काठमाडौंमा फित्कौलीको खित्कौली सभा

महेश नेपाली

काठमाडाैँ

फित्कौली डटकम सञ्चालनको दसौं वर्ष र अनलाइन पत्रिकाको दोस्रो वर्ष प्रवेशका अवसरमा फित्कौली अन्लाइन मिडियाले हास्यव्यङ्ग्यपूर्ण ‘खित्कौली सभा’ आयोजना गरेकाे छ।

उपस्थित मध्येका जेष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलद्वारा रिमोट थिचेर उद्घाटन गरिएको खित्कौली सभाको आरम्भमा यसका सञ्चालक एवम् प्रधान सम्पादक नरनाथ लुइँटेलले फित्कौलीको दस वर्षे यात्रालाई डिजिटल्ली चलचित्रात्मक ढङ्गले प्रस्तुत गरे। 

कार्यक्रममा उपस्थित मध्येका जेष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्राईको हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ? नामक कृति र फित्कौलीका आधिकारिक कार्टुनिस्ट राजेश मानन्धरको कार्टुन सङ्ग्रह भाग १ लोकार्पण गर्दै दुवै हास्यव्यङ्ग्य स्रष्टाहरूलाई बधाई ज्ञापन गरे।

फित्कौलीका सञ्चालक लुइँटेलले फित्कौली अक्षयकोष स्थापनाको घोषणा गरे। उनले भने, 'मैले अहिलेसम्म प्राप्त गरेका पुरस्कारको रकम रु. एक लाख ५० हजार रुपैयाँ अक्षयकोषमा प्रदान गरेकाे छु। पुररस्कारको रकम पुरस्कारमै रहोस् भन्ने मेरो अभिप्राय हाे।'    

कार्यक्रममा हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले उक्त अक्षयकोषमा रु. १ लाख, एल.आर.आइ.स्कुलका तर्फबाट १ लाख, पोखराका हास्यव्यङ्ग्यकार विश्व शाक्यले रु. ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा प्रदान गरे। 

कवि तथा हास्यव्यङ्ग्य निबन्धमा कलम चलाउँदै आएका ठाकुरप्रसाद अधिकारीले २० हजार, डा. मुकेश चालिसेले १ लाख ५० हजार, सिस्नुपानी नेपालले रु २५ हजार प्रदान गरी कोषमा सहभागिता जनाउने भएको छ। अर्का हास्यव्यङ्ग्यकार आर.सी. रिजालले पनि आफूले प्राप्त गरेको पुरस्कारका रकम अक्षयकोषमा प्रदान गर्ने घोषणा गरे।

विमोचित कृतिबारे सङ्क्षिप्त चर्चा गर्दै डा. रमेश शुभेच्छुले व्यङ्ग्य स्रष्टा शेषराज भट्टराईको व्यङ्ग्यकारिता, शिष्ट गम्भीर र विशिष्ट रहेको उल्लेख गरे भने कार्टुन चित्रमा तीन दशक गुजारी सकेका कार्टुन कलाकार राजेश मानन्धरको कार्टुन सङ्ग्रहको प्रकाशन एउटा महत्वपूर्ण प्राप्ति भएकाे बताए।

कार्टुनिस्ट राजेश मानन्धरलाई रामकुमार पाँडेले फित्कौलीको खित्कौली सम्मान प्रदान गर्दै माला तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए। 

प्रमुख अतिथि नभनेर हास्यव्यङ्ग्यका जेठोबूढो भनिएका रामकुमार पाँडेले फित्कौलीको हास्यव्यङ्ग्य अभियान अत्यन्त सार्थक रहेको बताए। उनले भने, 'यो अभियानमा साथ सहयोग प्रदान गर्नु हामी सबैको कर्तव्य हो।' 

फित्कौलीमा मट्याङ्ग्रा हानाहान

वार्षिकोत्सवका रुपमा सम्पन्न कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष हास्यव्यङ्ग्य सिर्जनाहरूको प्रस्तुति रहेको थियो। यस अन्तर्गत पाका पुराना र नयाँ पुस्ताका हास्यव्यङ्ग्य स्रष्टाहरूको सम्मिलन देखिन्थ्यो। 

आर.सी. रिजाल, नरेन्द्रराज पौडल, चट्याङ मास्टर, डम्बर घिमिरे, पिँडालु पण्डित, लक्ष्मण गाम्नागे, थरेन्द्र बराल, हरिकला उप्रेती, कृष्णदेव रिमाल, चक्र दवाडी, रेहित सैजु, जनार्दन धड्कन, अप्सरा सुनार र अनिल पौडेल कीर्तेले आ-आफ्ना हास्यव्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए। 

हास्यव्यङ्ग्यको समग्र गतिविधिलाई सङ्गठित, संस्कारित डिजिटल प्रविधिमैत्री बनाएर अघि बढाउने फित्कौली प्रयत्न अत्यन्त सह्रानीय रहेको सन्दर्भ उल्लेख गर्दै वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले शुभकामना व्यक्त दिए। 

त्यसैगरी सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले फित्कौलीको यो अभियानमा सिस्नुपानी पनिसँगै रहेको उल्लेख गर्दै यसका सञ्चालक सिस्नुपानीका पनि संस्थापक र अहिलेका सल्लाहकार रहेका छन्।  

हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले हास्यव्यङ्ग्यको संवर्धन र अभिवृद्धिका लागि फित्कौलीले अभियानकै रुपमा प्रशंसनीय गतिविधि अघि बढाएकोमा हर्ष व्यक्त गर्दै शुभकामना दिएका थिए।

प्रकाशित मिति: : 2023-01-29 07:32:00

प्रतिकृया दिनुहोस्