अशक्त नरबहादुर भन्छन्– आफन्तले अस्पतालमा अलपत्र पारे, प्रधानमन्त्रीलाई भेट्ने मन छ (भिडियो)

‘म त धेरै दुःख पाएको मान्छे। यही अस्पतालमा मरिने हो कि बाँचिने हो थाहा छैन। मसँग खर्च छैन (पैसा छैन)। दाजुभाइ छन् तर मलाई हेर्दैनन्।’ हात, खुट्टा सुन्निएर अस्पतालको बेडमा थला परेका नरबहादुर पुरीले आफ्नो बेथा सुनाए।

उमेरले ६५ वर्ष पुगेका नरबहादुर स्पष्ट बोल्न सक्दैनन्। ठुलो स्वरमा समेत उनलाई बोल्न कठिन छ। कान निकै कम सुन्छन्। दाहिने कान पटक्कै सुन्दैनन्। देब्रे कानमा नजिकै भन्यो भने अलिअलि मात्र बुझ्छन्। तर, नरबहादुरले माइक देखेपछि आफूभित्रको दुःख सुनाउने एकोहोरो चेष्टा गरे र भने, ‘१५ दिन पूरा भयो। खाने खर्च पनि छैन। औषधि किन्ने पैसा पनि छैन। गाडी भाडा पनि छैन। दाजुभाइ छन्। पाँच पैसा दिँदैनन्। म दुःख पाएको मान्छे। म यहाँ निको हुन्छु भनेर आएको हुँ। औषधि पनि गरिदिँदैनन्।’

उनको भाव दाजुभाइले अस्पतालमा ल्याएर अलपत्र पारेको प्रष्ट बुझिन्थ्यो। औषधि उपचार गर्न भाइकी छोरीले अस्पतालमा ल्याएको बताउने नरबहादुरले त्यसपछि आफूलाई हेरचाह नगरेको दुखेसो पोखे। उनले आफ्नो दुःख प्रधानमन्त्रीलाई सुनाउने आशासमेत व्यक्त गरे। ‘म हिँड्न सक्दैन। अलिअलि हिँड्न सक्ने भएँ भने प्रधानमन्त्री कार्यालयमा गएर केही खर्च दिन्छन् कि भन्ने आशा छ।’

नरबहादुरको घर खोटाङ जिल्लाको साविकको सिम्पानी गाविस वडा नम्बर–८ मा पर्छ। उनको श्रीमतीको मृत्यु भइसकेको छ। उनका १८ वर्षीय छोरा र १५ वर्षीया छोरी पढ्नका लागि एक अमेरिकन संस्थाको सहारामा विराटनगरमा बस्छन्। घरमा पढाउन नसक्ने भएपछि छोरा–छोरीलाई संस्थाको जिम्मा लगाएको नरबहादुर बताउँछन्।

२०७२ सालमा आएको भुकम्पले उनको घर भत्काइदियो। सोही सालमा आएको बाढीले खेती पनि बगाइदियो। त्यसपछि आफूहरु घरबारविहीन भएको र गाउँ छाडेको नरबहादुरको भनाइ छ। श्रीमतीको मृत्यु र छोरोछोरी साना भएपछि अहिले आफूलाई आफन्तले नहेरेको उनकाे दुखेसाे छ।

गत फागनु ११ गते भाइबुहारीले अस्पतालमा ल्याएर छाडेको र आफ्नो उपचार नगरेको उनले खुख पाेखे। नरबहादुरलाई अस्पतालमा ल्याएर आफन्तले नहेरेपछि वीर अस्पतालले अहिले हिमालय वृद्धाश्रमको जिम्मा लगाएको छ। आफन्तले हेरचाह नगरेको र आफूहरुले सक्दो सहयोग गरेर अहिले हिमालय वृद्धाश्रमलाई जिम्मा लगाएको अस्पतालका कर्मचारी दुर्गाप्रसाद अर्यालले बताए।

हिमालय वृद्धाश्रमकी प्रमुख सरला पन्थीले अस्पतालमा अलपत्र परेपछि उद्धार गरिएको बताइन्। उनले भनिन्, ‘बुवाको कोही नभएको र भएकाले पनि हेरचाह नगरेकाे हामीलाई अस्पतालबाट जानकारी भयो। बुवा अलपत्र परेको खबरपछि हामीले उहाँको उद्धार गरेका छौँ।’

हिमालय वृद्धाश्रमले अस्पतालमा १५ दिनदेखि अलपत्र परेका नरबहादुरलाई मंगलबार वृद्धाश्रमकी प्रमुख पन्थीसँगै संस्थापक उपाध्यक्ष विन्दा पौडेल, कोषाध्यक्ष शोभा सापकोटालगायतको टाेलीले उद्धार गरेको हो। उनलाई हाल आश्रममा राखिने र कोही आफन्त आएपछि जिम्मा लगाइने पन्थीले बताइन्।

 तस्बिर/भिडियो : मदन नेपाली 

प्रकाशित मिति: : 2023-03-17 15:50:00

प्रतिकृया दिनुहोस्