प्रदेश-१ को कांग्रेस संसदीय दलमा तीन नेता भिड्दै, कसको पक्षमा कति सांसद ?

प्रदेश १ मा नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि तीन नेता चुनावी मैदानमा छन्। दलको नेताका लागि प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन्। बिहीबार मनोनयन दर्ता गराएका उनीहरुबीच शुक्रबार (भोलि) मतदान हुँदै छ।

प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित दुई र समानुपातिकका एक सांसदले संसदीय दलको नेता बन्न उम्मेदवारी दिएका छन्। कांग्रेसको संस्थापन पक्षधर दुई (एक देउवा र एक सिटौला पक्ष) र कोइराला पक्षका एक सांसद चुनावी मैदानमा उत्रिएका हुन्।

प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ सांसद छन्। कांग्रेसको विधानअनुसार दलको नेता छानिन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। अर्थात् दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ।

दलको नेता बन्ने लाइनमा रहेका तीन जनामध्ये अर्याल र थापा पहिलो पटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् भने कार्कीको यो दोस्रो कार्यकाल हो। अघिल्लो कार्यकालमा दलको प्रमुख सचेकहुँदै कार्की हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।

यसअघि दलको नेतामा दावी गर्दै आएका भीम पराजुलीले भने अन्तिम समयमा उद्धव थापालाई समर्थन गरेका हुन्। कांग्रेसका केन्द्रीय सदस्य पराजुली सिटौला समूहका नेता हुन्।

देउवा, सिटौला र कोइराला पक्षबाट एक/एक जनाको उम्मेदवारी परेसँगै संसदीय दलको चुनाव रोकच हुने देखिएको छ। प्रदेशसभाका २९ सांसदमध्ये आफ्नो पक्षमा १२ सांसद रहेको देउवा पक्षको दावी छ। कांग्रेस स्रोतका अनुसार  सिटौला पक्षमा ९ र  कोइरालाका पक्ष ८ जना सांसद रहेको छन्।

पार्टी सभापति शेरबहादुर देउवा समूहमा अमृत अर्यालसहित प्रदीपकुमार सुनुवार, हिमाल कार्की, सुनिताकुमारी गुरुङ, सदानन्द मण्डल, इस्राइल मन्सुरी, खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, र ममता मगर तामाङ रहेका छन्।

यस्तै शेखर समूहमा केदार कार्की, रामकुमार खत्री, शमशेर राई, इन्दिरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल तथा सिटौला समूहमा उद्धव थापा, भीम पराजुली, भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ रहेका छन्।

प्रकाशित मिति: : 2022-12-29 15:56:00

प्रतिकृया दिनुहोस्