जुम्लाका सरकारी कार्यालयमा विनिताकाे छड्के, भेटिएनन् प्रमुखहरू

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सांसद बनेकी विनिता कठायतले जुम्लामा रहेका सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेका छन्।

सांसद भएपछि पहिलो पटक जुम्ला आएकी उनले प्रमुख जिल्ला अधिकारीकाे टाेली लिएर सरकारी कार्यलयमा छड्के अनुगमन गरेकी हुन्।  जुम्लामाका ५६ वटा सरकारी कार्यलयमध्ये ६ वटामा छड्के अनगुमन गरेकी हुन्।

अनुगमनका क्रममा सरकारी कर्मचारीहरुकाे देश र जनताप्रति वफादार नभएकाे टिप्पणी गरेकी छन्।

'सरकारी कार्यालयका हाकिमले जिल्ला छाेड्दा प्रमुख जिल्ला अधिकारीकाे अनुमति लिनुपर्ने हुन्छ भने कर्मचारीले हाकिमकाे,' सांसद कठायतले भनिन्, 'तर यहाँ कसैले कसैकाे अनुमति नलिएकाे देखियाे। याे भनेकाे कर्मचारीमा इमानदारीता नहुनु हाे।'

उनले अनुगमन गर्दा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा गएको वैशाख महिनादेखि पुष महिनाको १५ गतेसम्म जम्मा ७७ दिन मात्रै हाजिर भएको भेटिएकाे छ। १० महिनाको अवधिमा ७७ दिन मात्रै कार्यालयमा हाजिर भएको कुरा अनुगमनमा भेटिएकाे सांसद कठायतको बताइन्।

अनुगमनका गएको टोलीले जनस्वास्थ्य सेवा कार्यालय, संघन शहरी तथा भवन निर्माण आयोजना, कृषि विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र नेपाल टेकिलम शाखाकाे अवस्थाबारे जानकारी लिएकाे थियाे।

संघन शहरी विकास तथा भवन निर्माण कार्यालय प्रमुखले कर्मचारीले गर्ने हाजिरको रजिष्ट्रर दराजमा राखेर आफू जिल्ला बाहिर गएको भेटिएकाे छ।

अनुगमनका क्रममा कृषि विकास कार्यालय जुम्लाका प्रमुखबाहेक अन्य कार्यालयमा प्रमुखविहीन अवस्था रहेको भेटिएको छ। नागरिकसँग प्रत्यक्ष जोडिएका कार्यालयहरुमा प्रमुख नहुनु दुःखद विषय भएको सांसद कठायतले टिप्पणी गरिन्।

'जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाले निमित्त समेत नताेकेर गैरजिम्मेवारी पन देखाउनुभयाे,' उनले भनिन्, 'जनस्वास्थ्य सेवा कार्यालयका प्रशासन तर्फका कर्मचारी हरि भण्डारीले निमित्तको कामकाज गर्दै आइरहेको अनुगमनका क्रममा भेटिएको छ।'

सांसद कठायतले जनस्वास्थ्य सेवा कार्यालयमा सेवा लिन आएका नागरिकलाई कार्यालय प्रमुख नभएको बाहनामा सेवा दिन बन्चित गरिएमा त्यसका लागि फरक कदम चालिने उनले चेतवानी समेत दिइन्।

'कोभिडको नयाँ भेरियन्ट बढ्दो अवस्थामा छ। तर पूर्वतयारी कम छ,' उनले भनिन्, 'जनस्वास्थ्य जस्ताे कार्यालयले लापरबाही गरे जनताले सास्ती भाेग्नुपर्ने हुन्।'

उनले सरकारी कार्यालयमा समस्या देखिए आफूले केन्द्रबाटै पहल गर्ने बताइन्। 'अनुगमनका क्रममा देखिएका कार्यालयहरुको समस्या हल गर्नको लागि टिपोट गरेको हुनाले सम्बन्ति ठाउँमा उठाउनेछु,' उनले भनिन्।

यता प्रमुख जिल्ला अधिकारी मुकेस कुमार केशरीले प्रत्येक सरकारी कार्यालयका कर्मचारीले लामाे बिदामा जाँदा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत अनिवार्य लिनुपर्ने बताए।

'सांसद तथा अन्य निकायले जिल्लाको बारेमा सम्पूर्ण विवरण जिल्ला प्रसाशन कार्यलयबाट माग्ने भएकाले घर बिदा र कार्यालयको कामकाजले जिल्ला बाहिर जाँदा लिखित रुपमा खबर गर्नु भनेकाे छु,' उनले भने, 'सांसदको उपस्थितमा गरिएको अनुगमनका विवरण प्रदेश र संघ दुवै ठाउँमा पठाइनेछ।'

प्रकाशित मिति: : 2023-01-02 16:14:00

प्रतिकृया दिनुहोस्