सौर्य उर्जाले उज्यालिएको पोखरी गाउँ

'झराे (सल्लाको दियालो) बालेर जाेवन जान्या पिर थियाे। नपडी हामी अन्धकारमा थियौँ, बत्ती नभई गाउँ अन्धकारमा। अहिले त गाउँ झिलिमिली छ। रात पनि दिउँसाे जसाे छ। हाम्रा त मनमा घाम लागेकाे छ।' साैर्य उर्जाले गाउँ नै झिलिमिली पारेपछि जुम्लाकाे तिला गाउँपालिका-७ पाेखसीका मुनबहादुर रोकायाले दंग पर्दै आफ्ना कुरा राखे।

बिजुली बाल्ने सपना याे जुनीमा पूरा हुँदैन हाेला भन्ने साेचेका उनी अहिले रातदिन घरमा जडान गरिएका बल्भ हेर्छन्। घरि स्वीच अन गर्छन्, घरि अफ। आफ्नै घरमा यस्ताे देख्दा उनकाे मनसम्म कयौं उज्यालेका किरणहरु पुगेका छन्। जसले उनलाई असिम खुसी मिलिरहेकाे छ।

उनकाे मनमा छचल्किरहेकाे खुसीलाई यसरी पाेखे, 'गाउँ नै झिलीमिली छ। बिजुली बाल्ने धोको त वर्षाैंदेखिकाे हाे हजुर तर पूरा भएकाे थिएन। अहिले पूरा भयाे। गाउँका घर मात्रै उज्याला कहाँ भयाका छन् त हजुर, सारा पोखरीबासी उज्याला छन्।'

गाउँ २४सै घण्टा झिलीमिली हुँदा वर्षौंदेखि झराेले भित्तामा लगाएका काला दाग प्रष्ट देखिन्छन्। उज्यालोले घरका सानाभन्दा साना वस्तु पनि सजिलै भेटिन्छन्। यसले औधि आनन्द मिलेकाे पोखरी गाउँकै धनबहादुर रोकायाले बताए।

'अन्त पानीबाट बिजुली बाल्छ्न्। पोखरीमा न बिजुली निकाल्ने खोला छ, न त घरै पिच्छे सोलार किनेर बिजुली बाल्नलाई पैसा नै पर्याप्त,' उनले भने, 'गाउँका सबै हुनेखाने छैनन्। कसैकसैका घरमा बालेकाे सोलार बत्ती हेरेर चित्त बुझायाैं। अब त जे गर्न पनि आफ्नै घरमा बिजुली छ।'

पोखरी गाउँमा ६० घर छन् । गाउँ नजिकैकाे अर्को गोठीबस्ती पनि छ। वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीयहरु त्यतै बस्छन्। अहिले त त्याे अस्थायी बस्ती गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्‍याइएको छ। सबै गरेर १ सय २० घरमा बिजुली बालिएको छ।

५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्भ राखिएका छन्। स्थानीय मुनबहादुरले भने, 'गाउँमा पोलपोलमा बिजुली बालिएको छ। जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ। छिमेकी गाउँकाले समेत मोबाइल चार्ज गर्न पठाउने गरेका छन्। टीभी र वाईफाई चलाउनसमेत सजिलो भएको छ।'

पाेखरीकाे लागि सपना बनेकाे बिजुली आज सस्ताे हुनुकाे कारण वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३ करोड ३४ लाख ९६ हजार ५ सय १० रुपैयाँको लागत बराबरको लगानी र तिला गाउँपालिकाकाे ३० लाख रुपैयाँकाे साझेदारी हुनु हाे। गत फागुनदेखि सौर्य ऊर्जाकाे तयारी थालिएको थियाे। एक वर्ष नपुग्दै बिजुली बालेपछि स्थानीयकाे मुहारमा खुसीको रंग पाेखिएकाे छ।

धूलो र धूवाँका कारण स्थानीय दमलगायतको श्वासप्रश्वास रोगले ग्रसित हुने गरेकाे ठाउँमा बिजुली बल्दा खुसीको सिमा नाघेकाे स्थानीय अर्जुन रोकायाले बताए। उनले भने, 'अब धूलो र धूवाँबाट मुक्ति मिल्यो। गाउँको मुहार बदलियो। योभन्दा गर्व गर्न लायक कुरा अरू छैन।'

दियालोको भरमा अध्ययन गर्ने विद्यार्थी सबैभन्दा खुसी छन्। विद्यालयमा पढाउने शिक्षकहरु अहिले विद्युतीय उपकरण खरिद गरेर विद्यालयलाई डिजिटल बनाउने प्रयत्न गरिरहेका छन्।

'नागरिकको स्वास्थ्यमा निकै सुधार हुने आशा पलाएको छ। बिजुलीले जंगलको संरक्षण हुने देखिन्छ। अब दियालो निकाल्न रूख नै ढाल्नुपर्ने छैन। व्यक्तिगत लगानीमा बिजुली बालेकाहरु र गरीबहरुले समान उज्यालो पाइराखेका छन्,' अर्जुनले थपे।

पोखरी गाउँमा सौर्य ऊर्जाको लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले पहल गरेका थिए। कतैबाट पनि बिजुलीको सम्भावना नदेखेका भण्डारीले सौर्य ऊर्जाको विकल्प अघि सारेकाे बताए।

'पहिले हावा र सार्य ऊर्जाबाट विद्युत् निकाल्ने भनिएको थियो। तर हावाबाट बिजुली निकाल्दा दिगो नहुने देखियाे,' पूर्वमन्त्री भण्डारीले भने, 'पछि सोलार सिस्टम मात्र जडान गर्ने गरी डीपीआर बन्यो। त्यहीबमोजिम वैकल्पिक ऊर्जाले बिजुली बालिदियो।'

उनले जुम्लाको हरेक बस्ती उज्यालो बनाउने पहल भइरहेको बताए। उनले थपे, 'भर्खरै ऊर्जा सचिवसँग भेट गरेर जुम्लाको ऊर्जा संकट समाधानका विषयमा छलफल भएको छ। वैशाखसम्म जुम्लालाई लोडसेडिङमुक्त गर्ने गरी पहल भइरहेको छ। जुम्लाको पातारासी गाउँपालिकामा चुकेनी जलविद्युत् निकालेर सबै घरमा बिजुली पुर्‍याइनेछ। स्रोत नभएका र विजुली नपुगेका हरेक बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिनेछ।'

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर अमनुलहक अन्सारीले सौर्य ऊर्जाका माध्यमबाट बिजुली उत्पादनको काम सकिएको बताए। उनले भने, 'दुर्गम क्षेत्रमा गरिएको यो कामले निकै ठुलो राहत दिनेछ। अन्धकारमा जीवन गुजारिरहेका स्थानीयको मुहारमा उज्यालोको अनुभूति देखेको पाउँदा निकै हर्षित छौं।'

प्रकाशित मिति: : 2022-12-07 17:54:00

प्रतिकृया दिनुहोस्