्छे हुँ। हिजो पनि मैले संगठनमा काम गरेर आएको हुँ। संगठन कमजोर भएको हुनाले केन्द्रमा गएर केन्द्रिय सदस्य रहेर पनि भएन। केन्द्रमा गएर महामन्त्री या अन्य भुमिका पाउने जस्तो पनि देखिनँ। त्यसकारण गण्डकी प्रदेशमै पहिलो संरचना पनि हो यो। यही संरचना मार्फत नै हाम्रो आफ्नो पार्टी बलियो बनाउन सकिन्छ। व्यवहारमा लागु गर्न सकिन्छ। पार्टीलाई मर्यादीत बनाउन सकिन्छ भन्ने अनुभव विघटनको अनुभव पनि भएकाले मैले गण्डकी प्रदेशमा सभापतिको रुपमा निर्वाचनमा प्रस्तुत गरेको थिएँ।

साथीहरुले मेरो विचार, मेरो संकल्पलाई विश्वास गर्नुभयो। प्रजातन्त्रमा कसैले जित्दैन, हार्दैन। सबै साथीहरुलाई लिएर जसको जहाँ आवश्यकता छ, त्यहीँ राखेर त्यहीँबाट प्रजातन्त्रलाई बलियो बनाउँछौं। 

कांग्रेसमा सुधार्नुपर्ने कुरा के देख्नुभएको छ ? अब गण्डकी कांग्रेसलाई कहाँ पुर्‍याउछु भनेर सोच्नुभएको छ ?

कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, समाजवादको जगमा स्थापित पार्टी हो। त्यो राष्ट्रियता, प्रजातन्त्र अहिले कमजोर छ।  हुँदाहुँदै कांग्रेसकै मान्छेले प्रजातन्त्र भन्न छाडेका छन्। आफ्नो मौलिकतामा विचलन भएको देखिएको छ। राष्ट्रियता, प्रजातन्त्रको जगलाई थप मजबुत बनाउने संकल्पका साथ हामी अघि बढ्नेछाैँ। नेतृत्वमा निर्वाचित भएर आएका युवाहरुलाई प्रशिक्षण दिने, तिनलाई व्यवस्थित गर्ने। नेतृत्व विकास गर्ने। कांग्रेस हुने दिनका लागि हो। त्यसको लागि नेतृत्वमा स्थापित जुनसुकै व्यक्तिलाई हामीले संस्कार विकास गराएर युवाहरुको साथ लिएर अगाडी बढ्छौं।

अबको पाँच वर्षमा प्रशिक्षण प्राप्त नेतृत्व कांग्रेसमार्फत राष्ट्रलाई दिन चाहन्छौं। जनताको हकलाई हामी सरह बनाउन चाहन्छौं। विपीले १५ वर्षमा सबै जनता म सरह बनाउँछु भनेर भन्नुभएको थियो। हामी उहाँकै कार्यकर्ता हौं। त्यही अवस्थामा पुर्‍याउन हामी अहोरात्र खटेर जुन आर्दशमा स्थापित पार्टी हो, त्यसैलाई माध्यम बनाएर हामी राजनीतिमा सेवा गर्न आएका हौं। गर्छौं। 

प्रकाशित मिति: : 2021-12-05 20:25:00

प्रतिकृया दिनुहोस्