‘भ्यालेन्टाइन डे’ र यसको सान्दर्भिकता

आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’। नेपालीमा भन्दा प्रणय दिवस अर्थात प्रेम दिवस। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ। यो दिवस विशेष गरी युवायुवतीहरुले प्रेम साटासाट गरेर मनाउने गर्छन्।

नेपालमा पनि ‘भ्यालेन्टाइन डे’ पछिल्ला केही वर्षदेखि महत्वपूर्ण रूपमा मनाउन थालिएको छ। यो दिनमा आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने र विभिन्न उपहार पनि साटासाट गर्ने चलन छ।

मलाई लाग्दैन प्रेम गर्नलाई त्यस्तो कुनै दिवसको आवश्यक पर्छ। न कुनै मिति नै तोक्नुपर्छ। प्रेम स्वभावत: हुने कुरा हो।

अहिलेको समय परिवर्तित र आधुनिक छ। धेरैको जोडी सामाजिक सञ्जालले जुराइदिएको छ। सामाजिक सञ्जालमा समय व्यतित गर्नेहरू यसैमार्फत आफ्ना प्रेमी-प्रेमिकाहरुसँग रमाइरहेका छन्।

प्रेम दिवसको इतिहास हेर्दा यसलाई एउटा संस्कृति पनि मान्न सकिन्छ। हामीले यसको सकारात्मक सदुपयोग गर्न जान्नुपर्छ। प्रेम दिवसका दिन विशेष गरी युवायुवतीहरुमा एक प्रकारको छुट्टै रौनक र उत्साह छाउने गरेको पाइन्छ। तर, प्रेमका नाममा हुने विभिन्न अनैतिक क्रियाकलापहरुले गर्दा नेपाली समाजले यसलाई अझै स्पष्ट स्वीकार गरी सकेको छैन। आधुनिक युवा पुस्ताले नै यसलाई विकृतिका रुपमा फैलाइरहेका छन्। यसलाई युवा पिंढीले नै सपार्नुपर्छ।

प्रेम गर्नु नराम्रो होइन। मैले नराम्रो भन्न खोजेको पनि होइन। तर आफ्नो प्रेमभाव देखाउन तीन सय ६५ दिनमा ‘भ्यालेन्टाइन डे’ नै पर्खनु पर्दैन। फेब्रुअरी १४ त वर्षको एक दिन हो। हामीले वर्षभरी नै कसरी प्रेममय बनाउने भन्ने सोच्न जरुरी छ।

विदेशी संस्कृतिबाट भित्रिएका यस्ता दिवसहरुले समाजमा विकृति फैलाइरहेका पनि छन्। भ्यालेन्टाइन डे मनाउन कतिले आफ्नो साँचो माया गुमाउनु पनि परेको छ। कतिले आफ्ना सपनाहरू धमिल बनाएका छन्।

जबरजस्ती प्रेम गर्नेहरूको होडले पनि समाजमा विकृति, विसङ्गति फैलाइरहेको छ। साँचो र सच्चा प्रेम गर्नेहरूका लागि सधैँ प्रेम दिवस नै हो। आजकाल मानिसहरु देखावटीपनमा अल्झिएका छन्। कसैलाई देखाउनकै लागि पनि ‘ब्वाइफ्रेन्ड’ र ‘गर्लफ्रेन्ड’ बनाउने होडबाजी नै चलेको छ।

मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कालाई प्रेम गर्नु कदापी नराम्रो होइन। प्रेम मन र भावनासँग जोडिएको विषय हो। प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न अनैतिक कार्य गर्नु चाहिँ नराम्रो कुरा हो। प्रेम गर्न सबैभन्दा पहिला मन मिल्नुपर्छ। एकअर्कामा प्रेम हुनु जरुरी छ।

प्रेम भनेको निस्वार्थ हुनुपर्छ। माया भावनात्मक हुनुपर्छ। स्वार्थ भावका साथ आएको प्रेम प्रस्ताव कसैलाई मान्य हुने छैन। उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले निस्वार्थ गरेको माया दिगो हुन्छ। निस्वार्थ मायामा मिठास हुन्छ। प्रमे भनेको बाँच्ने आधार पनि हो। भनिन्छ नि प्रेम जीवन हो। प्रेमले खुलेर बाँच्न र खुसी हुन सिकाउँछ। मानिसको सम्बन्ध जोगाउने पनि प्रेम हो।

प्रेम देखाउन खोजेर देखिने कुरा होइन। यसलाई केवल अनुभूति गर्न मात्र सकिन्छ। प्रेम गर्नु आफैँमा राम्रो पक्ष हो। प्रेम दिवस एउटा संस्कृति पनि हो। यसलाई विकृतिका रुपमा नफैलाऔँ। सभ्य भएर यस्ता दिवसहरु मनाऔँ। ह्याप्पी भ्यालेन्टाइन डे!

प्रकाशित मिति: : 2023-02-14 11:43:00

प्रतिकृया दिनुहोस्