सञ्चार सेवामा जुम्ला सधैँ पछाडि

संसार दिनदिनै प्राविधिक विकासकाे स्वाद लिइरहेको छ। पछिल्लो एक दशक यता सूचना प्रविधिमा व्यापक सुधार भएकाे पाइन्छ।

झण्डै तीन सय वर्ष अगाडि विकास भएकाे टेलिफोन सेवामा व्यापक सुधार भई विश्वले भरपुर लाभ लिँदा पनि कर्णालीका नागरिकले यसकाे सामान्य उपयाेग समेत गर्न पाएका छैनन्।

सदरमुकाम आसपासका नागरिकसमेत सञ्चार सुविधाबाट बञ्चित भइरहेकाे अवस्थामा विकट बस्तीहरुले यसको भरपुर लाभ लिन पाउनु आकाशकाे फल जस्तै भएकाे छ।

संसारमा अत्यन्तै द्रुत गतिकाे सञ्चार सेवा फाइजी चलिरहेकाे याे समयमा कर्णालीका नागरिकले भने हरेक दिन नेटवर्कमा समस्या खेप्नु परिरहेकाे छ।

पछिल्लो समय जुम्लाबाट निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले सञ्चारलाई पहिलाे प्राथमिकता बनाएका थिए। जितेर गएका प्रतिनिधिहरु समस्या समाधानका निम्ति काेशिस पनि गरिरहेका छन्।

तर, जनप्रतिनिधिकाे जति टेलिकमलाई जति धेरै दबाब छ, उति धेरै नेटवर्कमा खराबी देखिइरहेकाे छ। दुरदराजमा फाेरजी टावरहरु निर्माण गर्ने कार्य भइरहेकाे भएपनि मोबाइलबाट कुरा गर्न डाँडा चढ्नुपर्ने बध्यता नहटेकाे तातोपानी गाउँपालिका-४ का अध्यक्ष अम्मर बहादुर रोकायाले बताए।

'लाग्नाको टावरमा सोलार व्याकप छैन। विद्युत् पुर्‍याउन नेपाल टेलिकमले चासो दिएको छैन,' उनले भने, 'तातोपानीभित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा र ऐरेनीमा नेटवर्क नामकाे कुनै जि चल्दैन।'

चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायाबाडा, श्रीढुस्का, बारकोटे बाडा, खल्लागाउँ, सिलाम, माझगाउँलगायतका बस्तीमा विहान १२ बजे अघि र बेलुका पाँच बजेपछि नेटवर्ककाे समस्या छ।

चन्दननाथ नगरपालिका-९ का हस्त नेपालीका अनुसार वर्तमान समयमा मान्छेकाे दैनिकीसँग जाेडिएकाे सञ्चार सुविधा बाँकी संसारमा झन् राम्राे हुँदै गएकाे छ। तर जुम्लामा हरेक दिन जसाे नराम्रो हुँदै गइरहेकाे छ।

'पछिल्लो समय गाउँमा बाटाे पुगेकाे छ। बिरामीहरु अस्पताल लिन पर्‍यो भने सवारी साधन प्रयाेग गर्छाैं,' उनले भने, 'हरेक दिनसजाे आउने नेटवर्ककाे समस्याका कारण फाेन नहुँदा एम्बुलेन्ससमेत बाेलाउन कठिन भइरहेकाे छ।'

लाग्नाको टावरमा विद्युत पुर्‍याउनका लागि जिल्ला प्रशासन मार्फत नेपाल टेलिकमको ध्यानाकर्षण गराइएको चन्दननाथ-९ का भिमबहादुर रावतले बताए।

गिडिखोलाको जालपादेवी विद्युत गृहबाट झण्डै दुई किलो मिटरको दुरिमा लाइन विस्तार गर्न प्रशासन कार्यलयमार्फत अनुरोध गरिएको वडाअध्यक्ष राेकायाले बताए।

'विद्युत नपुगि चौबिसै घण्टा टावर सुचारु गर्न सम्भव छैन। दूरी धेरै छैन,' उनले भने, '२२ सय मिटरको दुरीमा २७ लाख लागतले लाइन विस्तार गर्न सकिने प्राविधिक इष्टेटमेन्ट छ। तर टेलिकम काम गर्न तयार भएकाे देखिँदैन।'

उनका अनुसार पुन: नेपाल टेलिकमले वास्ता नगरे जुम्लास्थित कार्यालयमा तालाबन्दी गर्ने र आन्दोलनमा उत्रन बाध्य हुने स्थिति आउन सक्छ।

लाग्नाको टावरमा विद्युत पुर्‍याउनका लागि जिल्ला प्रशासनमार्फत नेपाल टेलिकम दुर सञ्चार कार्यालयको ध्यानार्कषण् गराइएको चन्दननाथ-९ का भिमबहादुर रावतले बताए।

नेपाल दुरसञ्चार प्राधिकरणकाे तथ्यांक हेर्दा जुम्लाका आठै स्थानीय तहका सबै गाउँबस्तीमा टेलिकमकाे सेवा पुगेको देखिन्छ। तर प्रभावकारी सेवा विस्तार नुहँदा सेवाग्राहीले सास्ती खेपिरहेको स्थानीयकाे गुनासाे छ।

सबै प्रयास असफल भएपछि प्रशासनको साहरा खोज्दासमेत सञ्चार समस्या समाधान हुन नसकेकाे जालपादेवी हाइड्रोपावरका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बताए।

उनले भने, 'हामीलाई स्तरीय सञ्चार सेवा चाहिएकाे हाे। यसका लागि न प्रशासन चनाखाे छ, न त टेलिकम नै सचेत छ।'

नागरिककाे टेलिफोन सेवा प्रयोग गर्न पाउने हकलाई ध्यानमा राखी समस्या समाधानका लागि केन्द्रिय कार्यालयमा पनि समन्वय गरिरहेकाे प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए।

'जुम्लामा टेलिफोन र इन्टरनेटको समस्या हुँदा कामकाज प्रभावित हुने गरेका छन्,' उनले भने, 'यसबाट हामी पनि प्रभावित भएका छाैं।'

प्रकाशित मिति: : 2022-12-28 16:03:00

प्रतिकृया दिनुहोस्