गाउँ केन्द्रित गतिविधिमा गुठीचौर (भिडियोसहित)

जुम्लाकाे गुठीचौर-१ बेहुलीपाटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बलिबहादुर रोकाया गाउँमै सबै सेवा पाउँदा दंग छन्। अघिल्लो वर्ष पालिकामै गएर बल्लतल्ल योजना सम्झौता गरेका उनले एक रात बाससमेत बस्नुपरेको थियाे। तर याे वर्ष पालिकाकाे टाेली उनकै गाउँमा आएर याेजना सम्झाैता गराैं भन्दा उनी एकछिन अकमकिए। हाे कि हाेइन साेचे। तर त्याे कुरा हकिकतमा बदलिएपछि उनकाे खुसीको सिमा रहेन।

'बास बसेपछि खर्च पनि धेरै हुन्थ्यो। न समय बचेको समय उपयोग हुन्थ्यो नत रकम नै बचाउन सकिन्थ्यो,' उनले खुसी हुँदै आफ्ना कुरा यसरी सुनाए, 'यो वर्ष गाउँमै सरकारी टोली पुगेकाे छ। हप्तादिनसम्म पनि हुन नसक्ने काम एकै दिनमा भयाे। हामी नागरिक निकै खुसी छौं। राहत हुन थालेकाे महसुस गर्न गरेका छाैं।'

स्थानीय गणेश बुढाले स्थानीय सरकारबाट उपलब्ध हुने हरेक सेवा सुविधा जनताले देख्ने र महसुस गर्ने भएकाे बताए। 'अघिल्लो सरकारका पालामा सरकार छ कि नाई जस्ताे हुन्थ्यो। अहिले घरदैलोमै सेवा पाइरहेका छाैं,' उनले भने, 'सरकार भएको अनुभूति हुन थालेको छ। योभन्दा खुसीको कुरा के हाेला?'

जनताले आफ्नाे अभिव्यक्तिमा खुसी प्रकट गर्नुकाे पछाडि गुठीचाैर गाउँपालिकाले गाउँ केन्द्रित क्रियाकलापमालाई महत्व दिनु हाे। पालिका अध्यक्ष दानबहादुर बुढा निर्वाचित भएसँगै जतनाले महसुस गर्ने गरि काम हुन थालेका छन्।

जनतासँगकाे सामिप्यता, सहृदयीता, समस्यासँग हातेमालो गर्नमा अभ्यस्त अध्यक्ष बुढाले स्थानीयलाई हरेक दिन सरकार आएको अनुभूति गराइरहेका छन्। यतिबेला स्थानीयहरु सानाेतिनो कामका लागि पालिका केन्द्रसम्म पुग्नु पर्दैन। पालिका सरकार स्थानीयको दु:ख‚ पीडा बुझ्न गाउँमै पुग्ने गर्छ।

गाउँपालिकाबासीको गुनासो सुन्न र विकास योजनाको काम प्रभावकारी भए/नभएको हेर्न अध्यक्ष बुढा आफैँ पुग्ने गरेका छन्। वडा नम्बर दुईका स्थानीय गाेपाल बाेहाेराले भने, 'पालिका अध्यक्षले आफू शासक नभएर जनताकाे सेवक भएकाे कुरा हरेक दिन प्रमाणित गरेर देखाइरहनु भएकाे छ। जसले स्थानीय सरकारले दिने सेवासुविधा निकै चुस्त र प्रभावकारी बन्ने गरेको छ।'

भौगोलिक दृष्टिले दुर्गम रहेका गाउँबस्तीमा सरकारी सेवा सहज रुपमा पुर्याउन कुनै कन्जुस्याइँ नगरिने अध्यक्ष बुढाले बताए। 'स्थानीय सरकारले पालिका कार्यालयमै बस्ने र जनताको इच्छा आकांक्षालाई हल्का ढंगले लिने गर्नु काम कदापि राम्राे हाेइन,' उनले भने, 'त्यसैले हरेक बस्तीमा पुगेर जनताको समस्या प्रत्यक्ष रुपमा बुझ्न र विकास निर्माणका गतिविधिकाे अगाडि बढाउन र निगरानी गर्न पनि बस्ती बस्तीमा पुगिरहेका छौं।'

गुठीचाैरकाे वडा नम्बर एक र दुई पालिका केन्द्रबाट टाढाका बस्ती हुन्। पालिका अध्यक्ष बुढा प्रमुख प्रशासकीय अधिकृतसहितकाे कर्मचारी टाेली लिएर योजना सम्झौता गर्न आफैँ खटिँदा स्थानीयलाई हरेक दिन सरकार हुनुकाे आनन्द मिलिरहेकाे छ।

गुठीचाैर गाउँपालिका-२ गुठीगाउँका रतनसिंह बाेहाेरा सरकारको यो कामले स्थानीयलाई निकै उत्साहित बनाइरहेकाे बताउँछन्। 'समस्या परेकाे बेला सामूहिक काम हुन्छ। अध्यक्ष आफैँ आएर श्रमदान गर्नुहुन्छ र गर्न लगाउनुहुन्छ। उहाँहरुकाे टिमले गरेका हरेक कामले जनता सन्तुष्ट हुँदै गइरहेका छन्।'

हरेक वडामा पुगेर शिविरको आयोजना गर्ने, योजना सम्झौता गर्ने र विकास निर्माणको आवश्यकता र महत्वबारे छलफल गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार पालिका अध्यक्ष बुढाको नेतृत्वमा १० जनाको कर्मचारी टिम घरदैलोमा पुगेर योजना सम्झौतालगायतका काम गरिरहेको छ।

गुठीचौर-१ मा परेका ३१ योजनामा २२ वटाकाे सम्झौता गरिएको छ। चेतनाको कमी, भौगोलिक कठिनाइ, आवश्यक कागजातको कमी र उपभोक्तालाई खान बस्नको समस्या मध्यनजर गर्दै गाउँमा पुगेको अध्यक्ष बुढाले बताए।

'उपभोक्ता योजना सम्झौता गर्न पालिकासम्म आउनुपर्ने अवस्थाको अन्त्य गर्दैछौं,' उनले भने, 'अनुगमन गर्न बस्ती स्तरमै पुगेर त्यहीँ भुक्तानी दिने वातावरण मिलाउन थालेका छाैं।'

एकै दिनमा सकिने काम पालिकासम्म आइपुग्दा दुई/चार दिन लाग्दा यसअघि उपभोक्ताहरुले आफू मर्कामा परेकाे गुनासाे गरिरहेका थिए। उपभोक्ताको समय र खर्चलाई मध्यनजर गरी वडास्तरमै पुगेर सेवा प्रदान गर्न थालिएको एक नम्बर वडाका अध्यक्ष अर्जुनकुमार महताराले बताए।

'यसअघिका वर्षहरुमा जे भयो भयो तर अब सानोतिनो काम गर्न सेवाग्राहीहरु पालिकामै पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ,' उनले भने, 'जनताले सरकार पुगेको अनुभूति गरुन्। सरकारले जनताको काम गर्न सकेको महसुस गरोस् अनि मात्र स्थानीय सरकारको महत्वबारे प्रस्ट हुन्छ।'

अहिले योजना सम्झौतादेखि सामाजिक सुरक्षा भत्ता समेत घरदैलोमै पुगेर बाँडिन्छ। कृषि, पशु, शिक्षा, स्वास्थ्यका कार्यक्रम पनि ग्रामीण क्षेत्र केन्द्रित बनाइएको पालिका अध्यक्ष बुढाले बताए। उनले भने, 'बाढीपहिरोले क्षतिग्रस्त संरचना निर्माण गर्न बस्तीस्तरमै पुग्नेदेखि हरेक नागरिकको समस्यासँग एकाकार हुन जिल्लास्थित सरोकारवाला निकायसँग समेत समन्वयकारी भूमिका निर्वाह गरिरहेका छाैं।'

मंसिर महिनाभित्र सम्झौता भएका योजनाको काम प्रारम्भ भएर चैत मसान्तभित्र भुक्तानी दिइने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए। 'अब सबै काम असार मसान्तमा गर्ने भन्दै थन्काएर राख्ने परिपाटीको समेत अन्त्य हुनेछ,' उनले भने, 'अब सरकार खोज्दै नागरिक पालिका पुग्नु पर्दैन। पालिकाले नागरिकका पिरमर्का सुन्न सरकार घरदैलोमै पुग्छ भन्ने सन्देश दिन खाेजिरहेकाे छ।'

उनका अनुसार सबै योजनाको सम्झौता भइसकेकाले छिटै काम सुरु हुनेछ। एउटा वडाको योजना सम्झौता पूरा भएकाले अब वडा नम्बर २ काे तयारी गरिएको छ। गुठीचौर गाउँपालिभित्र ५ वडा छन्। सरकारले जनताको घरदैलोमा गएर सेवा मात्र दिएको छैन, सेवा प्रभावकारी भए/नभएको, पारदर्शीता भए/नभएको बारेसमेत निगरानी राख्ने गरेको छ।

गुठीचाैरका सबै बस्तीसम्म सडक पुगेको छ। बिजुलीको अभाव छैन। सडक पुगिसकेको बस्तीमा ग्राभेल गर्ने र बिजुली नपुगेको बस्तीमा विद्युत् पुर्‍याउनेदेखि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकता दिइएको छ।

पालिकाले दिने हरेक सेवा फरक क्षमता भएका व्यक्ति मैत्री, महिलामैत्री, दलितमैत्री, बालबालिका र जेष्ठनागरिक मैत्री तथा दूरदराजका नागरिकमैत्री हुने गरेकाे अध्यक्ष बढाकाे भनाइ छ।

'स्थानीय सरकारको एक मात्र उदेश्य जनताकाे खुसी र उनीहरुको जीवनको रेखदेख हो,' उनले थपे, 'यही मूलभूत मान्यतालाई दृष्टिगत गरी गुठीचौर गाउँपालिकाको स्थानीय सरकार अगाडि बढिरहेको छ।'

पालिकाले पछिल्लो समय स्वास्थ्य शिविर, विद्यालय भर्ना अभियानदेखि सुत्केरी तथा गर्भवती अवस्थामा भोग्नुपर्ने समस्या र हेरचाहको विषयलाई गहन रुपमा लिन थालेकाे छ। गर्भवती र सुत्केरी बोक्नका लागि छुट्टै गाडीको प्रबन्ध मिलाउनुका साथै जटिल प्रकारका बिरामी ओहोरदोहोर गर्न पालिकाकाे गाडीलाई एम्बुलेन्सकाे रुपमा प्रयाेग गरिएकाे छ।

प्रकाशित मिति: : 2022-12-06 11:35:00

प्रतिकृया दिनुहोस्