आज अमेरिकामा 'सुपर बल सन्डे' : तपाई चिफ्स कि इगल्स ?

आज फेब्रुअरी महिनाको दोस्रो आइतबार अर्थात् सुपर बल सन्डे ।अमेरिकी फुटबलको महानतम् चाड सुपर बल हुने दिन ।

हरेक वर्षझै आज पनि अमेरिकीहरू एक महोत्सवका रूपमा सुपर बल सन्डे मनाइरहेका छन् ।

सुपर बल अमेरिकी फुटबल लिगको च्याम्पियन छनौट गर्ने फाइनल प्रतिस्पर्धा हो । यस वर्ष पूर्वी पेन्सेल्भेनियाको फिलाडेल्फिया इगल्स र मध्यपश्चिम मिजौरीको कान्सास सिटी चिफ्सबीच टाइटलका लागि प्रतिस्पर्धा हुँदैछ । 

प्रतिस्पर्धा एरिजोना राज्यको ग्लेन्डलस्थित स्टेटफार्म स्टेडियममा हुदैछ । अमेरिकी पूर्वी समयअनुसार साँंझ ६:३० बजे सुरू हुने यो उत्सवमा हलिवुड सेलिब्रेटीहरूको विशेष प्रस्तुति पनि एक आकर्षणका रूपमा रहेको हुन्छ । विज्ञापन सोकेस यसको अर्को विशेषता हो । 

खेल, संगीत र विज्ञापन सोकेसको प्याकेजको रूपमा प्रस्तुत हुने सुपर बाउल सन्डे आयोजना फुटबल स्टेडियमकै पाराफिटमा बसेर हेर्न भने सहज छैन । एउटा टिकटकै मूल्य तीनहजार तीनसय ३० देखि ११ हजार ६ सय ३० अमेरिकी डलर पर्छ । कार्यक्रम हेर्ने सपना भए पनि त्यो पूरा गर्ने सामर्थ्य भने साह्रै थोरैसँग मात्र हुन्छ । 

त्यसैले धेरै मानिसहरू टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरेर चित्त बुझाउँछन् । सुपर बल अमेरिकामा सबैभन्दा धेरै मानिसले टिभीमा हेरेने कार्यक्रम हो । अहिलेसम्मको अभिलेख हेर्ने हो भने सन् २०१५ मा ११४.४ मिलियन दर्शकले सुपर बल हेरेको पाइन्छ । यसपटक त्यतिले नहेरे पनि दर्शक संख्या यही कीर्तिमानी आँकडाको नजिक हुने अपेक्षा गरिएको छ ।

अमेरिकीहरूबीच एउटा भनाइ छ, जस्ले सुपर बल चिन्दैन, ऊ अमेरिकी नै हैन । हुन पनि अमेरिकीहरूमा यसप्रतिको क्रेज अतिरञ्जनामय नै छ । 

तपाईं अमेरिकामा हुनुहुन्छ, त्यसो भए आउनुहोस् हामी पनि सुपर बल सन्डेको माहौलमा रमाऔं । भनाइ नै छ, रोम गए रोमन जस्तै हुनुपर्छ । अमेरिका बसेपछि डण्डिवियोलाई माया गर्न सकिएला, तर कुरा चाँहि अमेरिकी फुटबलकै गर्नुपर्छ । किनिक, समय र स्थानले सन्दर्भ बनाउँछ । बिना सन्दर्भ बचाइको अर्थ हुदैन । 

अमेरिकामा नेपालीहरूको संख्या पनि दिनानुदिन बढ्दो छ । र, उनीहरू पनि बिस्तारै अमेरिकी हुँदैछन् । अमेरिकी हुनु भनेको अमेरिकी नागरिक भएर अमेरिकी पासपोर्ट राख्ने मात्र हैन, अमेरिकी काइदा कानुनलाई आत्मसात गर्दै अमेरिकी जीवनशैली अपनाउने पनि हो । सुपर बल पनि अमेरिकी जीवनशैलीको एक अभिन्न पक्ष हो । 

नेपालमा खुट्टाले खेल्ने फुटबल अमेरिकामा हातले खेल्ने भनेपछि पहिलो पुस्ताका नेपालीलाई त यसले खासै आकर्षण पनि गर्दैन र यो खेल बुझ्नेतिर उनीहरूको ध्यान पनि जाँदैन । फेरि यो खेलमा जुन किसिमको बडेमाको शरीर र भिड्नसक्ने दुस्साहस चाहिन्छ, त्यो सामान्य नेपालीको काबुभन्दा बाहिरै हुन्छ । त्यसैले यो खेल सामान्यत: नेपालीका लागि हैन । अपवाद हुन सक्ला, त्यसलाई सामान्यीकरण नगरौं ।

दोस्रो पुस्ताका नेपालीहरू भने अमेरिकी फुटबलका बारेमा जानकार हुन त खोजिरहेका छन् । तर, यस्तो संख्या अत्यन्तै न्यून छ । त्यही संख्याका लागि भने आजको दिन अमेरिकामा विशेष छ । उनीहरू आआफ्नो भौगोलिक निकटताका आधारमा कोही कान्सास सिटी चिफ्सतिर ढल्किएका छन्, कोही फिलाडेल्फिया इगल्सतिर ।

कान्सास सिटी चिफ्सले १९७० र २०२० मा गरी दुईपटक सुपर बल जितसकेको छ भने फिलाडेल्फिया इगल्स भने सन् २०१८ को सुपर बल बिजेता हो । यी दुईबीच भने उपाधिका लागि पहिलोपटक भिडन्त हुदैछ ।

यो भीडन्त कस्ले जित्छ भनेर अमेरिकामा विभिन्न किसिमका मत सर्भेक्षण र विशेषज्ञ विश्लेषण सार्वजनिक भएका छन् । ६३.५ प्रतिशत अमेरिकीहरू यसपटक फिलाडेल्फिया इगल्सले जित्ने प्रक्षेपण गरिरहेका छन् । यसले यगल्सका समर्थकलाई राहत दिलाएको छ भने चिफ्सका समर्थकहरूलाई केही चिसो पसेको छ । तर, पनि खेल हो यसै भन्न सकिन्न भन्दै उनीहरू आफ्नो मनोबल उच्च बनाउँदैछन् ।

तपाईं अमेरिकामा हुनुहुन्छ, त्यसो हो भने आउनुहोस् हामी पनि सुपर बल सन्डेको माहौलमा रमाऔं । भनाइ नै छ, रोम गए रोमन जस्तै हुनुपर्छ । अमेरिका बसेपछि डण्डिवियोलाई माया गर्न सकिएला, तर कुरा चाँहि अमेरिकी फुटबलकै गर्नुपर्छ । किनिक, समय र स्थानले सन्दर्भ बनाउँछ । बिना सन्दर्भ बचाइको अर्थ हुदैन । 

कामना गरौं, प्रतिस्पर्धा उत्कृष्ट होस्, राम्रो टिमले जितोस् । हातले खेल्ने फुटबलको नयाँ दर्शक परियो, योभन्दा धेरै बोल्ने बेला भैसकेको छैन ।

 

प्रकाशित मिति: : 2023-02-12 23:25:00

प्रतिकृया दिनुहोस्