सरकारले भुक्तानी नदिएको भन्दै मुटु अस्पताल द्वारा डायलाइसिस सेवा बन्द 

सरकारले भुक्तानी नदिएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौलाका बिरामीको डायलाइसिस सेवा बन्द गर्ने भएको छ।

मंगलबार एक सूचना जारी गर्दै अस्पतालले डायलाइसिस सेवा वापत सरकारले दिनुपर्ने रकम गत साउनदेखि बाँकी रहेको र डायलासिसका लागि आवश्यक सामान आयात गर्न कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको बताएको छ।

१५ फागुन गतेदेखि अनिश्चितकालका लागि डायलाइसिस सेवा स्थगित हुने जनाएको छ। बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पा सामुदायिक डायलाइसिस सेन्टर, लमही सामुदायिक डायलाइसिस सेन्टर र वालिङ सामुदायिक डायलाइसिस सेन्टरबाट सेवा उपलब्ध गराउँदै आएको छ। त्यहाँबाट विपन्न नागरिकलाई उपलब्ध गराएको डायलाइसिस सेवा वापतको भुक्तानी नगरेको अस्पतालले दाबी गरेको छ।

जटिल प्रकृतिका आठ रोगका विपन्न बिरामीलाई निःशुल्क औषधि उपचारको भुक्तानी स्वास्थ्य बीमा बोर्ड मार्फत हुने गरेको छ।

प्रकाशित मिति: : 2023-02-16 10:47:00

प्रतिकृया दिनुहोस्