नयाँ राष्ट्रपति एमालेबाटै हुन्छः  नेता गुरुङ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले नयाँ आउने राष्ट्रपति एमालेबाटै हुने बताएका छन्।

राष्ट्रपतिमा एमाले, कांग्रेसको दाबीसहित कुन दलबाट हुन्छन् भन्ने चर्चाका बीचमा गुरुङको दाबीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

दाङको देउखुरीस्थित लमहीमा प्रेस चौतारी दाङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन दलहरुबीचको सहमति अनुसार नै एमालेबाट राष्ट्रपति बन्ने बताए। एमाले बाहेक अन्य दलबाट राष्ट्रपति आउने भन्ने कुरा हल्ला मात्र रहेको उनको जिकिर छ। 

कांग्रेसले एमाले र माओवादीबीचमा अविश्वास सृजना गर्नका लागि राष्ट्रपति बाहिरबाट आउन सक्ने हल्ला चलाएको गुरूङ्गको भनाई छ। उनले राष्ट्रपतिमा कसलाई पठाउने भन्ने विषयमा पार्टी भित्र टुंगो लागिनसकेको बताए। उनले भने,‘राष्ट्रपति एमालेकै हुन्छ। तर कसलाई पठाउने भन्ने निर्णय छलफलबाट टुंगिन्छ।’

गुरूङ्गले राष्ट्रपतिको गरिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकोसमेत बताए। जसका कारण अहिले राष्ट्रपतिको पदलाई लिएर धेरै चर्चा र गरिमाको कुराहरू भएको उनको भनाई छ। 

गुरुङले संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत नभएको भन्दै कांग्रेसले गर्दा मुलुक गलत दिशातर्फ जान लागेको बताए। ‘संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत होइन’, उनले भने, ‘कांग्रेसको अपरिपक्क राजनीतिले मुलुकलाई गलत दिशातर्फ ढकेल्ने प्रयत्न हुन थाल्यो।’

प्रकाशित मिति: : 2023-01-22 15:03:00

प्रतिकृया दिनुहोस्