तन्नेरी मत

'जनयुद्ध राजनैतिक आन्दोलनको गौरवपूर्ण इतिहास हो'

दशवर्षे जनयुद्धबारे नेपाली लाेकमा आ–आफ्ना तर्क–वितर्क छन्। तर युवा नेत्री सदिक्षा केसीले त्याे विगत 'राजनैतिक आन्दोलनको गौरवपूर्ण इतिहास भएको बताउँछिन्।

जनयुद्धका सुप्रिमाे पुष्षकमल दाहाल 'प्रचण्ड' नेतृत्वकाे गठबन्धन सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेत्री केसीले शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूमा स्वास्थ्य लाभको कामनासमेत गरिन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाललाई मात्र नभई विश्व समुदायलाई झकझकाउने गरि न्याय, समानता र पहिचानको लागि नागरिकले आफैँ हतियार उठाएको 'राजनैतिक आन्दोलन नेपाली राजनीतिको गौरवपूर्ण इतिहास' भएको बताइन्।

'जनयुद्धले नेपाली राजनीतिलाई नयाँ कोर्समा लिन सफल भएका कारण संविधानसभा हुँदै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुगेको हो। यसले नेपाली महिलालाई चुलोचौको बाट सिंहदरबार सम्म पुर्‍याउने स्तरमा उठाएको हो,' केसीले भनिन्।

अमेरिकाजस्तो देशमा महिला राष्ट्रपति बन्न अझै कठिन भएको अवस्थामा नेपालले महिला राष्ट्रपति र सभामुख पाउनु पनि जनयुद्धकै देन ठान्छिन्, नेत्री केसी। 

'जनयुद्धका समयमा भएका थुप्रै अमानवीय घटनालाई छानविन गर्नुपर्छ। अधूरै रहेको संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्छ। कसैले पनि घाउ कोट्याउनु हुँदैन,' उनले विज्ञप्तिमा भनेकी छिन्, 'अब नयाँ नेपाल निर्माणको महायज्ञमा जुट्ने प्रेरणा सबै देशवासीमा मिलोस्। अन्तमा, महान शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूमा स्वास्थ्य लाभको कामना।'

प्रकाशित मिति: : 2023-02-12 21:28:00

प्रतिकृया दिनुहोस्