८ वर्षीय सिरियल किलर : जसले आफ्नै बहिनीसहित ३ जनाकाे हत्या गरे

BreaknLinks
BreaknLinks

बच्चाहरू एकदमै निर्दाेष खालका हुन्छन्। अनि उनीहरू सफा मनका पनि हुन्छन्। धेरै मानिसहरू बच्चालाई परमेश्वरको अवतार पनि ठान्छन्। उनीहरू खुसी हुँदा आफू पनि खुसी हुन्छन्। दुःखी हुँदा सँगै दुःखी हुन्छन्। तर तिनै बच्चाहरूहरू ‘सैतान’मा परिणत हुँदा के हुन्छ, कहिल्यै साेच्नुभएकाे छ? आठ वर्षीय बालकले तीन जनाकाे हत्या गरेकाे पनि सुन्नुभएकाे छ?

तिनै हत्यामा सामेल हुने बालक हुन्, भारतका अमरजीत सदा। जसले आफ्नी बहिनीसहित तीन जनाकाे हत्या गरे। अमरजीत विश्वकै सबैभन्दा कान्छो सिरियल किलरको रूपमा चिनिन्छन्।

भारतकाे बिहारमा जन्मिएका अमरजीत मानसिक रूपमा अलि असन्तुलित थिए। उनले आठ वर्षकै उमेरभित्र तीन जनाकाे हत्या गरे। कसैले पनि त्याे हत्याकाे सुइँकाेसमेत पाएनन्।

अमरजीतले ती सबैकाे हत्या यति विभत्स तरिकाले गरेका थिए कि कसैको पनि उक्त हत्या उनले गरेकाे हुन सक्ने अनुमानसमेत गरेनन्। तर सन् २००७ मा जब एक बालिकाको हत्या गरेको आरोपमा प्रहरीले अमरजीतलाई हिरासतमा लियो, त्यसपछि उनकाे परिवारकाे हाेश उड्याे।

घटना के थियाे?

सन् २००७ मा बिहारकाे बेगुसरायको मुसहरी गाउँमा एक ६ महिने बालिका सुतिरहेकाे ठाउँबाट नै हराइन्। सुतिरहेकाे अवस्थामा बच्चा हराएपछि ती बालिकाकी आमाले प्रहरीमा रिपाेर्ट गरिन्। प्रहरीले बच्चाकाे उमेर ६ महिना मात्र भएकाले खाेजीकार्य तीव्र रूपमा बढाउँदै लग्याे।

अन्ततः बालिकाकाे शव घर नजिकै गाडिएको अवस्थामा फेला पर्याे। सुरूमा प्रहरीले बालिकाकाे परिवारदेखि साेधपुछ गर्दै गयाे। तर परिवारमा त्यस्ताे कुनै प्रमाण प्राप्त गर्न सकिएन, जसले अनुसन्धानलाई अगाडि बढाउन सकियाेस्। तर ती बालिकाकाे आमाले हत्या अमरजीतले गरेकाे हुनसक्ने शंका गरेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्न थाल्याे।

सुरूमा अनुसन्धान गर्दै जाँदा अमरजीतले अस्वाभाविक व्यवहार देखाएनन्। तर अनुसन्धानकाे दायरा बढाउँदै जाँदा प्रहरीले अमरजीतकाे अस्वाभाविक व्यवहारबारे जानकारी पाए। उनी कहिले हाँसी मात्र रहन्थे त कहिले रिसाएर बस्थे।

अमरजीतकाे यस प्रकारकाे व्यवहार देखेर प्रहरीले अमरजीतलाई साेधपुछ गर्न थाल्याे। सुरूमा त अमरजीतले सबै कुरा भनेनन्। उनलाई बिस्कुट खुवाएमात्र सबै कुरा बताउने बाचा गरे। प्रहरीले उनकाे कुरालाई स्वीकार गर्दै अमरजीतसँग सोधपुछ गर्न थाल्याे। सोधपुछमा अमरजीतले आफूले अहिलेसम्म तीन जना साना बालबालिकाको हत्या गरेको र त्यसमा आफ्नी कान्छी बहिनीको समेत हत्या गरेकाे बताए।

कस्ताे थियाे अमरजीतकाे बाल्यकाल?

अमरजीतको जन्म सन् १९९८ मा भारतको बिहारको एक गरिब परिवारमा भएको थियो। उनका बुबा मजदुरी गर्थे। घरकाे कमजाेर आर्थिक स्थितिका कारण अमरजीत पनि सानैदेखि बुबालाई काममा सघाउँथे। कठिन आर्थिक अवस्थाका कारण अमरजीतकाे परिवारले सामान्य जीवन बिताउन पाएकाे थिएन। अमरजीत सानैदेखि मानसिक रूपमा पनि कमजाेर थिए। उनी कहिले हाँसिराख्थे भने कहिले रिसाइरहन्थे।

अमरजीतका अपराधहरू

अमरजीतले पहिलाे अपराध सन् २००६ मा गरेका थिए। सदाले पहिलाे पटक काकाको छाेरीकाे हत्या गरेका थिए। उक्त समयमा उनकाे व्यवहारमा परिवर्तन देखिए पनि परिवारले खासै चासाे देखाएकाे थिएन। सदा परिवारले 'पारिवारिक मामिला' भन्दै हत्याबारे पुलिसमा रिपाेर्ट गरेन।

सदा परिवारले पहिलाे मृत्युमा पारिवारिक मामिला देखाउँदै पुलिसमा रिपाेर्ट गरेकाे थिएन। तर जब पुन: अर्की ८ महिने बालिकाकाे हत्या भयाे, तब उनीहरूले त्याे हत्याबारे पुलिसमा रिपाेर्ट गरे।

प्रहरीले उक्त हत्याबारे अनुसन्धान गरिरहेकाे थियाे, तर ती हत्या कसले गरेकाे हाे भन्ने कुनै सुराक पाउन सकेकाे थिएन। अनुसन्धान पनि गर्न छाडेकाे थिएन। प्रहरीकाे अनुसन्धान चलिरहेकाे थियाे। साेही क्रममा एक वर्षपछि सुतिरहेकाे ठाउँबाट एक बालिका गायब भइन्। त्यसपछि भने हत्याका थप तथ्यहरू खुल्न थाल्याे।

तीन हत्याकाे स्वीकार

६ महिने बच्चाकाे मृत्यु भएपछि उनकी आमाले हत्या अमरजीतले गरेकाे हुनसक्ने शंका गरेपछि प्रहरीले अमरजीतमाथि अनुसन्धान गर्न थाल्याे। अमरजीतले प्रहरी अनुसन्धानकाे क्रममा आफूले काकाकी छाेरी, आफ्नी बहिनी तथा अर्काे एक जनाकाे हत्या गरेकाे स्वीकार गरे। उनले बच्चाको शव फेला परेकाे ठाउँसमेत देखाए र आफूले घाँटी थिचेर हत्या गरेको स्वीकारे।

यसका साथै अमरजीतले बच्चालाई सुतिरहेको ठाउँबाट टाढा लैजाने र मार्ने तथा गाड्नुअघि इँटाले हिर्काउने गरेकाे बताए। साथै अमरजीतले अनुसन्धानका क्रममा बच्चालाई मार्दा आफूलाई आन्नद हुने समेत उल्लेख गरेका थिए।

सजाय

अमरजीतले आफूले गरेकाे अपराध स्वीकार गरेपछि प्रहरीले उनलाई हिरासतमा लियाे र कारवाहीकाे लागि आवश्यक प्रकृया सुरू गर्न थाल्याे। प्रहरीले अमरजीत नाबालक भएका कारण सजाय दिन सकेन। बालक नभएसम्मकाे लागि सुधारगृहमा राख्न अदालतसमक्ष माग राखियाे।

अदालतले उनलाई मुंगेरको बालगृहमा पठायाे र १८ वर्षपछि मात्र कारवाही गर्ने बतायाे। तर अमरजीत हाल कहाँ छन् र कसरी सजाय काट्दै छन् भन्नेबारे जानकारी भएकाे छैन।

प्रकाशित मिति: : 2023-02-14 21:30:00

प्रतिकृया दिनुहोस्